
–वसन्त अनुभव-
घोराही, १५ माघ / दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एपेन्डिक्स फुटेर पेटमा पिप जम्मा भएको जटिल अवस्थामा पुगेकी एक महिलाको सफल अप्रेसन गरिएको छ ।
एपेन्डिक्स फुटी पेटमा पिप जम्न गइ गम्भीर अवस्थामा पुगेकी रोल्पा जिल्लाकी प्रीति बि.क. को राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका सर्जन डा.ईश्वरी भुसाल नेतृत्वको चिकित्सक टोलीले सफल अप्रेसन गरेको थियो ।
अप्रेसन गर्ने टोलीमा सर्जन डा.ईश्वरी भुसाल, एमडिजिपी डा.अमित लाम्गाडे र एनेस्थेस्टिक डा. राजन शाक्य रहनु भएको थियो । आर्थिक अवस्था कमजोर भएको हुँदा बिरामीको सम्पुर्ण उपचार खर्च चिकित्सकको सिफारिसमा नि:शुल्क गरिएको छ । हाल बिरामीको अबस्था सामान्य रहेको बताइएको छ ।
पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा सामान्य देखी जटिल प्रकृतिका स्वास्थ्य समस्या भएका बिरामीहरुको उपचार हुँदै आएको छ । केही दिन अघिमात्र प्रतिष्ठानको चिकित्सक टोलीले अण्डकोष बटारिएर रक्तसञ्चार अवरोध भइ कोष मरी अण्डकोष कालो भइ सकेको जटिल समस्या भएको तुलसीपुरका एक बिरामीको पनि अपरेसन गरि ज्यान बचाउन सफल भएको थियो ।