नगल्ने फोहोर किन्दै घोराही उपमहानगरपालिका

  • १३ पुष २०७६, आईतवार २०:४९ मा प्रकाशित
  • वसन्त अनुभव-
    घोराही, १३ पुस/घोराही उपमहानगरपालिकाले नगल्ने फोहोर खरिद गर्ने भएको छ । नगरको बाताबरण तथा विपद् व्यवस्थापन समिति अन्तरगतको सरसफाई स्वच्छता शाखाले आज आयोजना गरेको समिक्षा कार्यक्रममा नगल्ने फोहोरहरुको बर्गिकरण गरेर खरिद गर्ने निर्णय गरेको हो ।
    कपडा र पुनः प्रयोगमा आउने प्लाष्टिकजन्य फोहोरलाई प्रतिकिलो ५ रुपैयाँ र पुनः प्रयोगमा नआउने बस्तुलाई प्रतिकिलो ३ रुपैयाँमा खरिद गर्ने निर्णय भएको हो । प्रत्येक वडाका टोल विकास संस्थाले नगल्ने फोहोर निश्चित ठाउँमा संकलन गर्ने र उपमहानगरले खरिद गरेर बाहिर विक्रि गर्ने योजना बनाएको छ ।

    फोहोरबाट संकलित रकमलाई टोल विकास संस्थाले पूर्ण सरसफाईको कार्यक्रम अन्तरगत साबुन, ब्रस, हरपिक खरिदमा लगाउने नीति लिईएको समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिनुभयो । नगल्ने फोहोर खरिद गर्न नगरले चालु आर्थिक बर्षमा ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै उपमहानगरले प्लाष्टिकका झोलालाई निरुत्साहित गर्दै कागज र फाईबरका झोलालाई प्रोत्साहन गर्ने समेत नीति अघि सारेको उहाँको भनाई छ ।

    कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले गल्ने फोहोरलाई खेतबारीमै मलकोरुपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ । साथै फोहोरले वातावरण प्रदुषण गर्ने, मानवस्वास्थ्यमा गंभिर असर गर्ने भएकोले यसको उचित व्यवस्थापन गर्नु पर्ने मुख्य चुनौती रहेको उहाँले बताउनु भयो ।साथै नगरको लक्ष्य भनेको “जिरो ल्याण्डफिल, जिरो वेष्ट” भएको जानकारी दिनुभयो । उपप्रमुख सीता सिग्देल न्यौपानेले लगानी घटाउदै फोहोरलाई पैसा सँग जोडेर व्यवस्थापनमा लाग्नु पर्ने बताउनुभयो ।

    त्यसैगरी, सरसफाई स्वच्छता शाखा प्रमुख प्रेम केसीले गल्ने र नगल्ने फोहोरलाई अर्थ सँग जोडेर व्यवस्थापन गर्ने बताउनुभयो । साथै नगर क्षेत्रबाट निस्कीएका गल्ने फोहोरबाट घोराहीमा ग्यास र मल उत्पादनको तयारी भैरहेको छ ।
    सोसल मिडियामा शेयर

    Leave a Reply