–वसन्त अनुभव-
घोराही, १३ पुस/जेष्ठनागरिक भनेका जिउँदा इतिहास हुन । उनिहरुले आफ्नो लामो जीवन भोगाइबाट प्रत्यक्ष हासिल गरेका ज्ञानगुण र सीपहरु युवापुस्ताका लागि मार्गदर्शक बन्दछ । बुढेसकाल लागेसँगै वृद्धहरुमा विभिन्न शारीरिक, मानसिक समस्याहरु देखिने गर्दछ । तसर्थ जेष्ठनागरिकहरुको स्वास्थ्यको विशेष ख्याल राख्नु पर्दछ ।
यसै सिलसिलामा राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर दाङले घोराही उपमहानगरपालिका १५ उत्साह टोलमा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा महिनाको दुई पटक अर्थात पाक्षिकरुपमा गाउँघर/शहरी क्लिनिक सञ्चालन सुरु गरेको छ ।
प्रदेश नं.५, सामाजिक विकास मन्त्रालय अन्तरगतको राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर दाङले प्रत्येक महिनाको १३ र २८ गते जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्यजाँच सहित औषधोपचारको सुरुवात गरेको हो । आज जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरि क्लिनिकको सुभारम्भ गरिएको हो ।
आज पहिलो दिन ५५ जना जेष्ठ नागरिकको स्वास्थ्य उपचार गरिएको छ । अधिकांश जेष्ठ नागरिकहरुका उच्च रक्तचाप, सुगर, ग्याष्टिक, पाईल्स, पिसावको समस्या र कब्जीयतको समस्या देखिएको चिकित्सालयका डा. कैलाश न्यौपानेले जानकारी दिनुभयो ।
स्वास्थ्य जाँच सँगै विरामीहरुलाई परामर्श र आयुर्बेदिक औषधी निशुल्करुपमा बितरण गरिएको थियो । जेष्ठ नागरिकको उपचारमा डा. मदनकुमार विसी, डा. कैलाश न्यौपाने, डा. सभ्यता पन्थी र डा. शारदा गौतम संलग्न रहनुभएको थियो । चिकित्सालयले गाउँघर/शहरी क्लिनिक कार्यक्रम अन्तर्गत घोराहीमा एक बर्ष सम्म यस प्रकारको स्वास्थ्यजाँच तथा उपचार सेवा सञ्चालन गरिने जनाएको छ ।
चिकित्सालय प्रमुख डा. मदनकुमार विसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले जेष्ठ नागरिकको सम्मानमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । साथै नगरले प्रत्येक महिना जेष्ठनागरिकको घर घरमा डक्टर तथा स्वास्थ्यकर्मीहरु पुगेर स्वास्थ्यजाँच तथा उपचार गर्ने कार्यको सुरुवात गरिसकेकोमा यस कार्यक्रमले त्यसलाई टेवा पुग्ने उहाँले बताउनु भयो ।
जेष्ठ नागरिकको स्याहार, माया, संरक्षण परिवारले मात्रै नभई सरकारले समेत गरेको भन्दै जेष्ठ नागरिकहरुलाई सम्मानका साथ बाँच्ने बाताबरण बनाउन आबस्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा दिवासेवा केन्द्रका सल्लाहकार नारायणप्रसाद शर्मा, केन्द्रका अध्यक्ष पुरुषोत्तम खनालले जेष्ठ नागरिकहरु सिप, अनुभब र ज्ञानका खानी भएको भन्दै माया र संरक्षणको आशामा बसेको बताउनुभयो ।