हापुर बिजौरीमा गाउँघर/शहरी आयुर्वेद स्वास्थ्य क्लिनिक तथा नसर्ने रोग ब्यवस्थापन कार्यक्रम

  • ४ माघ २०७६, शनिबार २२:०९ मा प्रकाशित
  • बसन्त अनुभव-
    हापुर,बिजौरी, ४ माघ / दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १२ , हापुर विजौरी दाङमा गाउँघर/शहरी आयुर्वेद स्वास्थ्य क्लिनिक तथा नसर्ने रोग ब्यवस्थापन कार्यक्रम शुरु गरिएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरी दाङको आयोजनामा भएको उक्त कार्यक्रमको उद्घाटन घोराही उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष राजेन्द्र बुढाले आज गर्नुभएको हो । आयोजकका अनुसार उक्त कार्यक्रम हरेक महिनाको पहिलो र तेस्रो शनिबार सोही स्थानमा सन्चालन गरिनेछ ।

    उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुदै वडाध्यक्ष बुढाले गाउँघरमा बिरामी पर्दा गाउँघर वरपर पाइने जडिबुटी प्रयोग गर्ने प्रचलन रहि आएको छ तर ती जडिबुटी हामीले जथाभावी प्रयोग गरिराखेका छौ । कुन जडिबुटी कति मात्रामा प्रयोग गर्ने भन्ने बारेमा हामी अनभिज्ञ छौ । प्रादेशिक आयुर्वेद चिकित्सालयले हाम्रो वडामा क्लिनिक संचालन गरेकाले अवश्य पनि जडिबुटीको यथोचित प्रयोग बारे जानकारी मिल्नेछ । वडावासीहरुले क्लिनिकबाट स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित हुनु हुनेछ भन्नुभयो । साथै उहाँले यहाँसम्म आएर सेवा प्रदान गरिदिनु भएकोमा प्रादेशिक आयुर्वेद चिकित्सालयका प्रमुख लगायत सम्पुर्ण टिमप्रति धेरै धेरै धन्यवाद व्यक्त गर्नु भयो ।

    कार्यक्रममा मन्तव्य दिनु हुँदै प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका आयुर्वेद चिकित्सक डा.गोकर्ण दाहालले आज विश्व सरुवा रोगले भन्दा पनि नसर्ने रोगले आक्रान्त भएको छ । नसर्ने प्रकारका रोगहरुले मानिसहरुको ज्यान लिइरहेको छ । नसर्ने रोगको उपचारका लागि आयुर्वेद अत्यन्त प्रभावकारी भएको जिकिर गर्नुभयो ।

    कार्यक्रममा प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीका नि.निर्देशक डा.रामकामेश्वर ठाकुरले धेरै मात्रामा खाए भातले पनि असर गर्ने भएकोले ठिक मात्रामा सेवन गरे आयुर्वेद औषधिको कुनै साइड इफेक्ट नभएको जानकारी दिनुभयो ।
    कार्यक्रममा वडासदस्य सुख्खा चौधरी, हापुर स्वास्थ्य चौकीका प्रमुख तुल्सिराम गिरी, कानुन व्यवसायी एवं समाजसेवी लोक बहादुर थापा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

    प्रादेशिक आयुर्वेद चिकित्सालयका नि.निर्देशक रामकामेश्वर ठाकुरको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष राजेन्द्र बुढाको प्रमुख आथित्यमा भएको कार्यक्रममा वडाध्यक्ष राजेन्द्र बुढा, चिकित्सालय प्रमुख डा.रामकामेश्वर ठाकुरका अलावा आयुर्वेद चिकित्सक डा. गोकर्ण दाहाल, वडासदस्यद्वय सुख्खा चौधरी र पुष्प वि.क., हापुर स्वा.चौ.प्रमुख तुल्सिराम गिरी, समाजसेवी लोक बहादुर थापा, शिक्षक प्रतिनिधि जित बहादुर वि.क., समाजसेवी टीका बि.क. अस्थायी प्रहरी पोष्ट हापुरका प्रतिनिधि लगायत स्थानिय बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।
    उद्घाटन कार्यक्रमको संचालन प्रादेशिक आयुर्वेद चिकित्सालयका कविराज निरीक्षक वसन्त बहादुर के.सी.ले गर्नुभएको थियो ।

    क्लिनिकबाट ४ दर्जन बढी बिरामीहरुको उपचार

    घोराही उपमहानगरपालिका वडा नं. १२ विजौरी दाङमा संचालन गरिएको गाउँघर/शहरी आयुर्वेद स्वास्थ्य क्लिनिक तथा नसर्ने रोग ब्यवस्थापन कार्यक्रममा आज करिब ४ दर्जन बढी विरामीहरुले आफ्नो स्वास्थ्य जाँच गराई स्वास्थ्यलाभ लिनुभएको छ । उक्त कार्यक्रममा अम्लपित्त, स्वास,कास, वातव्याधी, प्रमेह लगायतका विरामीहरुले स्वास्थ्य उपचार लिनु भएको थियो ।

    क्लिनिकमा नि:शुल्क स्वास्थ्यजाँच, नि:शुल्क सुगरको रक्तपरिक्षणका साथै नि:शुल्क औषधि वितरण पनि गरिएको थियो । उक्त क्लिनिकमा डा.रामकामेश्वर ठाकुर, डा.गोकर्ण दाहाल र कविराज निरीक्षक वसन्त बहादुर के.सी.ले विरामीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

    Leave a Reply