–बसन्त अनुभव-
घोराही, २०७६ माघ २१ गते
रोग प्रकोपका कारण धेरै मात्रामा भेडा मरेर पीडित हुन पुगेका रुकुम पुर्व भुमे गाउँपालिका वडा नं. १ लुकुमका भेडापालक कृषकहरुले राहत सामग्री प्राप्त गरेका छन ।
पुसको अन्तिमसाता घुम्ती चरनको सिलसिलामा दाङ जिल्लाका घोराही उप-महानगरपालिका वडा नं. १९ को पाँचपोखरीमा आएका कृषकहरुको बहुसंख्यक भेडाहरु मर्दा ज्यादै दुखित र पीडित हुन पुगेका थिए । निज कृषकहरूलाई केही मात्रामा भएपनि राहत पुगोस भनेर खाद्यान्न र त्रिपाल सहयोग गरिएको छ ।
ती भेडापालक कृषकहरुका हालसम्म करिब २०० भेडाहरु मरिसकेका छन । भेटेरिनरी अस्पताल तथा पशु स्वास्थ्य सेवा विज्ञ केन्द्र, घोराही र घोराही उ.म.न.पा.पशु सेवा शाखाको सकृयतामा हाल रोग प्रकोप नियन्त्रणमा आउदा मर्ने क्रम रोकिएको छ ।
घोराही दाङका समाजसेवी युवा नरेन्द्र पुनको नेतृत्वमा गएको टोलीले घोराही १९ पाँचपोखरीमा बस्दै आएका चार जना भेडा पालक किसानहरु रामकृष्ण पुन, पिलम पुन, प्रेमकुमारी पुन र प्रेम बुढालाई नगद सहित खाद्यसामग्री सहयोग गरेको हो ।
चामल, दाल, नुन, तेल, बेसार, मसला, साबुन, बाल्टिन, जग, बाँटा, बिस्कुट, चिउरा, चिनी लगायतका सामाग्रिहरु सहयोग गर्नेमा गोल्ड स्टार आधिकारीक सो रुम घोराहीका आदित्य भट्टराई, शिक्षक मुकेश डि.सी., व्यवसायी भ्यू कुमार पुन, हनि मेडिको डिस्ट्रीब्युटर्सका दिपेन्द्र न्यौपाने, न्यू संगम टेन्ट हाउसका सकिल अहमद, डाक्टर बसन्त पुन, पत्रकार छवि पुरी र प्रेम राम्जाले गर्नुभएको थियो ।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाले २ थान त्रिपाल सहयोग गरेको थियो भने अमेरिकामा बस्दै आउनुभएका लक्ष्मण गुरुङले भेडा पालक किसानहरुलाई नगद पाँच हजार रुपैयाँ सहयोग उपलब्ध गराउनु भएको थियो।
साथै उक्त टोलिका साथमा गएका डा.वसन्त पुनले पीडित कृषकहरुको स्वास्थ्य जाँच तथा परामर्श गर्नुभएको थियो ।