कैलालीमा प्रहरी र प्रदर्शनकारीबीच झडप : १० घाइते

  • १९ माघ २०७६, आईतवार १९:४२ मा प्रकाशित
  • टीकापुर : कैलालीको लम्कीचुहा नगरपालिका-४ बलियामा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ ।सडक दुर्घटनामा परी शनिबार ज्यान गुएका लम्कीचुहा नगरपालिका- ६ लुहारपुरका मायाराम चौधरीको ज्यान गएको थियो । मृतक चौधरीले चलाएको से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। पीडितले न्याय पाउनु पर्ने माग गर्दै प्रदर्शनकारीले दिनभर पूर्वपश्चिम राजमार्ग अवरुद्ध  गरेका थिए । 

    शुक्रबार रातिदेखि नै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका मृतकका समर्थक र प्रहरीबीच राजमार्ग खुलाउने विषयमा विवाद हुँदा झडप भएको हो । 
        
    प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा र इँटाका टुक्रा प्रहार गर्दा १० भन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् भने प्रदर्शनकारी समेत घाइते छन् । भीड नियन्त्रण लिन प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेको थियो। 
     प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग आइतबार दिनभर ठप्प रहेको छ । राजमार्ग ठप्प हुँदा सयौं सवारी साधन र यात्रीहरु अलपत्र परेका छन् । घटनाबारे ईलाका प्रहरी कार्यालयमा पीडितपक्षसँग छलफल भइरहेको छ । प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट आफूलाईसमेत सामान्य चोट लागेको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । 

    मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका चौधरी पक्षधरले ठक्कर दिने सवारी दोषी तत्काल पत्ता लगाइ कारबाही गर्न र उचित क्षतिपूर्तिको माग गरिरहेका छन् । 

    मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ । पीडित पक्षले भने दोषीलाई कारबाही नगरेसम्म शव नबुझ्ने अडान लिएका छन् ।   प्रहरीले ठक्कर दिएको हुनसक्ने आशंकामा से १ च १७०० नम्बरको एम्बुलेन्स र चालक कालुसिंह भुललाई नियन्त्रणमा लिएर अनुसन्‍धान सुरु गरेकाे छ ।साभार अन्नपूर्णपोष्टबाट

    Leave a Reply