१ पुस, विराटनगर । उपमहानगरपालिका –१५ धरानका २१ वर्षीय कमल धमला (विक) लागूऔसध दुर्ब्यसनका कारण बिहेको अघिल्लो दिन पक्राउ परेका छन् । प्रहरीका अनुसार लागूऔषध प्रयोगकर्ता उनको साथबाट ७ एम्पुल लुपिजेसिक,७–७ पिस एभिल र डाइजोपाम लिएर जोगबनीबाट फर्किँदै गर्दा बाटोमा पक्राउ परेका हुन् ।
कमल अबेरसम्म घर नआएपछि परिवारका सदस्यले इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा रहेको सूचना पाए । भोलि विहान बेहुली लिन धनकुटाको महालक्ष्मी नगरपालिका जानु पर्ने बेहुला आफैं प्रहरी हिरासतमा परेपछि पर्यो फसाद ।
बेहुला लागूऔषधमा पक्राउ परेको खबर युवतीको घरसम्म पुग्यो । तर प्रेम सम्बन्धमा रहेकी युवतीले विवाह इन्कार गरिनन् ।
आइतबार बिहान धनकुटा जाने जन्ती बेहुला लिन विराटनगर आयो । जिल्ला प्रहरी कार्यालय मोरङले आमाको जमानीमा दुईजना प्रहरी साथमा लगाएर बेहुलालाई लैजान अनुमति दियो ।
बिहे सम्पन्न भयो । कमलले सोमबार विहान बेहुलीलाई घरमा प्रवेश गराए । घरमा विवाह उत्सव चलिरहेको थियो, तर नवदुलाह त्यहाँ बसिरहन पाएनन् । आफन्तले टीका लगाइदिएपछि बेहुलासँगै जन्ती गएका प्रहरीले कमललाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको छ ।
उनलाई मंगलबार लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु थालिएको प्रहरीले जनाएको छ ।
धरानको रत्नरोडमा सुन पसल गर्दै आएका कमल परिवारको जेठा छोरा हुन् । एक वर्ष अघि बुबाको मृत्यु भएपछि उनले लागूऔषध सेवन गर्न थालेको बताइएको छ । तर उनले भने आफूलाई फसाउन अरु कसैले लागूऔषध राखिदिएको बयान प्रहरीसामू दिएका छन् ।
साभार अनलाईनखबर