गुरूङ समुदायको महान पर्व तमू ल्होसार नजिकिँदै गर्दा चितवन र नवलपुरका गुरूङहरूले आइतबार नारायणगमा प्लेकार्ड प्रदर्शन गरेका छन् । तमू ह्युल छोँज धीँ, गुरूङ राष्ट्रिय परिषद प्रदेश नं. ३ को आयोजनामा ल्होसारमा सार्वजनिक बिदाको माग गर्दै नारायणगढमा प्रदर्शन गरिएको हो । नारायणगको पुलचोकदेखि लायन्सचोकसम्मको सडकमा गुरूङ जातीको भेषभूषासहित प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरिएको हो । ह्युल छोँज धीँ चितवनको व्यवस्थापनमा भएको कार्यक्रममा तमू ह्युल छोँज धीँ केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष कर्णबहादुर गुरूङले सम्बोधन गरेका थिए ।
दुईघण्टा मौन प्रदर्शन गरेपछि सरकारले आदिवासी जनजातिको हक अधिकारलाई कुण्ठित पारेको भन्दै त्यसको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिएको जानकारी गराए । यति गर्दा पनि सरकारले वास्ता नगरे थप आन्दोलन चर्काउनसमेत पछि नपर्ने उनको भनाइ छ । केन्द्रीय समितिको निर्देशनअनुसार चितवनमा दुई जिल्लाका गुरूङहरूको उपस्थितिमा प्रदर्शन गरिएको प्रदेश नं. ३ का संयोजक सन्तलाल गुरूङले जानकारी दिए । सिमाना जोडिएको जिल्ला भएकोले गैँडाकोट क्षेत्रका गुरूङहरू पनि चितवनका गुरूङहरूसँग मिलेर प्रदर्शन गरिएको उनले बताए ।
करिब दुई दशकदेखि सार्वजनिक बिदा पाउँदै आएको ल्होसारमा सरकारले गतवर्षदेखि बिदा कटौती गरेपछि देशभरका गुरूङहरू आन्दोलित बनेका छन् । गतवर्षदेखि नै सरकारलाई विभिन्न तरिकाले दबाब दिँदै आए पनि सरकारले वास्ता नगरेको भन्दै यसवर्ष पनि दबाबमुलक कार्यक्रम आयोजना गरिएको चितवन जिल्लाका अध्यक्ष गणेशबहादुर गुरूङले बताए ।
श्रोत साभार कालिकान्युज