–वसन्त अनुभव-
घोराही, २७ मंसिर, घोराही उपमहानगरपालिकाद्धारा जेष्ठ नागरिक स्वास्थ्य हेरचाह अन्तर्गत घरभेट कार्यक्रम सुरु गरेको छ । जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँच तथा उपचार कार्यक्रम सुरु गरेको हो। उपमहानगरका १९ वटै वडाका जेष्ठ नागरिकहरुको घरमै पुगेर उपचार, औषधी बितरण, परामर्श गर्ने गरी जेष्ठ नागरिक स्वास्थ्य हेरचाह घरभेट कार्यक्रम सुरु गरिएको हो ।
आज वडा नम्बर ४ को गोग्ली स्थित शान्तिनगर टोलका ९१ बर्षिय मुमाकान्त आचार्य र उहाँका श्रीमती ८४ बर्षिय भुमा आचार्यको घरमै पुगेर स्वास्थ्यकर्मीको टोली स्वास्थ्य जाँच गरेका छन् ।
स्वास्थ्यकर्मीहरु नारायण प्रसाद शर्मा, केशब धिताल सहितको टोली उहाँहरुको स्वास्थ्य जाँच गर्नुभएको छ । सरकारले जेष्ठ नागरिक भत्ता बृद्धी गर्दै लगेको र घरमै आएर स्वास्थ्य जाँच गर्दा आफुहरु निकै खुसी भएको मुमाकान्त आचार्यले बताउनुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले जेष्ठ नागरिकहरुको सम्मानका लागि घरमै स्वास्थ्य जाँच गर्ने अभियानको सुरुवात गरेको जानकारी दिनुभयो । जेष्ठ नागरिकको सम्मानले मात्रै नयाँ पुस्ताले सामाजिक रुपान्तरणको कामलाई प्रभावकारी बनाउन सक्ने उल्लेख गर्नुभयो ।
परिवारले समेत जेष्ठ नागरिकको सेवा सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन पनि उपमहानगरले घरमै पुगेर स्वास्थ्य जाँचको कार्यक्रम ल्याएको बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष भिमबहादुर सार्की, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, स्वास्थ्य चौकी लक्ष्मिपुरका उपाध्यक्ष मुनाल घिमिरे लगाएतकाले जेष्ठ नागरिकको अनुभव, सिप र ज्ञानले नयाँ पुस्तालाई सृजनशिल बनाउने उत्प्रेरित गर्ने बताउनुभयो ।
घोराही उपमहानगरले ५ वटा स्वास्थ्यकर्मीको टोलीले जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँचको कार्यक्रम सुरु गरेका छन् । चालु आर्थिक बर्षमा उक्त कार्यक्रम सञ्चालन र औषधी खरिदका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन भएको उपमहानगरको भनाई छ ।