
नवलपुर, ८ माघ / पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको जीपको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयले त्यसको व्यापक विरोध गरेका छन् ।
सरकारी गाडीको दुरुपयोग गर्दै हुप्सेकोट गाउँपालिकाका अधिकृत शिव सुवेदीले सवारी सञ्चालन गर्न सिक्ने क्रममा १ जनाको मृत्यु र तीन जना घाइते हुने गरी दुर्घटना गराएपछि स्थानीयले त्यसको व्यापक विरोध गरेका हुन् ।
हुप्सेकोटका स्थानीयले मंगलबार राति र बुधबार दिनभर हुप्सेकोट गाउँपालिकाको कार्यालय अगाडि प्रदर्शन गरे ।
उनीहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेर विरोध गरेका छन् भने अधिकृत शिव सुवेदीलाई कारवाहीको माग गरेका छन् । उनले कार्यालयमा चालक नभएको बेला आफैले जिप चलाएर दुर्घटना गराएका थिए ।

गाउँपालिकाका कर्मचारी (अधिकृत) शिव सुवेदीले हुप्सेकाट गाउँपालिकाकोे उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चढ्ने ग १ ज ३८९ नम्बरकोे जीप लिएर सिक्न जाँदा दुर्घटना भएको हो ।उनले गाउँपालिकाको मुख्य बजार र मुख्य सडकमा सवारी चलाएका थिए । जसका कारण बुंदीकालीको कुवाकोट घर भई हाल हुप्सेकोट गाउँपालिकाको भूपू शैनिक इंलिस बोडिड्ड स्कूलमा अध्ययन गर्ने हाल हुप्सेकोट गाउँपालिकाको नयाँ बजारमा बस्दै आएका बालक दीपु गाहाको निधन भएको हो ।
दुर्घटनामा बालकका आमा २७ बर्षीय मीना गाहा घाईते भएका छन् भने गाउँमा मिस्त्री काम गर्दै आएका ५५ बर्षीय भिमबहादुर लुङ्गेली पनि गम्भीर घाइते छन् । मृतक बालकका बुवा वैदेसिक रोजगारीको शिलशिलामा विदेश गएका छन् । हुप्सेकोट गाउँपालिका ५ का वडा अध्यक्ष पदमबहादुर राना चढेको मोटरसाइकललाई ठक्कर दिंदै जीपले बाटोमा रहेको मिस्त्रीलाई समेत घाइते बनाउँदै जीप घरमा ठोक्किन पुगेको थियो ।
स्थानीयले घटनाको विरोधमा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिदिएका छन् भने स्थानीयले हुप्सेकोटकोे झ्यालबास बजार बन्द गराएका छन् भने यातायात समेत बन्द गराएका छन् । गाडीका चालक नभएको र गाउँपालिकाका कर्मचारी (अधिकृत) शिव सुवेदीले गाडी सिक्ने क्रममा दुर्घटना भएको स्थानीयले जनाएका छन् । स्थानीयले घटनाका दोषी अधिकृत सुवेदीलाई कारवाहीको माग गरेका छन् ।

सुवेदीलाई बचाउ गर्न खोजिएको र दोषीलाई अझैसम्म पक्राउ नगरिएको भन्दै स्थानीय बढी आक्रोसित भएका हुन्
उनीहरुले मृतकका परिवारलाई क्षतिपूर्ति दिनु पर्ने, घाइतेहरुको उपचार गर्नु पर्ने, दोषीलाई कानुनी कारवाही गर्नु पर्ने लगायतका माग राखेका छन् ।
स्थानीयले गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले घटना प्रति कुनै सहानुभूति नजनाएको भन्दै त्यसको पनि विरोध गरेपछि अध्यक्ष पाण्डे छलफलमा सहभागी भएका थिए । स्थानीय बासिन्दाका अनुसार पाण्डे मृतकका परिवारलाई क्षतिपूर्ति दिने र घाइतेलाई उपचारको व्यवस्था गाउँपालिकाको खर्चबाट गर्ने भने पनि स्थानीयले पीडकले नै क्षतिपूर्ति व्यहोर्नु पर्ने र उनले नै उपचार खर्च गर्नु पर्ने माग राखेपछि स्थानीय र गाउँपालिका बीचको छलफल सहमतिमा पुग्न नसकेको हो ।छलफल सहमतिमा नपुगेपछि स्थानीयले गाउँपालिकामा लगाइदिएको ताला खुल्न सकेको छैन ।
Daunne news