मुस्लिमको मसिहा ठान्ने नेकपा सरकारले अन्तर्राष्ट्रिय धार्मिक प्रबचनमा किन लगायो प्रतिबन्ध ?

  • २५ पुष २०७६, शुक्रबार ००:१४ मा प्रकाशित
  • आगामी फागुन १ र २ गतेका लागि सप्तरीमा अन्तर्राष्ट्रिय मुस्लिम धार्मिक कार्यक्रमको तयारी भइरहेका बेला गृहमन्त्रालयले एक सातअघि त्यस्तो कार्यक्रम गर्न प्रतिबन्ध लगायो।

    दुई बर्षअघिदेखि मुस्लिम समुदायले सप्तरीको बोदे बर्साइ नगरपालिकामा धार्मिक गुरु बेलाएर अन्तर्राष्ट्रिय प्रबचन कार्यक्रम तय गरेको थियो। सहभागीहरुको उल्लेख्य उपस्थिति हुने ठानेर करिब २ सय बिघा जमिनमा कार्यक्रमको पूर्ण तयारी भइसकेका बेला गृहमन्त्रालयले प्रबचनमा प्रतिबन्ध लगाएपछि मुस्लिम अगुवाहरु आश्चर्यमा परेका छन्।

    नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार कम्युनिष्ट सरकार गठन भएपछि मुस्लिमहरुका हक, अधिकार कुण्ठित गरिएको बताउँछन्। अध्यक्ष सत्तारका अनुसार सरकारले यसअघि पनि जिल्ला स्तरमा हुने धार्मिक कार्यक्रमाथि प्रतिबन्ध लगाउँदै आएको छ। नेपालमा कम्युनिष्ट सरकार गठन भएपछि मुस्लिम समुदाय आफ्ना हक अधिकारका लागि आन्दोलित हुनु परेको उनको भनाई छ।

    मुस्लिम समुदायप्रति कम्युनिष्ट सरकारको हेराइ कस्तो छ भन्ने बुझ्नका लागि आसन्न राष्ट्रियसभा चुनाबमा अघि सारको उम्मेद्वार हेर्दा पनि प्रष्ट हुन्छ। कूल जनसंख्याको ४ प्रतिशत हिस्सा ओगटेको मुस्लिम समुदायबाट सत्तासीन नेकपाले आसन्न राष्ट्रियसभा चुनाबमा उम्मेद्वार हुन एकजना पनि उपयुक्त पात्र देखेन। मुख्य बिपक्षी नेपाली कांग्रेसले भने प्रदेश नम्बर ५ मा बाँकेबाट मेहराज हलुवाइलाई उम्मेद्वार बनाएको छ। जबकि मुस्लिम समुदायका कार्यक्रममा पुग्दा नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल मुस्लिम समुदायको मसिहा नै ठान्छन्।

    ओली र दाहालले आफूलाई मुस्लिम समुदायको जतिसुकै मसिहा ठाने पनि नेकपा र नेकपा नेतृत्वको सरकार मुस्लिम बिरोधी भएको बताउँछन् मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार। नेकपाको सरकार गठन भएपछिको मन्त्रिपरिषद्को पहिलो बैठकले मुस्लिम समुदायका चाडपर्बमा सरकारले दिदैं आएको सार्बजनिक बिदा कटौती गरेको बिर्सन नसकिने बताउँछन् अध्यक्ष सत्तार।

    हुन पनि त्यसअघिका सरकारले मुस्लिम समुदायका प्रमुख चाड इद, बकर इद र मोहम्मद डे मा सार्बजनिक बिदा दिदैं आएको थियो। तर कम्युनिष्ट सरकारले ती सबै बिदा एकसाथ कटौती गरेपछि नेकपाले भन्दै आएको समाबेशी, समानुपातिकको मुद्धा चुनाबी नारा बाहेक अरु केही पनि नभएको निष्कर्षमा आफूहरु पुगेको बताउँछन् मुस्लिम संघका अध्यक्ष सत्तार।

    साभार स्पेस्खबरबाट

    Leave a Reply