३ मंसिर, चितवन । बोक्साको आरोपमा इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्षमाथि कुटपिट भएको छ । उनलाई कालोमोसो मोसो दलेर मानव मलमुत्र खुवाउने प्रयाससमेत भएको छ ।
वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले कुटपिट गर्दै जुत्ताको माला समेत लगाइदिएका हुन् ।जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो । त्यही क्रममा उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् ।
उनीहरुले बोक्सा भएको आरोप लगाउँदै मलमुत्र पनि खुवाउन खोजेका थिए । ‘उनीहरुले दिसापिसाब पनि खुवाउँछौं भनेका थिए, मैले प्रतिकार गरेँ,’ वडाध्यक्ष प्रजाले अनलाइनखबरसँग टेलिफोनमा भने, ‘घटना भएको बेला मसँग २/३ जना दाजुभाइ हुनुहुन्थ्यो, उहाँहरुमाथि पनि कुटपिट भएको छ ।’
घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेेको छ ।
नेकपाद्वारा कारबाहीको माग
पञ्चबहादुर चेपाङ इच्छाकामना गाउँपालिका वडानम्बर २ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवसमेत हुन् । यसैबीच नेकपाले विज्ञप्ति जारी गर्दै वडाध्यक्ष प्रजालाई कांग्रेस कार्यकर्ताहरुले दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेको छ ।
नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले जारी गरेको संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेसको प्रजातान्त्रिक कुसंस्कार आम जनताबीच छर्लङ्ग देखिएको छ ।’
यस्तै नेपाल चेपाङ संघका अध्यक्ष भिमबहादुर चेपाङले पनि विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।
श्रोत अनलाईनखबर