–वसन्त अनुभव-
चौघेरा,दाङ, २६ पौष / सनातन वैदिक सभ्यता र संस्कृति संरक्षण र निरन्तरताका लागि अभिभावक भेला कार्यक्रमको ३४ औ शृङ्खला आज गोरखनाथ वैदिक गुरुकुल, चौघेरा दाङमा सम्पन्न भएको छ । पृथ्वी जयन्तीको एकदिन पुर्व संचालित उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी एवं गोरक्ष रतननाथ पिठका मठाधिश पिर जि महाराज योगी देवनाथले राष्ट्र निर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदान बारे बताउनु भयो । पृथ्वीनारायण शाह एक यस्तो व्यक्ति हुनुहुन्थ्यो जसले सानातिना राज्यहरुलाई एकीकरण गरि सिङ्गो नेपाल राज्यको निर्माण गर्नुभयो । उहाँका दिव्योपदेशहरु आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेका छन।
साथै योगी देवनाथले हिन्दु धर्मलाई माता र अन्य धर्मलाई सन्तानको संज्ञा दिदै सन्तान कुपुत्र हुनसक्छ तर आमाले सन्तानको कुभलो कहिले चित्याउदिनन भन्नुभयो । साथै उहाँले आजको विज्ञानको जननी वेद भएको र त्यसको सवैले अध्ययन गर्नुपर्ने बताउनुभयो। वेद संस्कृत भाषामा रहेकोले हामी सवैले संस्कृत अनिवार्य रुपमा पढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रमका विशिस्ट अतिथी प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङका इमर्जेन्सी शाखा इन्चार्ज वसन्त के.सी.ले शुभकामना मन्तव्य दिदै आजभोलि थुप्रै संचार माध्यमहरुमा ललाई फकाई गरेर, जबर्जस्ति धर्म परिवर्तन गराइएको समाचार देख्न र सुन्न पाइन्छ, त्यस्ता क्रियाकलाप गरिनु हुदैन भन्नुभयो । साथै आजभोलि हाम्रो समाज भाडिदै गएको, अनुशासनको संकट परेको, ठुलालाई आदर सम्मान र सानालाई माया गर्नुपर्छ भन्ने मान्यताको उपहास भइरहेको बर्तमान सन्दर्भमा गोरखनाथ वैदिक गुरुकुल एक कोशेढुंगा सावित हुने बताउनु भयो । यसले एक अनुशासनयुक्त सभ्य र सु-संस्कृत समाजको निर्माण रोलमोडलको काम गर्नुका साथै सनातन धर्मको रक्षा समेत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अर्का विशिष्ट अतिथी प.प.उ.मा.वि.का शिक्षक पदम बस्नेतले आफू शुरुमा कुनै धर्मको विश्वास नगर्ने नास्तिक भएको तर समयसँगै देवताले नै आफुलाई चुनेकोले आस्तिक बन्न पुगेको भन्नुभयो । उहाँले तन्त्र विद्याको माध्यमबाट आफुले धेरै विरामीलाई रोगमुक्त पारिसकेको कुरा जानकारी दिनुभयो ।
शिक्षक बस्नेतले उक्त अवसरमा गोरखनाथ वैदिक गुरुकुलका बटुक/कन्याका लागि भनेर १५ थान धाेति, १५ थान तामाका वेला, १५ थान बिच्छाउने अासनि, १५ थान रुद्राक्ष माला प्रदान गर्नुभएकाे थियाे । साथै उहाँले गुरुकुललाई आवश्यक परे अागामि दिनमा निरन्तर सक्दाे सहयाेग गर्ने समेत जानकारी दिनुभयो ।
गुरुकुलकी प्राचार्य सन्तोषी सुबेदीको स्त्रोत पाठबाट शुरु भएको कार्यक्रममा बटुक/ कन्याहरुले स्वस्तीवाचन र रुद्री पाठ गरेका थिए । कार्यक्रमको विचमा भजन मण्डलीद्वारा भजन प्रस्तुत गरिएको थियो । साथै कार्यक्रममा राष्ट्रियताले ओतप्रोत ‘पृथ्वीनारायण शाह र गुरु गोरखनाथ’ नामक नाटक मन्चन गरिएको थियो । जसमा गुरु गोरखनाथले पृथ्वीनारायण शाहलाई जहाँ तिम्ले कुल्चन्छौ तिम्रो हुनेछ भनी आशिर्वाद दिएको लगायतका कुराहरु देखाइएको थियो ।
गुरुकुलका सदस्य विष्णु प्रसाद गाैतमको स्वागत मन्तब्य पश्चात शुरु भएको कार्यक्रममा गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईको अध्यक्षता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी योगी देवनाथ, विशिष्ट अतिथिद्वय वसन्त के.सी., पदम बस्नेत, गुरुकुलकी प्राचार्य सन्तोषी सुवेदी, पतन्जली योगपिठ घोराही १७ का अध्यक्ष बोदिप्रसाद पुन, गुरु छवि देवकोटा, सन्तमहन्त, स्थानीय अभिभावक आमाबुबाहरु, बटुक/ कन्याहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन गुरुकुलकी सदस्य शुसिला खनालले गर्नु भएकाे थियाे ।