१४ माघ, काठमाडौं । गायिका आस्था राउतलाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका हुन् ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृृष्णबहादुर कटवालले धरौटीमा छाड्ने आदेश भएको अनलाइनखबरलाई बताए ।
राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो ।
प्रकरणमाथि अनुसन्धान सकेर प्रहरीले सोमबारै जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमाथि अध्ययन र विस्तृत अनुसन्धानका लागि सरकारी वकिलले ७ दिनको समय प्रशासनसँग मागेको थियो ।
तर, सोमबार प्रशासनले प्रहरीलाई अनुसन्धानका लागि चार दिनको समय मात्र दिएको थियो । यद्यपि, चौतर्फी विरोध र दबाबपछि दोस्रो दिनमै अभियोग पत्र दायर गर्यो ।
राउतले गएराति हिरासतमा भने बस्नु परेन । उनलाई ब्लु क्रस अस्पताल, त्रिपुरेश्वर भर्ना गरिएको थियो ।
‘हाइपर टेन्सन’का कारण समस्या भएको भन्दै उनलाई प्रहरीले अस्पताल लगेको थियो ।
प्रहरीप्रतिको बुझाइ फेरिएको छः राउत
प्रशासनबाट छुटेपछि राउतले प्रहरीको प्रशंसा गरिन् .
हँसिलो अनुहारमा बुबा हरिबहादुरसँगै प्रशासनबाट बाहिर निस्किएकी राउतले उपस्थित सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिइन् ।
उनले भनिन्, ‘प्रहरीप्रतिको मेरो गलत बुझाइ दुई दिनमा फेरिएको छ । मैले प्रहरीलाई जुन रुपमा बुझेकी थिएँ, त्यो होइन रहेछ ।’
उनले प्रहरी साँच्चै जनताको साथी रहेको अनुभूति भएको पनि बताइन् । उनले थपिन्, ‘गल्ती मबाटै भएको थियो । उहाँहरुले मलाई कुनै पनि नराम्रो व्यवहार गर्नुभएन ।साभार अनलाईनखबरबाट