
काठमाडौं, २ माघ / सरकारले आयुर्वेद विश्वविद्यालय स्थापना गर्न लागेको छ । पूर्वीय दर्शन, योग, परम्परागत चिकित्सा, जडीबुटीलगायतको अध्ययन तथा अनुसन्धान गर्ने जनशक्ति उत्पादन गर्न योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्न लागेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले योगमाया आयुर्वेदिक विश्वविद्यालयको विधेयक तयार पारेको छ । शिक्षा मन्त्रालयले तयार गरेको विधेयक अर्थ तथा कानुन मन्त्रालयबाट स्वीकृति प्राप्त गरी संसद्मा दर्ता हुँदै छ । शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले सम्बन्धन बाँड्न नपाउने गरी विश्वविद्यालयको विधेयक तयार भएको बताए ।
आयुर्वेद विश्वविद्यालयको अरुण उपत्यकामा कार्यालय स्थापना हुनेछ । सहसचिव सापकोटाका अनुसार एउटा केन्द्रीय क्याम्पस र सात प्रदेशमा एक/एक आंगिक क्याम्पस रहने गरी विधेयक तयार गरेको बताए ।
संसद्बाट विधेयक पारित भएपछि पूर्वाधार विकासको काम सुरु गर्ने उनले बताए । विश्वविद्यालय स्थापना भएमा हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको प्रयोग, अनुसन्धान र विकासका साथै योग र प्राकृतिक उपचार पद्धतिको पनि विकास हुने उनले बताए ।
नया पत्रीका