अबैध उत्खनन विरुद्ध बोल्ने युवकलाई ट्रिपरले किचेर हत्या, पूर्व पश्चिम राजमार्ग अवरुद्ध

  • २६ पुष २०७६, शनिबार ०८:२० मा प्रकाशित
  • धनुषा — भारतको भोपालमा इन्जिनियरिङ पढ्दै गरेका मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप)को शुक्रबार बिहान टिपरले किचेर हत्या गरियो । महतो दुई सताअघि मात्र कलेज बिदामा घर फर्केका थिए । महतो बिटेक इन्जिनियरिङको अन्तिम सेमेस्टर पढ्दै थिएँ ।गाउँमा मिलनसार र लोकप्रिय युवा दिलीप राजनीतिमा रुचि राख्थे। छिमेकी संजयकुमार महतोका अनुसार दिलीप गाउँमा हुने विवादहरु मिलाउन पनि अग्रसर हुन्थे। दिलीपका साथी एवं स्थानीयन विद्यालयका शिक्षक कमलेश सिंहका अनुसार दिलीपले पछिल्लो २ वर्षयता गाउँनजिकैको औरही खोलामा भइरहेको उत्खननको विरोध गरिरहेका थिए।
    नदीमा गरिने उत्खननले श्रीपुर वरपरका उब्जाउ खेत खोलाले कटान गर्ने र गाउँमा बाढी छिर्ने भन्दै दिलीप निरन्तर यसको विरोधमा थिए। उत्खनन्को विरोध गरेकै कारण उनको पटक–पटक ठेकेदारहरुसँग विवाद भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादव बताउँछन्।
    उनलाई धम्की आउनु सामान्यजस्तै भएको आफन्त बताउँछन्। चिनजानकै व्यक्तिले धम्कि दिँदा उनी वास्ता गर्दैनथे। दिलीपका दाई वीरेन्द्रकुमार महतो नदी उत्खनन्को विरोध गरेकै कारण उनको हत्या भएको बताउँछन्। ‘उसलाई धम्की र प्रलोभन आइरहेका थिए,’ उनले भने, ‘ठेक्दारहरुले घरमै आएरधम्की र प्रलोभन दिन्थे। क्रसर सञ्चालकले मोटर साइकल खरिद गरिदेने प्रलोभन दिए। तर, उस न धम्कीबाट डरायो न प्रलोभनमा पर्‍यो। विरोध गर्न छोडेन।’
    दिलीपले गत वर्ष खोलामा भएको उत्खननबारे जनकपुरका पत्रकारलाई बोलाएरसमेत देखाएका थिए। सञ्चारमाध्यममा उत्खन्नको खबर आएपछि केही दिन कारोबारी काम बन्द पनि भयो। सञ्चारकर्मीको समेत साथ पाएका महतोलाई क्रसर व्यवसायी र निर्माण व्यवसायी संयुक्त रुपमा मिलाउन चाहन्थे।
    केही महिनाअघि छठ मनाउन घर आउँदा पनि दिलीपको क्रसर व्यवसायीहरुसँग विवाद भएको थियो। दुई साताअघि घर आएका उनी औरही खोलामा राति डोजर प्रयोग गरी भइरहेको उत्खनन् रोक्ने अभियान चलाउन चाहन्थे। तर, उनलाई सहयोग गर्ने कोही थिएन।
    दिलीपले खोलामै पुगेर उत्खनन नगर्न आग्रह गरेपछि उनका बुबा रामजीवन महतोलाई क्रसर सञ्चालक विपन महतोले टिपरले किचेर ज्यान मार्ने धम्की दिएको दाजु वीरेन्द्रले बताए।
    शुक्रबार बिहान घर पछाडिको खोलामा लोडर र टिपर गुडेको अवाज सुनेपछि साथी रोशन यादवसँग खोलातर्फ गएका थिए। त्यहीँ उनलाई टिपरले किचेर हत्या गरिएको साथी रोशन गाउँमा आएर जानकारी गराएका थिए। दिलीपको किचेर हत्या गरेको ना ७ ख ६४१३ टिपर र चालक महोत्तरी बर्दिबास–९ का ३४ वर्षीय मुनिन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रण गरिएको टिपर घटनास्थलबाट २ सय मिटर दुरीमा रहेको चुरियामाई बालुवा प्रशोधन उद्योगको रहेको प्रहरीले जनाएको छ।
    महतोको हत्यापछि विपन महतोसहितका बालुवा प्रशोधनका सञ्चालकहरु फरार छन्। दिलीपको शव पोष्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पतालमा राखिएको छ। सााार कान्तिपुर

    Leave a Reply