चिनियाँ प्याजको ‘कब्जा’मा नेपाली बजार, एक महिनामै २८ लाख केजी चीनबाट आयात

  • १९ पुष २०७६, शनिबार १०:०४ मा प्रकाशित
  • काठमाडौं– भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै चीनबाट आयातित प्याजको हिसा बढेको छ।
    मंसिर महिनामै मात्रै नेपालले चीनबाट २७ लाख ७४ हजार ७ सय ८५ केजी प्याज आयात गरेको छ। नेपालले साउनदेखि कात्तिकसम्ममा जम्मा चीनबाट ३ लाख ६४ हजार ७ सय ५६ केजी प्याज आयात गरेको थियो। तर, गत असोज १२ गतेदेखि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा चिनियाँ प्याजको हिसा बढेको छ। 
    भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै प्याजको मूल्य पनि बढिरहेको छ। हाल नेपाली बजारमा प्याजको मूल्य १ सय ८० रुपैयाँदेखि २ सय रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ। भारतले प्रतिबन्ध लगाउनु अगाडिसम्म नेपाली बजारमा प्याज प्रतिकेजी ३५ देखि ४० रुपैयामा कारोबार भइरहेको छ।


    प्याज व्यापारीले पनि बजार माग अनुसारको प्याज आत गर्न सकेका छैनन्। भन्सार विभागले सार्वजनिक गरेको ५ महिनाको तथ्यांकअनुसार नेपालले कुल ४ करोड ५१ लाख ७१ हजार ७ सय ५६ केजी प्याज आयात गरेको छ। जसमा भारतबाट ४ करोड २० लाख २० हजार २ सय १५ केजी, चीनबाट ३१ लाख ३९ हजार  ५ सय ४१ र नामिबियाबाट १२ हजार केजी प्याज आयात भएको छ। तर, मंसिर महिनामा भने भारतबाट ४ लाख ४२ हजार ३ सय ५२ केजी प्याज आयात भएको छ। 


    भारतीय प्याजभन्दा चिनियाँ प्याजको मूल्य दोब्बर
    प्याज निर्यातमा भारतले लगाएको प्रतिबन्धको प्रत्यक्ष असर ‍नेपालीको भान्सा समेत पुगेको छ। भारतबाट आयात भएको प्याज भन्सार मूल्य प्रतिकेजी ३७ रुपैयाँ ६४ पैसा पर्ने भएपनि चिनियाँ प्याजको मूल्य भन्सार विन्दुमा नै ६६ रुपैयाँ ६१ पैसा परेको छ।


    यसको अर्थ नेपालले भारतबाट ४ करोड २० लाख २० हजार २ सय १५ केजी प्याजमा आयातमा १ अर्ब ५८ करोड १९ लाख ३० हजार रुपैयाँ खर्च गरेको छ भने चीनबाट ३१ लाख ३९ हजार ५ सय ४१ केजी प्याज आयातमै २० करोड ५९ लाख ९१ हजार रुपैयाँ खर्च गरेको छ।नेपाल लाइभ |

    Leave a Reply