सर्लाहीका कुमार पौडेलकी आमा दुर्गादेवीले दिएको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयले अस्वीकार गरेको छ ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गोपाल भट्टराई सहित १० जना विरुद्ध किटानी दिएकी थिइन् । तर, प्रहरीले परिवारको तर्फबाट आएको जाहेरी दर्ता नभएको बताएको छ ।
सर्लाहीका एसपी विश्वमणि पोखरेलले यो घटना भवितव्यमा अगाडि बढिसकेकाले अर्को जाहेरी लिन नमिल्ने बताए । “जाहेरी लिएर आउनु भएको थियो, दर्ता गर्न नमिल्ने भएपछि फिर्ता जानुभयो”, एसपी पोखरेलले हिमाल खबरसँग भने ।
जाहेरीमा प्रदेश नम्बर दुईका प्रहरी प्रमुख हरिबहादुर पाल, बागमती नगरपालिकाका मेयर भरतबहादुर थापा लगायतलाई समेत विपक्षी बनाइएको छ ।
गएको ५ असारमा कुमार पौडेलको मृत्यु भएको थियो । नेत्रविक्रम चन्दका कार्यकर्ता पौडेलको मृत्युलाई प्रहरीले मुठभेडका क्रममा भएको बताएको थियो ।
दोहोरो गोली हानाहानमा मारिएको भनिएका कुमार पौडेलबारे राष्ट्रिय मानवअधिकार आयोगले स्थलगत अनुसन्धान गरेको थियो । आयोगले भने पौडेलको हत्या भएको निष्कर्ष निकालेको छ ।हिमालखबर.कमबाट