-वसन्त अनुभव-
घोराही, ६ पुस/घोराही उपमहानगरपालिकाले शिक्षण सिकाईलाई प्रभावकारी बनाउन शिक्षकहरुलाई शैक्षिक सामाग्री बनाउने विषयमा तालिमको आयोजना गरेको छ । अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षकहरुलाई घोराहीको पद्मोदय पब्लिन नमूना माविमा भेला गराई नगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले तालिमको आयोजना गरेको हो ।
शिक्षण सिकाईमा शैक्षिक सामाग्रिहरु महत्वपूर्ण पक्ष भएको भन्दै शिक्षा महाशाखाले शिक्षकहरुलाई उक्त विषयमा ज्ञान दिन तालिमको आयोजना गरेको जनाएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले शिक्षकहरुलाई शैक्षिक सामाग्रिको प्रयोगले पठनपाठन गर्न निर्देशन दिनुभयो ।
५ दिन सम्म चल्ने तालिमको आज नगर प्रमुख नरुलाल चौधरीले सुभारम्भ गर्नुभयो । तीन वटा मुख्य बिषयका २०/२० जनाका दरले ६० जना आधारभूत तहका शिक्षकहरुलाई तालिम दिन थालिएको हो ।
पाठ्यपुस्तक सँगै शैक्षिक सामाग्रिहरु महत्वपूर्ण सहायक सामाग्रिहरु भएको उल्लेख गर्दै अनिवार्य प्रयोगमा ल्याउन निर्देशन दिनुभएको हो । अभ्यास र सामाग्रि सहितको शिक्षण सिकाईले विद्यार्थीमा सिकाई अनुभव बढ्ने र मष्तिस्कमा बस्ने उल्लेख गर्नुभयो ।
शिक्षा महाशाखाका शाखा अधिकृत नारायण पौडेलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सामाजिक विकास समिति संयोजक भरतमणि अर्यालले बालशिक्षाबाटै शिक्षण सिकाईलाई प्रभावकारी बनाउनु पर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण शाखाका कर्मचारी विपना बर्तौलाले गर्नुभएको थियो ।
सोसल मिडियामा शेयर