१२ पुष, काठमाण्डौं । शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल(डिआइजी)सहितको टोली सडक अनुगमनमा थियो । टोलीमा काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । काठमाडौँको कमलादीस्थित गणेशमन्दिर नजिक सडकछेउमा बन्दोबस्तीको ओढ्ने ओछ्याउनेसहित एक दम्पत्ति सुत्ने तरखरमा थिए । चिसोका कारण खोकी लागेकाले श्रीमती औषधि खाँदै त श्रीमान् मदिरामा लठ्ठ भेटिए ।
प्रहरी र अभियानकर्मीले उनीहरुलाई फकाउँदै सडकमा नबस्न अनुरोध गरे । महिला आश्रममा जान मानिनन् । उनले मोबाइल उठाउँदै कुनै एक व्यक्तिलाई फोन गरेजस्तो गरेर आफूलाई लैजान लागेको कुरा सुनाइन् । नमाने जसरी पनि लैजाने प्रहरीले अडान कसे । महिलाले भनिन् “भोलि आफ्नै घर जान्छौँ, आज छाडी दिनुस् ।” यसरी उनले अनुरोध गरेको यो तेस्रो पटक थियो ।
सहज रुपमा उठ्न नमानेपछि प्रहरी र अभियानकर्मीले उठाउने प्रयास गर्दागर्दै उनले सिरानबाट चक्कु निकालिन् । “म पनि इन्सपेक्टरको छोरी हुँ, ल आइज त मेरो नजिक, सबैलाई सिध्याउँछु, पुलिसलाई नि हान्छु”, उनी चक्कु ताक्दै घुम्न थालिन् । अश्लिल शब्दसमेत प्रयोग गरिन् । सामुन्य रहनुभएका नायब महानिरीक्षक पोखरेल पनि छक्क परे । एकछिन त सबै अक्क न बक्क भए ।
गाडीमा बसिसकेका श्रीमान्लाई फिर्ता ल्याई दिने शर्त राखेपछि उनले चक्कु थन्याइन् । अभियानकर्मीले चक्कु खोसेपछि बल्ल उनी आश्रम जान तयार भइन् । घर धादिङको नौबिसे बताउने दम्पति मन्दिरमा मागेर बस्ने गरेको निक्कै लामो समय भइसक्यो । स्थानीयका अनुसार यो दम्पति दिउँसोमा विभिन्न अश्लिल शब्द भनेर मानिसलाई थर्काउने र हल्लाखल्ला गर्ने मध्यका प्रमुख थिए ।
संसारन्युज बाट