–वसन्त अनुभव-
दाङ, २९ मंसिर / दंगिशरण गाउँपालिका वडा नं.२ मा नवनिर्मित स्वास्थ्यचौकी भवनको आज एक कार्यक्रम बिच उद्घाटन भएको छ । दंगिशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरीले रिबन काटेर भवनको उद्घाटन गर्नु भएको हो ।
उक्त भवन निर्माण संगै गोल्टाकुरी निवासी स्थानीयहरु स्वास्थ्य समस्या पर्दा नदी पार गरि हेकुली र बजारसम्म धाउनुपर्ने बाध्यताबाट मुक्ति हुने विश्वासका साथ हर्षित भएका छन ।
सहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय घोराही दाङको बोलपत्र प्रक्रिया मार्फत ठेक्का प्राप्त निर्माण कम्पनी श्री जुद्ध एण्ड पूर्ण निर्माण सेवा कम्पनी, तुलसीपुर दाङले आज भन्दा २ वर्ष अघि ठेक्का संझौता गरि केन्द्र सरकारको १ करोड ७७ लाखको लागतमा हालै निर्माण सम्पन्न गरेको हो । कम्पाउण्ड बाल सहितको उक्त भवन २ तले आर सि.सि. युक्त रहेको छ भने त्यसमा ट्वाइलेट, बाथरुम सहित १४ वटा कोठा रहेका छन ।
प्रमुख अतिथिको आसन बाट बोल्दै गा.पा.अध्यक्ष चौधरीले अब देखि यस स्वास्थ्यचौकीबाट ल्याब सहितको गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गरिने र संस्थामा कुनै भौतिक सामग्रीको कमि हुन नदिने समेत प्रतिबद्धता जनाउनु भयो । सो अवसरमा अतिथिको आसनबाट बोल्दै गा.पा.उपाध्यक्ष पिमा कुमारी खड्काले स्वास्थ्य चौकीमा छिट्टै खानेपानीको व्यवस्था गरिने बताउनु भयो ।
दंगिशरण गा.पा. वडा नं.२ का अध्यक्ष तुलसीराम देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य चौकि गोल्टाकुरीका हेल्थ असिस्टेन्ट प्रदिप योगीले गर्नु भएको थियो।