
बसन्त अनुभब
पोखरा महानगरपालिका वडा नं. १० औद्योगिक क्षेत्र, मिलनटोल बस्ने ममता मल्ल ठकुरी बिहिवार मृत अवस्थामा भेटिएकी छिन । उनि घरकै सिलिङ फ्यानमा पासो लगाई झुण्डीएको अवस्थामा भेटीएकी थिइन ।
२१ वर्षको लाउलाउ खाउखाउ भन्ने कलिलो उमेरमा उनले आमा बुवा बहिनी, छोरी लगायत आफन्त सबैलाई छोडेर धेरै टाढा हुन पुगिन । उनले आफू मर्दा आफ्नो ३ वर्षकि छोरीको के हाल होला भन्ने एकपटक पनि सोचिनन । आफुँलाई ९ महिना कोखमा राखेर यस धर्तिमा जन्मदिने अनि हुर्काई बढाई काबिल बनाउने आमाबुवाको अवस्था कस्तो होला भन्ने रत्तिभर पनि सोचिनन । यद्यपि उनको मृत्यु आत्महत्या हो वा हत्या त्यो अनुसन्धानको विषय हो । प्रहरीले एक दिन सत्यतथ्य अवश्य बाहिर ल्याउने छ ।
माइती पक्षका आफन्तकानुसार ममताको विवाह आज भन्दा ५/६ वर्ष पहिले मनिष मल्लसँग भएको थियो । केटा र केटी बिच शुरुमा लभ परेको थियो र पछि मागी विवाह भएको थियो । शुरु शुरुमा उनिहरुको सम्बन्ध सुमधुर रहेको थियो । विस्तारै उनीहरुको वैवाहिक जीवनमा दरार आउन थाल्यो । उनलाई घरमा दाईजो नल्याएको भनेर मानसिक यातना दिन थालियो । घरमा खटपट हुन थाल्यो । ममता घरायसी र पारिवारिक टेन्सन र टर्चरका कारण मनिष सँग डिभोर्स गर्ने सम्मको निर्णयमा पुगिसकेकी थिइन । उनले पटक पटक आफ्नो बुवा दीपक शाही साउदीबाट फर्के पछि मनिषलाई डिभोर्स दिने कुरा गर्ने गर्दथिन ।
ममताको लोग्ने मनिष दुबईमा सेकुरिटी गार्डको काममा गएका थिए । उनी करिब ३ महिना अघि मात्र छुट्टीमा घर आएका थिए । घरमा मनिषका अलावा डिभोर्स गरि माइत बस्न आएकी मनिषकि दिदी, आमा बस्ने गर्दथे । मनिषका बुवा भारतीय सेनामा भएकोले कार्यक्षेत्रमै कार्यरत छन । ममताको ३ वर्षकि छोरी छिन जुन विद्यालयमा पढ्न जाने गर्छिन ।
पारिवारिक श्रोतकानुसार गत बिहिवार घटनाको दिन ममताकी आमाजु डिउटीमा गएकी थिइन । आमा आफन्तको बिबाहको निम्तो खान गएकी थिइन । घरमा मनिष र ममतामात्र थिए । ममताले करिब बाह्र साढे बाह्र बजे तिर स्कुलमा गई आफ्नी छोरीलाई खाजा खुवाएर र स्कुल फी तिरेर फर्किएकी थिइन । लोग्ने स्वास्नी एउटै कोठामा थिए । मनिषका अनुसार उ सुतेर निदाएको र ब्युझँदा उसकी श्रीमती ममता आफ्नै सलले सिलिङ्ग फ्यानमा पासो लगाई झुन्डिएर मरेको अवस्थामा भेटिएकि थिइन । त्यसपछि मनिषले ममताकी बहिनी (साली)लाई फोन गरेर ममता मरेको जानकारी गराएका थिए । ममताकी बहिनिका अनुसार मनिषले फोनमा आफ्नो क्यान्सर पीडित हजुरबुवाको पीडा देख्न नसकेर ममताले आत्महत्या गरेकी भनेर सालिलाई बताएका थिए ।
लासको प्रत्यक्षदर्शीकानुसार ममताको शरीरभरि निलडाम भएको र टाउकोमा टुटुल्को उठेको देखिएको थियो ।
ममताको शरीरमा निलडामहरु भेटिनु, टाउकोमा टुटुल्को उठेको भेटिनुले ममताले आत्महत्या गरेको नभइ हत्या गरिएको आफन्तको दावी रहेको छ । उनका अनुसार ममता ठुलो मनको मान्छे भएकोले आत्महत्या कुनै पनि हालतमा नगर्ने दावी रहेको छ । सँगै रहेको लोग्नेले श्रीमती झुन्डिएको थाहा नपाउनु, प्रहरीले हतार हतार लास उठाउनु, घटनाको समयमा सँगै रहेका उनका लोग्नेलाई गिरफ्तार नगर्नु, प्रहरीले पीडितको निवेदन लिन नमान्नु/ आलटाल गर्नु जस्ता कुराले घटना हत्या भएको पुष्टि माइती पक्षका आफन्तको रहेको छ ।
घटना जे जसरी घटेको वा घटाइएको भए पनि कलिलै उमेरकी महिलाको अकाल मृत्यु भएको छ। बुवाआमाको कोख सदाका लागि रित्तिएको छ । ३ बर्षे बच्ची आमाबिहिन टुहुरी भएकी छिन । ममताबिहिन हुन पुगेकी छिन । उनको शिरबाट मातृछाया हटेको छ । जतिसक्दो चाडो सत्यतथ्य बाहिर ल्याइनु पर्छ । जो कोहि दोषि ठहरे दोषीलाई कडाभन्दा कडा कार्वाही गर्नु पर्छ । एउटि टुहुरी छोरिले आमा नपाए पनि मृत आत्माले शान्ति पाउनेछ ।