
२८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी बुधबारदेखि खुलामञ्चमा सवारी साधन पार्किङ निषेध गर्ने भएको छ । खुलामञ्चलाई सधैंका लागि खुला बनाउने योजनाअनुसार महानगरले १ माघदेखि लागू हुने गरी सवारी साधन पार्किङ निषेध गरिएको हो ।
टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै गत कात्तिकदेखि शुरु भएको अकुपाई टुँडिखेलका अभियन्ताहरुले खुलामञ्चलाई खाली गराउन जोड दिँदै आएका थिए ।
खुलामञ्च खुला नै राख्नु पर्ने भएकाले माघ १ गतेेदेखि गाडी पार्किङमा रोक लगाउन लागिएको महानगरको वडा नम्बर १८ का अध्यक्ष भाइराम खड्गीले बताए । केही समययता अस्तव्यस्त बनेको खुलामञ्चमा सवारी साधन पार्किङ बन्द भएपछि सार्वजनिक कार्यक्रमहरु गर्न सकिने अध्यक्ष खड्गीले बताए ।

कुनैबेला देशका चर्चित नेताहरुको भाषण गर्ने मुख्य ठाउँको रुपमा रहेको खुलामञ्च हाल बसपार्क, अनधिकृत पार्किङ र निर्माण सामाग्रीले गर्दा अस्तव्यस्त छ ।
पुरानो बसपार्कमा भ्यूटावर निर्माण शुरु भएपछि केही समयका लागि भन्दै महानगरले बसपार्कलाई अस्थायी रुपमा खुलामञ्चमा स्थानान्तरण गरेको थियो ।
खुलामञ्च क्षेत्रमा भानु माध्यमिक विद्यालय निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीका निर्माण सामाग्रीहरु राखिएका छन् भने करिब आधा भू-भाग पुरानो बसपार्कले ओगटेको छ । अकुपाई टुँडिखेल अभियन्ताहरुले केही समय अघि खुलामञ्चमा डोजर लगाएर माटो सम्याउनुका साथै सरसफाइसमेत गरेका थिए ।
अनलाईन खबरबाट