
–वसन्त अनुभव –
घोराही, चौघेरा, २७ पौष / गोरक्ष श्री रतननाथ पिठ परिसरमा रहेको गोरखनाथ वैदिक गुरुकुल दाङ्ले आयोजना गरेको कार्यक्रममा एक्कासि बाल पृथ्वीनारायण शाह आफ्ना बालगुरु गोरखनाथको साथमा मन्चमा उपस्थित हुँदा कार्यक्रममा सहभागी व्यक्तिहरु आश्चर्यचकित भए। उक्त दृश्यमा बाल पृथ्वीनारायण शाहले गुरु गोरखनाथ, आफ्नी आमा लगायत आफ्ना सहयोगीहरुसँग वार्तालाप गरेको देखियो ।
प्रस्तुत दृश्यचित्र राष्ट्रनिर्माता पृथ्वीनारयण शाहको २ सय ९८ औ जन्मोत्सव एवं राष्ट्रिय एकता दिवसमा मन्चन गरिएको नाटक ‘पृथ्वीनारायण शाह र गुरु गोरखनाथ’ को दृश्य हो । उक्त नाटक गुरुकुलका बटुक तथा कन्याहरुले जिवन्त अभिनयका साथ प्रदर्शन गरेका थिए । परम्परागत शैलीको भेषभुषामा सजिएका ती बालकलाकार निकै आकर्षक देखिएका थिए ।

कार्यक्रममा वक्ताहरुले पृथ्वीनारायण शाहलाई स्मरण गर्दै उनको योगदानको बारे विभिन्न वक्ताहरुले चर्चा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गोरक्ष श्री सिद्ध रत्ननाथ पिठ, चौघेराका मठाधिश योगी देवनाथले श्री ५ बडामहाराज पृथ्वीनारायण शाह एक कुशल, दुरगामी दृष्टि भएका राजा थिय । उनका दिब्योपदेश आज पनि उत्तिकै सान्दर्भिक र यथार्थ रहेको छ । सनातन धर्मको जगेर्ना र विकाशका लागि उनको योगदान अतुलनीय रहेको बताउनु भयौ । उनले साना साना राज्यहरुको एकीकरण गरि, एक सुत्रमा वाधी नेपालको अस्तित्व गुम्नबाट जोगाएको कुरा उल्लेख गर्नुभयो ।
कार्यक्रममा गोरखनाथ वैदिक गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले नेपाललाई एकताको सुत्रमा बाध्ने श्री ५ बडामहाराज पृथ्वीनारायण शाह नेपालको राष्ट्रनिर्माता भएको र उहाँको योगदानलाई हामीले बिर्सन नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरिएको थियो । कार्यक्रम गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईको अध्यक्षता भएको थियो । साथै कार्यक्रममा अतिथी, सन्तमहन्त, बटुक/कन्याहरु, स्थानीय व्यक्तिहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

