भ्रमण वर्ष उद्घाटनको अन्तिम तयारी पूरा, भ्रमण वर्ष दशक मनाइने

  • १४ पुष २०७६, सोमबार २०:५४ मा प्रकाशित
  • काठमाडौँ – सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) औपचारिक शुभारम्भ गरिने नेपाल भ्रमण वर्ष २०२० को सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल भ्रमण वर्ष सचिवालयले आज पत्रकारसम्मेलन गरी भ्रमण वर्षको दशरथ रङ्गशालामा उद्घाटन हुने भव्य समारोहको अन्तिम तयारी गरिएको जनाएको हो ।
        
    राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागिएको नेपाल भ्रमण वर्षको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्नुहुनेछ भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन सातवटै प्रदेशका मुख्य स्थानमा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिने सचिवालयले जनाएको छ ।
        
    प्रदेश नं १ मा विराटनगरको रङ्गशाला, प्रदेश नं २ मा जानकी मन्दिर परिसर, प्रदेश नं ३ को चितवनको सौराहा, गण्डकी प्रदेशको लेकसाइट पोखरा, प्रदेश नं ५ को बर्दियाको ठाकूरद्वार, प्रदेश नं ६ को सुर्खेत बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा उद्घाटन हँुदैछ ।
        
    त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने सचिवालयले जनाएको छ । विभिन्न सांस्कृतिक झाँकी र प्रदर्शनीसहित उद्घाटन समारोहलाई भव्य बनाइनेछ । 

    पत्रकार सम्मेलनमा भ्रमण वर्षको नेतृत्व गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जनवरी १ तारिखमा काठमाडौँको दशरथ रङ्गशालामा भ्रमण वर्षको भव्य शुभारम्भ गरिने तथा सोही दिन सातै प्रदेशमा भ्रमण वर्षको उद्घाटनको आवश्यक तयारी पूरा गएको जानकारी दिनुभयो ।
        
    मन्त्री भट्टराईले गत साउन १५ गते मन्त्रालयको जिम्मेवारीमा आएदेखि नै अधिकांश समय नेपाल भ्रमण वर्षका लागि खर्चिएको र भ्रमण वर्षलाई सफल बनाउन १०० भन्दा बढी सङ्घसंस्थासँग सरकारी तथा सरोकारवाला निकायसँग छलफल र बैठक गरिएको बताउनुभयो । निजी क्षेत्र, गैरसरकारी संस्था, नेपालस्थित कूटनीतिक नियोग, सामाजिक क्षेत्र स्वयंमसेवी समूहलगायत क्षेत्रसँग मन्त्री भट्टराईले अन्तक्र्रिया गरी भ्रमण वर्षलाई सफल बनाइदिन अनुरोध गर्नुभएको थियो ।

    उहाँले सरकारले २० लाख पर्यटक भित्र्याउले लक्ष्यसहित नेपाल भ्रमण वर्षको घोषणा गरेको र यसबीचमा भएका छलफल पर्यटक भित्र्याउनेमा मात्र केन्द्रित नभई राष्ट्रिय एकता कायम गरी भ्रमण वर्षलाई कसरी राष्ट्रिय उत्सव र अभियानकै रूपमा मनाउन सकिन्छ भनेर सरोकारवालासँग छलफल गरिएको जानकारी दिनुभयो ।
    मन्त्री भट्टराईले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सरकारले पर्यटनलाई प्रमुख प्राथमिकताको क्षेत्रको रूपमा लिएको र प्रधानमन्त्रीको समृद्ध नेपाल सुखी नेपाली अवधारणालाई सार्थक तुल्याउने उपयुक्त माध्यम पनि पर्यटन क्षेत्र नै भएकाले यसको विकास प्रवद्र्धनमा आम नेपाली सक्रियरूपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
        
    उहाँले भन्नुभयो,“राष्ट्रिय एकता कायम गरेर यो भ्रमण वर्षलाई राष्ट्रिय उत्सव तथा राष्ट्रिय महाअभियानको रूपमा कसरी लैजान सकिन्छ र पर्यटनको क्षेत्रमा राखेका दीर्घकालीन योजना पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित भएका छौँ ।” उहाँँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रमुख आधार पर्यटनलाई बनाउन आर्थिक र सामाजिक असमानताको अन्त्य गर्दै राष्ट्रिय पूँजीको विकास गरेर समतामूलक समाज निर्माणमा पर्यटन क्षेत्रको योगदान बढाउनुपर्नेमा जोड दिनुभयो । 

    मन्त्री भट्टराईले भ्रमण वर्ष अभियानमा मुलुकलाई जुरुक्कै उठाएर विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको सन्देश दिनुभएको उल्लेख गर्नुभयो ।नेपाल पर्यटनका लागि संसारकै एक अद्वितीय पर्यटकीय गन्तव्य हो भनेर दुनियाँलाई थाहा दिनुका साथै विश्वभरिका लगानीकर्तालाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी दिनु पनि भ्रमण वर्षको मुख्य उद्देश्य भएको उहाँको भनाइ थियो ।

    क्यानेडानेपाल बाट

    Leave a Reply