माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलको पहिलो बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा संयोजक झलनाथ खनाल र सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीको उपस्थिति थियो ।
एमसएसीबारे अध्ययन गरेर मात्रै यसलाई संसदले पारित गर्नु पर्ने नेकपाको केन्द्रीय समिति बैठकमा मत प्रकट भएपछि झलनाथ खनालको नेतृत्वमा आइतबार तीन सदस्यीय अध्ययन कार्यदल बनेको हो
कार्यदलको घोषणा भएको भोलिपल्टै सोमबार पहिलो बैठक बसेको स्रोतले बतायो ।
बैठकले एमसीसी सम्झौतासम्बन्धी के-कस्ता सन्दर्भ सामाग्रीहरु अध्ययन गर्ने भन्नेबारेमा छलफल गरेको छ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तरगत नेपालले विद्युत र सडकमा ५५ अर्ब रुपैयाँ बराबरको सहयोग प्राप्त गर्ने गरी भएको सम्झौतालाई लिएर नेकपाभित्र विवाद छ । यही विवादका कारण मन्त्रिपरिषदले पारित गरिसकेको एमसीसी कम्प्याक्ट संसदमा पेश हुन सकेको छैन ।
अब खनाल नेतृत्वको समितिले १० दिनभित्र यससम्बन्धी पार्टीलाई प्रतिवेदन बुझाउने र त्यसपछि बल्ल प्रक्रिया अघि बढ्ने नेताहरुले बताएका छन् ।
एमसीसीको अध्ययन गर्ने तीन सदस्यीय समितिमा दुईजना एमसीसीका आलोचक र एकजना मात्र पक्षधर रहेकाले समितिले कस्तो निष्कर्ष प्रस्तुत गर्ला भन्ने विषयमा अहिले नै बताउन सकिने स्थिति छैन ।
कार्यदलका संयोजक खनाल र सदस्य रावलले यसअघि एमसीसीको आलोचना गर्दै आइरहेका छन् । तर, परराष्ट्रमन्त्री ज्ञवाली यो पारित हुनुपर्छ भन्ने पक्षमा छन् ।
एमसीसीका बारेमा अब के होला भन्ने अनलाइनखबरको प्रश्नमा नेकपा महासचिव विष्णु पौडेल भन्छन्, ‘यस सम्बन्धमा अहिले हाम्रो पार्टीले औपचारिकरुपमा कार्यदल बनाएर अध्ययनका लागि जिम्मा दिएको र १० दिनको समयावधि तोकेको हुनाले अहिले मैले आफ्नो निजी धारणा व्यक्त गर्नु सुल्टो हुँदैन । तर, अब के हुन्छ भन्ने कुराको अनुमानचाहिँ तपाईंहरुलाई पनि छ र हामीलाई पनि छ । अनलाााइनखबर बाट