सामाजिक सञ्जालमा ख्याति कमाएकाहरूलाई ‘मोटो रकमसहित यौन प्रस्ताव’

  • ८ माघ २०७६, बुधबार १९:३८ मा प्रकाशित
  • इन्टरनेटको सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले पछ्याउने ख्यातिप्राप्त र प्रभावशाली महिला ‘इन्फ्लुएन्सर’हरूलाई दैनिकजसो नचिनेका मानिसले मोटो रकमको प्रलोभन दिँदै यौन सम्पर्कका लागि प्रस्ताव पठाउने गरेको खुलासा बीबीसीको भिक्टोरिया डार्बिशर कार्यक्रममा गरिएको छ। एक प्रसिद्ध इन्फ्लुएन्सरले त सामाजिक सञ्जाल पुरुषहरूलाई नयाँ महिला खोज्ने क्याटलग अर्थात ‘सूचि’ बनिरहेको बताइन्।

    “यो त अब धेरै धनी मानिस सामेल भएर निकै धेरै रकम खर्च गरिने वेश्यावृत्ति जस्तै भएको छ। कसैले मलाई त्यस्तो प्रस्तावसहित सन्देश पठायो होला भनेर सोच्न पनि डर लाग्छ। उनीहरूले इन्स्टाग्रामका हजारौँ सुन्दरी केटीहरूलाई त्यस्तै सन्देश पठाइसकेको हुन सक्छ,” टाइन-लेक्सी क्लार्सन भन्छिन्।

    टाइन-लेक्सी क्लार्सनलाई इन्स्टाग्राममा लाखौँ मानिसले पछ्याइरहेका छन्। उनी भन्छिन् उनलाई २० हजार पाउन्ड (झन्डै ३० लाख नेपाली रुपैयाँ) सहित साँझको खाना र पेय पदार्थको लागि आउन भन्दै कसैले सन्देश पठाउँदा उनी १९ वर्षकी थिइन्।

    लभ आइल्यान्ड भन्ने टेलिभिजन कार्यक्रमको दोस्रो भागमा काम गरिसकेपछि उनलाई एउटा एजेन्सीले दुबईमा पाँच रात बिताउनका लागि ५० हजार पाउन्ड (झन्डै ७५ लाख रुपैयाँ) दिने प्रस्ताव गर्‍यो। त्यसमा के के काम हुनेछ भन्ने विवरण गोप्य राख्नु पर्ने एउटा सर्त पनि थियो।

    टाइन-लेक्सी भन्छिन् उनले त्यो प्रस्ताव अस्वीकार गरिन्। तर उनको चिन्ता छ कि उदाउँदै गरेका ‘इन्फ्लुएन्सर’हरू आफूलाई चाहिने विलासी सामग्री खरिद गर्न र आफ्नो “आवरण तथा भेषभूषा चुस्त दुरुस्त राख्नका लागि” त्यस्ता कारोबारहरूमा फस्न सक्ने जोखिम रहिरहन सक्छ।

    “केही मानिसका लागि त्यो एकदमै धेरै पैसा हो, त्यो जीवन नै बदलिदिन सक्ने परिमाणको पैसा हो।”

    ‘महत्त्वपूर्ण कारोबार’

    रोजी विलियम्स्

    लभ आइल्यान्ड भन्ने टेलिभिजन कार्यक्रमको तेस्रो भागमा काम गरेकी रोजी विलियम्स् भन्छिन् उनलाई दुबईको एक पुरुषले आफ्नी मित्र बनिदिए बापत एक वर्षमा एक लाख पाउन्ड (झन्डै डेढ करोड रुपैयाँ) र सबै कपडा र झोलाहरू किनिदिने प्रस्ताव गरेका थिए।

    उनले आफूलाई दुबई शहरमा रहेको बताउने एक पुरुषबाट आफूलाई प्राप्त एक सन्देश हामीलाई देखाइन्। त्यो सन्देशमा ती पुरुषले “एक महत्त्वपूर्ण कारोबार”बारे कुरा गर्ने उल्लेख गरेका छन्। रोजीका अनुसार त्यस्ता सन्देशहरूमा यस्ता शब्दावाली सामान्य हुन्।

    तर उनी भन्छिन् जत्ति नै पैसाको प्रस्ताव गरिएपनि उनी कुनै प्रलोभनमा पर्ने छैनन्।

    रोजी भन्छिन् सामाजिक सञ्जालमा चर्चित हुनाको एउटा बेफाइदा यही हो: “तपाइँलाई मानिसले जिस्क्याउने वा उडाउने ट्रोलिङ प्रवृत्तिबारे चेतावनी दिइएको हुन्छ। तपाइँलाई जीवन नाटकीय रूपमा बदलिन सक्छ भन्नेबारे चेतावनी दिइएको हुन्छ। तर तपाइँलाई पुरुषहरूले खरिद गर्न पनि सक्छन् भन्ने बारेमा कहिल्यै कसैले सजग गराइएको हुँदैन।”

    उनी भन्छिन् यस्ता विषयमा ‘इन्फ्लुएन्सर’हरूको सञ्जालमा पनि कुरा गर्ने गरिँदैन: “हामीले त्यस्तो कुरा गर्ने परिस्थिति नबनेको हुन सक्छ। सायद हामी यस्ता विषयमा कुरा गर्न निकै लज्जित हुने गरेका छौँ। साभार बिबिसी.कम. नेपालीन्युज.

    Leave a Reply