घोराहीमा उपप्रमुख मातृशिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम लागु

  • १५ फाल्गुन २०७६, बिहीबार २०:५८ मा प्रकाशित
  • घोराही, १४ फागुन / घोराही उपमहानगरपालिकाले मातृशिशु पोषणका लागि उपप्रमुख आमा तथा शिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम सुरु गरेको छ । चालु आर्थिक बर्षको बार्षिक कार्यक्रम मार्फत उपमहानगरको स्वास्थ्य शाखाले मातृशिशु पोषणका लागि उपप्रमुख आमा तथा नबशिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम सुरु गरेको हो ।

    उपमहानगरले आज उपमहानगरको वडा नम्बर ४ स्थित स्वास्थ्य चौकी लक्ष्मीपुरबाट मातृशिशु स्वास्थ्य पोषणका लागि एक हजार रुपैयाँ सहित खुत्रुके वितरण कार्यक्रम सुरु गरेको छ ।

    गर्भ अबस्था देखी सुत्केरी अबस्था सम्म ४ पटक सरकारी स्वास्थ्य संस्थामा गर्भजाँच गराएको र सरकारी स्वास्थ्य संस्थामै सुत्केरी भएका आमाहरुलाई उपमहानगरले एक हजार रुपैयाँ उक्त खुत्रुकेमा हालेर बितरण गरेको हो ।

    वडा अध्यक्ष भीमबहादुर सार्कीको अध्यक्षतामा कार्यक्रम गरि नगरका उपप्रमुख सीता सिग्देल न्यौपानेले पहिलो चरणमा ८ जना सुत्केरीहरुलाई जनही एक हजार रुपैयाँ उक्त खुत्रुकेमा हालेर वितरण गर्नुभयो । केन्द्र सरकारले दिदै आएको १८ सय रुपैयाँ र उपमहानगरले दिएको एक हजार गरी २८ सय रुपैयाँ उक्त खुत्रुकेमा आमाहरुले जम्मा गरेका छन् ।

    उक्त रकमलाई आमा र शिशुको पोषणमा खर्च गर्ने छन् । खुत्रुके बितरण गर्दै उपप्रमुख न्यौपानेले आमा र बच्चाको स्वास्थ्य सुधार सँगै पोषिलो खाने बस्तु तयार पारेर खानका लागि उपमहानगरले यो कार्यक्रम लागु गरेको जानकारी दिनुभयो ।

    खुत्रुकेमा सरकारले दिएको रकम र आमाले समेत रकम जम्मा गरेर बच्चालाई स्वस्थ बनाउदै कुपोषणबाट जोगाउने सन्देश दिन यो कार्यक्रम लागु भएको उहाँको भनाई छ । पोषण सँगै रकम बचत गर्ने बानीको समेत विकास गर्ने गरि यो बर्ष देखी कार्यक्रम लागु भएको जानकारी दिनुभयो ।

    कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, स्वास्थ्य चौकीका इन्चार्ज नारायणप्रसाद शर्मा, स्वास्थ्य चौकीका स्वास्थ्य सहायक रमेश बुढाथोकीले आमा र बच्चाको स्वास्थ्य सुधारमा परिबर्तन ल्याउदै बचतको बानी बसाल्न सरकारले लगानी गरेको बताउनुभयो । यसैविच सोही कार्यक्रममा सुआहाराले २ जना सुत्केरी र ३ जना गर्भवतीलाई पोषणका लागि अण्डा र हात धुन साबुन वितरण गरेको छ ।
    सोसल मिडियामा शेयर

    Leave a Reply