वसन्त अनुभव
घोराही उपमहानगरपालिका वडा नंं. १५ न्युरोडमा हुन गइरहेको बालविवाहलाई रोकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पाल्पा घर भइ घोराही मामाघर आएकी एक १४ वर्षीय किशोरीको सोमबार दिउँसो १२ बजे तिर कपिलवस्तु चन्द्रौटा बस्ने केटोसँग विवाह हुदै गर्दा विवाहमा संलग्न केटा र केटी दुबै पक्षलाई नियन्त्रणमा लिइ प्रहरीले विवाह रोकेको थियो । नियन्त्रणमा लिए पछि घोराही उ.म.न.पा. वडा नंं.१५ का वडाध्यक्ष रमेश कुमार पाण्डेको रोहवरमा केटा र केटी दुबै पक्षका आफन्तलाई राखी छलफल गराई कानुन बमोजिम उमेर पुगे पछि मात्र बिहे गर्ने र गराउने सहमति पश्चात् मात्र उनिहरुलाई छोडिएको प्रहरीले जनाएको छ । ती किशोरी बालिकाको बुवा नभएको, घरको आर्थिक अवस्था कमजोर भएकोले आफन्तले विवाह गरिदिन लागेको बुझिएको छ । वालविवाह कानुनी रुपमा निषेध गरिएको छ, जुन दण्डनिय अपराध मानिन्छ । घोराही उ.म.न.पा.को बालमैत्री नगर बनाउने लक्ष्यलाई लुकिछिपी रुपमा हुने यस्ता घटनाले समस्या पार्ने गरेको वडाध्य्क्ष पाण्डेले भन्नुभयो ।