बैंकको ऋण तिर्न नसक्दा वडाध्यक्षले गरे आत्महत्या

  • ३ माघ २०७६, शुक्रबार १३:४६ मा प्रकाशित
  • कोहलपुर / बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्णबहादुर खड्काले आत्महत्या गरेका छन्।

    प्राप्त जानकारीका अनुसार ६८ वर्षीय खड्काले भारतको बहराइच पुगेर एक होटलमा आत्महत्या गरेका थिए । उनले लेखेको सुसाइड नोटमा बैंकको ऋण तिर्न नसकेकाले आत्महत्या गरेको कुरा उल्लेख छ। अध्यक्ष खड्का पुस २९ गते भारतको बहराइचस्थित शंकर होटेलमा पुगेर विष सेवन गरी आत्महत्या गरेका थिए।

    खड्काले विषादी सेवन पुर्व लेखेको पत्रमा बैंकले ऋण चुक्ता गर्न निकै ताकेता गरेको हुँदा सहन गर्न नसकेर आत्महत्या गरेको व्यहोरा रहेको मेयर लुटबहादुर राउतले जानकारी दिनुभयो । ‘उहाँको बैंकमा २०-२२ लाख रुपैयाँ ऋण रहेछ, त्यो ऋण तिर्न भनेर बैंकले निकै सताएको भन्ने कुरा उहाँले पत्रमा लेख्नुभएको छ,’ मेयर राउतले भने, ‘त्यसमा छोराहरूले समेत आफूलाई कुनै सहयोग नगरेको भन्ने कुरा पनि लेख्नुभएको छ।’

    प्राप्त जानकारीका अनुसार जाजरकोटबाट बसाईसराई गरि कोहलपुर आएका खड्काले आत्महत्याको लागि उपयुक्त स्थान भारतको बहराइचस्थित शंकर होटल देखेको हुँदा त्यहाँ आएर विषादी सेवन गरेको भन्दै होटल साहुलाई केही पनि दुःख नदिन आग्रहसमेत गरेका छन्। खड्का पुस २९ गते विहान ७ बजे सुर्खेत मेहेलकुना जान्छु भनी घरबाट निस्के पनि त्यहा नगइ करिब साढे १० बजेतिर नेपाल-भारत सीमाना पार गरि बहराइच पुगि करिब दिउँसो ३ बजे तिर बहराइचस्थित शंकर होटल बुक गरि पत्र लेखेर आत्महत्या गरेको बुझिएको छ ।

    खड्काको शव भेटिए लगत्तै को.न.पा.का जनप्रतिनिधिहरु सहित ने.क.पा. का नेताहरु बहराइच पुगि घटनाको अध्ययन गरि फर्केको मेयर राउतले जानकारी दिए । प्रहरीका अनुसार अध्यक्ष खड्काले आत्महत्या गरेको कुरा प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

    Leave a Reply