–वसन्त अनुभव-
घोराही, २६ पौष / नेपाल आयुर्वेद औषधि व्यवसायी संघ प्रदेश नं. ५ को प्रथम भेला तथा प्रदेश अधिवेशन आज शनिबार घोराहीमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन प्रदेश नं.५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्नुभएको हो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बरालले भन्नुभयो “आयुर्वेदको विकास गर्ने जिम्मेवारी भनेको स्वयं आयुर्वेद स्वास्थ्यकर्मिको नै हो । आयुर्वेदको बारेमा आयुर्वेद क्षेत्रका डाक्टरसाबहरु, विज्ञहरु, फर्मासिष्टहरु लगायत आयुर्वेद फिल्डमा काम गर्ने ब्यक्तिहरुलाई मात्र थाहा हुन्छ किनकि उहाँहरुले त्यसको बारेमा अध्ययन गर्नु भएको छ । राजनैतिक फिल्डबाट आएका हामी राजनितीज्ञहरुलाई त त्यसबारे थाहा हुने कुरै भएन । हाम्रो काम भनेको नीति निर्माण गर्ने हो, प्लेटफर्म बनाईदिने हो, आवश्यक बजेट व्यवस्था गर्ने हो ।”
साथै उहाँले ‘हामीले कुन रोगमा, कुन औषधि, कती मात्रामा, कति दिन खायो भने, रोग पुर्ण रूपमा निको हुन्छ भन्ने कुरा क्लियर रुपमा आउनु पर्छ त्यसका लागि आयुर्वेदिक औषधिमा अनुसन्धानको धेरै खाचो रहेको छ । त्यसका लागि प्रत्येक वर्ष प्रदेशले बजेट छुट्याउदै आएको तर त्यस्को सदुपयोग हुन सकेको छैन, खर्च नभई फ्रीज हुने गरेको गुनासो पोख्नुभयो । आयुर्वेद स्वास्थ्यकर्मिले नै त्यसतर्फ अग्रसर हुन नसकेको, काम गर्न नसकेको आरोप लगाउनु भयो । स्वयं आयुर्वेद स्वास्थ्यकर्मी नै आयुर्वेद सेवा र औषधि प्रती विश्वस्त नभएको, आफू र आफ्नो मान्छे विरामी पर्दा एलोपेथिक डाक्टर र औषधि पसलकोमा जाने गरेको बताउनु भयो ।
साथै विरामी पर्दा सन्चो हुन्छ भनेर, आयुर्वेद सेवा प्रति ढुक्क भएर, बिरामी आयुर्वेद संस्था र चिकित्सककहाँ जाने वातावरण नवनाउदा सम्म आयुर्वेदको विकास हुन नसक्ने बताउनु भयो । साथै आयुर्वेद विकासका लागि आयुर्वेदकर्मीहरु नै मन, वचन र कर्मले लाग्नु पर्यो हातेमालो गर्न मन्त्रालय तयार रहेको जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा प्रदेश नं.५ का सांसद अमर बहादुर डाँगी, प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका निमित्त निर्देशक डा. रामकामेश्वर ठाकुर, नेपाल पत्रकार महासंघ, दाङ शाखा अध्यक्ष सविन प्रियासन लगायत महानुभावहरुले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रममा जंगराज गिरी, उद्वव गौतम, रामचन्द्र बुढाथोकी, किरण शर्मा, कृष्ण सुवेदी, यमलाल भट्टराई, युवराज भट्टराई, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ जिल्ला अध्यक्षहरु प्रकाश अधिकारी, देवेन्द्र पौडेल, डा. दिपक कुमार धिताल, निलोकी गुप्ता, गोपाल बन्जाडे, विभिन्न औषधि कम्पनीका प्रतिनिधिहरु, ५ नं. प्रदेश अन्तर्गतका आयुर्वेद औषधि व्यवसायीहरु, पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाल आयुर्वेद औषधि व्यवसायी संघका केन्द्रिय सदस्य एवं ५ नं सयोजक गिरिराज शर्माको अध्यक्षता एवं प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालको प्रमुख आतिथ्यमा भएको थियो ।
प्रदेशस्तरीय कार्यसमितिको चयन
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ ५ नं. प्रदेशको भेलाले देव बहादुर बस्नेतको अध्यक्षतामा एक कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा राम प्रसाद पाण्डे, महिला उपाध्यक्षमा सुमित्रा थापा, सचिवमा डा.सोमलाल चौधरी, कोषाध्यक्षमा क्षितिज सापकोटा, सह-सचीव ध्रुव गोराथोकी, खुला तथा जिल्ला सदस्यहरुमा यज्ञ बहादुर के.सी.(पाल्पा), लक्ष्य ब. बि.क.(बाँके), विन्दु जोशी (महिला-बाँके), महम्मद महम्युद राज मतिहार(बर्दिया), वसन्त रावत (दाङ), कपिल ज्ञवाली(रुपन्देही) र सुरेन्द्र प्रसाद पाण्डे(कपिलवस्तु) रहनु भएको छ ।