–वसन्त अनुभव-
तुल्सिपुर,३ पौष/ दाङ जिल्लाको तुल्सिपुर बजारमा बिहीवार बिहान करिब पौने १० बजेतिर ट्याक्टरले ठक्कर दिदा एक छात्राको मृत्यु भएको छ ।

तुल्सिपुर-सल्यान सडकखण्डको तुल्सिपुर उ.म.न.पा.-५ गोदामघर नजिक स्कुल जानका लागि सडक छेउबाट हिडिरहेकी छात्रालाई उत्तर तर्फ गोठीखोलाबाट तुल्सिपुर बजारतर्फ तिब्र गतिमा आएको रा१त १४३५ नं. को ट्याक्टरले ठक्कर दिदा तुलसी आवासीय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीय बिजिता के.सी. को मृत्यु भएको हो ।
टाउकोमा गंभिर चोट लागेर घाइते के.सी.को राप्ती प्रादेशिक अस्पताल, तुल्सिपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । मृतक के.सी. तुल्सिपुर उपमहानगरपालिका वडा नं. ७ शिवनगर निवासी बेद बहादुर के.सी. कि छोरी भएको बुझिएको छ ।

उक्त दुर्घटनामा तुलसी आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीय छात्रा मनिषा वली पनि घाइते भएको र उनको उपचार राप्ती प्रादेशिक अस्पताल, तुल्सिपुरमा भइरहेको छ । ट्याक्टर र चालक भने प्रहरी नियन्त्रणमा रहेको बुझिएको छ ।

घटनापश्चात सडकमा उत्रेका तुलसी आवासीय मा.वि.का आक्रोशित विद्यार्थिहरुले नारा लगाउदै तुल्सिपुर विरेन्द्र चोक लगायतका सडक अवरुद्ध पारेका छन । दिनभर तुलसिपुर बजार अस्तव्यस्त र ठप्प रहेको छ भने पसलहरु बन्द रहेका छन । आक्रोसित भिडले दोषीलाई कारवाहीको माग गर्दै चोक सडकमा टायर समेत बालेका थिए ।