गोरखा – धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा भएको निशुल्क स्वास्थ्य शिविरमा ९४३ जनाले सेवा लिएका छन् ।
सोमबारबाट सुरु भएको शिविरमा पुरुषको तुलनामा दोब्बर महिलाले स्वास्थ्य जाँच गराएको धार्चे गाउँपालिकाले जानकारी दिएको छ ।धार्चे र चुमनुब्री गाउँपालिकाका विभिन्न स्थानबाट आएका ३४० पुरुष र ६०३ महिलाले गाउँमा पुगेका स्वास्थ्यकर्मीहरुलाई आफ्नो समस्याबारे जानकारी गराउँदै आवश्यक परामर्श समेत लिएका छन् ।
जसमध्ये २०८ जनाले भिडियो एक्सरे सेवा, २१५ जनाले स्त्रीरोग सेवा र १८६ जनाले पाठेघरको भिइआर टेष्ट गराएको धार्चे गाउँपालिकाका स्वास्थ्य संयोजक अमृतबहादुर घलेले जानकारी दिए ।
पाठेघरको भिइआर टेष्ट गराएका मध्ये २ जनामा पोजेटिभ, २ जनामा तेश्रो डिग्रीको आङ्घस्ने रोग सम्बन्धी समस्या देखिएको चिकित्सकहरुले जानकारी दिएका छन ।
यसैगरी १ जनाका फिस्टोला, १२८ जनाको नाककान घाँटी सम्बन्धी जाँच, ११८ जनाले छालारोग परिक्षण, २६५ जनाको हाडजोर्नी सम्बन्धी समस्या, १७७ जनाले प्रयोगशाला सेवा, २४ जनाको आँखामा मोतिबिन्दुको अपरेसन, १ जनाको सामान्य शल्यक्रिया र २०३ जनाले सामान्य चेकजाँच गराएका छन् ।
स्वास्थ्य परिक्षण गरिएका सबै विरामीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण समेत गरिएको घलेले बताए । गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, धार्चे गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र गोरखा अस्पतालको सयुक्त आयोजनामा शिविर भएको हो ।
उक्त शिविर सञ्चालनका लागि रेडक्रश, लायन्स लगायत विभिन्न सामाजिक संघसस्थाले सहयोग गरेका छन् । सोमबार गाउँपालिका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा भएको एक कार्यक्रमका वीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका थिए ।
साभार गोर्खासमचार