शुरु भयो आधारभुत स्वास्थ्य सेवा

  • ११ माघ २०७६, शनिबार १८:१४ मा प्रकाशित
  • -वसन्त अनुभव-
    दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा न. १ रामपुरमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले बुधबार आयोजित एक कार्यक्रमका बिच उक्त स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्नु भएको हो । उक्त आधारभुत स्वास्थ्य सेवा केन्द्र हाललाई कोठा भाडामा लिई संचालन गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।

    दंगीशरण गा.पा. १ का वडाबासीहरुले सहज ढंगले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न नसकीरहेको स्थितिलाई मध्यनजर राख्दै उक्त वडाको केन्द्रविन्दुमै आधारभूत स्वास्थ्य सेवा केन्द्र संचालन ल्याइएको जानकारी अध्यक्ष चौधरीले दिनुभयो । साथै उहाँले स्वास्थ्य सेवा केन्द्रलाई व्यवस्थित र नियमीत तरीकाले संचालन गर्नका लागि सदा लागिपर्ने बताउनु भयो ।
    उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गा.पा.उपाध्यक्ष पिमा कुमारी खड्काले आर्थिक रुपमा विपन्न सेवाग्राहीहरुले अब आफ्नै घर आँगनमै स्वास्थ्य सेवा पाउन सकिने बताउनु भयो । साथै उहाँले उपलब्ध सेवाको उपभोग गर्न वडावासीहरुलाई आग्रह समेत गर्नुभयो ।

    सो अवसरमा दंगीशरण गा.पा. वडा १ का अध्यक्ष श्रीप्रसाद चौधरीले केन्द्रको बजेट रु. ३५ लाखको लागतमा आधारभुत स्वास्थ्य सेवा केन्द्रका लागि आफ्नै भवनको निर्माण कार्य जारी रहेको जानकारी दिदै सेवाग्राहीहरुलाई तत्काल सेवा दिनका लागि घरभाडामा लिई सेवा सुचारु गरिएको बताउनु भयो ।

    उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले सेवाग्राहीहरुको सेवाका लागि कुनै पनि कसर नछाडिने तर सेवाग्राहीहरु सेवा लिन स्वास्थ्य सेवा केन्द्रसम्म आउनु पर्ने बताउनु भयो । साथै उहाँले हाल स्वास्थ्य सेवा केन्द्रबाट ४० प्रकारका औषधिहरु उपलब्ध हुने र एकजना अ.हे.व र एकजना अ.न.मी.ले सेवा उपलब्ध गराउने जानकारी दिनुभयो ।

    साथै कार्यक्रमममा नेकपाका युवराज खड्का, जिल्ला सदस्य यज्ञ बहादुर विष्ट, आधारभुत विद्यालयका प्रेम विष्ट लगाएतका ब्यक्तिहरुले बोल्नु भएको थियो । कार्यक्रमको सन्चालन सुनीता गिरीले गर्नुभएको थियो ।

    Leave a Reply