बस्तीमा परालकै सिरक, परालकै ओछ्यान!

  • ९ पुष २०७६, बुधबार २१:१३ मा प्रकाशित
  • विरगञ्‍ज । मध्य तराईमा पुस लागेसँगै जाडो बढ्न थालेपछि अति विपन्‍न दलितको अहिले एउटै सहारा “परालकै ओढ्ना परालकै ओछ्यौना भएको छ ।

    गरीब तथा विपन्न दलित जाडोबाट बच्‍न दिउँसो आगोको सहारा लिए पनि रात परेपछि परालकै शरणमा पर्छन् । 
    बारा जिल्ला, तेलकुवामा रहेको मुसहर बस्तीका मानिसमा न्यानो कपडाको अभाव छ ।   एक सय ६० घरधुरी रहेको मुसहर बस्तीको अधिकांश घरका बालबालिका  थोत्रो लुगा लगाउँछन् र फोहरमैलामा खेल्छन् ।

    बस्तीमा जाडो छल्न कुनै उपाय नभएपछि उनीहरुले परालको आगो तापेर दिन गुजार्ने गरेको देखिन्छ । रात परेपछि जाडो छल्न उनीहरुले परालकै ओढ्ना र ओछ्योनाको सहारा लिने गरेका छन् । 
    “दुई छाक टार्न धौधौ हुन्छ, बच्चा नाङ्गै छन् केले जाडो छल्ने हो ? हाम्रा लागि लाने, खाने, जाडो छल्ने उपाय छैन”, स्थानीयवासी बाबुलाल माझी टाउकामा हात राखी पीडा पोख्छन्, “यसपालि मात्रै हो र हाम्रा लागि त प्रत्येक वर्ष जाडो दशा मात्र हुँदो रहेछ । बाध्य भएर हामीले परालकै ओढ्ना परालकै ओछ्यौना प्रयोग गर्ने गरेका छौँ । गाउँकै अन्य बस्तीमा जाडो छल्न सुकिला तथा न्यानो कपडाको प्रयोग हुने गरेको छ ।

    नयाँनयाँ लुगा, मीठो खानेकुराको चलन छ तर हाम्रो दलित बस्तीमा भने भात नै भए ठूलो कुरा हो” माझीले आफ्नो पीडा यसरी पोखे । 
    “सुकिला लुगा लाउने, राम्रो घरमा बस्ने कसलाई मन पर्दैन”, बस्तीका भरछिया माझी भन्‍छन्, “तर हामीले आफ्ना बालबालिकालाई जाडोबाट बचाउन उही परालको आगोको सहारा लिने गरेका छौँ ।” 
     
    अधिकांश बालबालिकाको शरीरभरि कपडा छैनन् । त्यहाँका बुढापाकाको एउटै भनाइ थियो, “हाम्रा बालबालिकाको बाँच्ने परिवेश यस्तै हो । नत पेटभरि खाना नै हुन्छ न त राम्रो तथा सुकिला कपडा नै हुन्छ । सबै ठूलाबडाहरु जाडो छल्न तातो लुगा लगाउँछन् तर हाम्रा घरमा चुल्हो बाल्ने स्थिति छैन ।

    छिमेकी गाउँमा जाडोबाट बच्न हिटरलगायत सामानको जोहो छ । तिनीहरुका  बालबालिका सुकिला कपडा लगाइरहेका छन तर हाम्रा बालबालिका जाडो छल्न परालको आगोको सहारा लिन बाध्य छन् । 

    “गत स्थानीय तहको चुनावको बेला त नेताहरु आएर ठूलाठूला भाषण गरेर गए तर मुसहर बस्तीको दयनीय र कारुणिक अवस्थालाई उकास्‍नेतर्फ कसैले ध्यान दिएन”,लोरिक माझीले आफनो पीडा पोख्दै भन्नुभयो, हाम्रो दैनिकी कसरी बितिरहेको छ भोट लिने नेताहरुले आजसम्म फर्केर हेरेका  छैनन् , हामी त भोट बैंक मात्र हौँ ।”
         
    बाराको सदरमुकाम कलैयाको बरियारपुर सडकखण्डको भुतही पुलदेखि करीब २ किमी दूरीमा रहेको मुसहर बस्तीको छेउमै खोला रहेकाले वर्षाको समयमा बस्ती जोखिममा पर्ने गरेको अधिकारकर्मी श्यामबाबु यादवले बताए । मजदूरीबाहेक कुनै रोजगारी नरहेकाले उनीहरुको जाडो छल्ने भरपर्दो माध्यम आगो नै हो ।  विपन्न तथा गरीब दलित बस्तीमा  आगो संस्कृतिको विकास हुँदै गएको छ । 
    सधैँभरि अभाव र पीडामा बाँचिरहेका मुसहरलाई फुसको छाप्रो तथा छानाविहीन घरमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै तनु माझी भन्छन्, “ न त घरमा अन्‍न छ न वस्त्र नै छ, हाम्रो लागि जाडो त काल भएको छ ।”  शिक्षाको कमीको कारण मजदूरी नै जीविकोपार्जन गर्ने माध्यम भएकाले सधैँभर साहुमहाजनको ऋणमा नै डुब्ने गरेका छन् । 
         
     प्रदेश सरकारले नै दलितलाई हेला गरेको दलित अधिकारकर्मी सिकेन्द्र पासवानको आरोप छ । सबैबाट अपहेलित दलितको अवस्था आजसम्म जस्ताको त्यस्तै रहेको उनी बताउछन् ।   आर्थिक विपन्नताका कारण आफ्नो समुदाय निकै पछाडि परे पनि राज्यले चासो नदिएको बस्तीका मुसहरहरु बताउँछन् । – रासस

    Leave a Reply