
–वसन्त अनुभव-
घोराही, २० पुस / आगामी पौष २५ गते देखि माघ २८ गतेसम्म हुन लागेको माघ साँस्कृतिक महोत्सव–२०७६ को आयोजक समितिले आज घोराहीमा पत्रकार भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रम माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक समितिका संयोजक एंव थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यमा भएको थियो ।

माघ साँस्कृतिक महोत्सव–२०७६ को मुख्य आकर्षण थारु परिकार र मघौटा नाच रहने माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक समितिले कार्यक्रममा जानकारी दिएको छ। समितिका संयोजक भुवन चौधरीका अनुसार थारु परिकारहरु जस्तै माछा, घोङघी, गंगटा, सुंगुरको मासु, अन्डि चामलको भात, अन्डिको झोल पनि विक्रिवितरणका लागि राखिने भएको छ । यसैगरि महोत्सवमा थारु समुदायमा प्रचलित मघौटा, संख्या, छोक्रा, हुर्डुंग्या, पैयाँ नाचको प्रस्तुति रहने छ । साथै महोत्सवमा थारु भाषाका विभिन्न पुस्तक, पत्रपत्रिका, थारु हस्तकला समेतको प्रदर्शनी राखिने छ । त्यसैगरि महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने कुरा बताइएको छ ।
थारु साँस्कृतिक संग्रहालय भवन निर्माणका लागि आयोजना गर्न लागिएको महोत्सवमा विभिन्न किसिमका ५० वटा स्टल राखिने आयोजक समितिले जनाएको छ । साथै महोत्सवमा विद्यार्थीहरुका लागि रु ३०, सर्वसाधाणका लागि रु. ५० र भि.आई.पि.का लागि रु १००० रुपैयाँको टिकट ब्यवस्था गरिएको प्रचार प्रसार समितिका संयोजक सन्तोष दहितले जानकारी दिनुभयो। कार्यक्रमको सहजिकरण प्रचारप्रसार संयोजक सन्तोष दहितले गर्नुभएको थियो ।