मंसिर २८ गते चितवनको भरतपुर–२९ जुगेडी स्थित खोटाङ्ग सगरमाथा होटल एण्ड गेष्ट हाउसका सञ्चालक जंगबहादुर क्षेत्रीलाई वेश्यावृत्ति कसुरमा पक्राउ गरिएको छ ।
युवतीहरुलाई अण्डरग्राउण्ड कोठामा लुकाएर वेश्यावृत्तिमा लगाउँदै आएका होटल सञ्चालक क्षेत्री चेलीबेटी सप्लाई गर्ने गिरोहको नामुद नाइके पनि रहेको पाइएको छ ।
यसैगरि क्षेत्रीसँगै सोही ठाँउमा बस्ने निर्मला थापा क्षेत्री र सुनसरी धरान–८ बस्ने रोशिका राईलाई वेश्यावृत्तिमा संलग्न रहेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार सम्मेलनमार्फत् जानकारी दिए
मल्लले गत कार्तिक २८ गते बेलुका काठमाडौँ डेरा गरी बस्ने २२ वर्षीया युवती र १४ वर्षीया बालिका आफन्तको सम्पर्कमा नआएपछि उनीहरुका अभिभावकले प्रहरीमा खबर गरेपछि प्रहरीले खोजतलास कार्य सुुरु गरेको थियो ।
खोजतलास गर्ने क्रममा २२ वर्षीया युवतीले आफन्तलाई फोन सम्पर्क गरी आफूहरु जुगेडीको एक होटलमा बन्धक बनाइ राखेको गोप्य सूचनाका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा प्रहरीले निज पीडित युवती र बालिकालाई उद्धार गरी तीन जनालाई पक्राउ गरिएको जानकारी दिए ।
एसपी मल्लले पीडित युवती र बालिकाले धरान–८ बस्ने २४ वर्षकी रोशिका राईले काठमाडौँ बस्ने क्रममा दुवै जनालाई ललाइफकाइ घुम्न जाऊँ भनी जुगेडी ल्याएर जबर्जस्ती वेश्यावृत्तिमा लगाएको बयान दिएको बताए ।
प्रहरीले अनुसन्धानका क्रममा खोटाङ्ग सगरमाथा होटल एण्ड गेष्ट हाउस नामक होटलमा गोप्य अण्डरग्राउण्ड कोठा बनाइ भूइँतला जाने बाटो बनाएको थिए । सोहि बाटोलाई टायलले छोपी माथि अन्य सामान राखेर सामान्य भूइँजस्तो देखिने बनाएर पीडितहरुलाई बन्धक बनाएर ग्राहक आएका बखत वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ ।
यसैबीच, पीडितका आफन्तले होटल सञ्चालक जंगबहादुर क्षेत्री, निर्मला थापा क्षेत्री र रोशिका राईविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा किटानी जाहेरी दिएका छन् । आफन्तकै जाहेरीलाई प्रमाणित गर्नेगरी पीडितहरुले बयान दिएकाले निज तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी जिल्ला अदालतको अनुमतिमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
नेपालको कानुनमा मानिसलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउनेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद सजाय र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
श्रोत ईच्छाकामनान्युज