• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: राप्ती साहित्य परिषद

साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन तथा समीक्षा सम्पन्न

  • १ असार २०८३, सोमबार ०५:३६ मा प्रकाशित
  • घाेराही, जेठ ३१। साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन तथा समीक्षा कार्यक्रम आइतबार नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरुषोत्तम खनाल, उत्तमकृष्ण मजगैँया र प्रा. डा. लेखनाथ आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए।

    कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, विशिष्ट अतिथिहरू तथा अन्य अतिथिहरूले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको कृतिको समीक्षा साहित्यकार पदमप्रसाद शर्माले प्रस्तुत गरेका थिए।

    कृतिको समीक्षा गर्दै साहित्यकार पदमप्रसाद शर्माले ‘मनका उद्गार’ केवल एउटा पुस्तक मात्र नभई लेखकको जीवनभोगाइ, पारिवारिक इतिहास, वंशपरम्परा, सामाजिक अनुभव र भावनात्मक अभिव्यक्तिको दस्तावेज भएको बताए। उनले पुस्तकको शीर्षकदेखि संरचना, आवरण र विषयवस्तुसम्मले पाठकलाई आकर्षित गर्ने उल्लेख गर्दै यस कृतिले लेखकको मनभित्रका अनुभूति, स्मृति र जीवनदर्शनलाई शब्दमार्फत अभिव्यक्त गरेको धारणा राखे।

    उनले कृति दुई खण्डमा विभाजित रहेको जानकारी दिँदै पहिलो खण्डमा धौलु वंशको इतिहास, पिता बलभद्र उपाध्यायको जीवनी, मावली पक्षको परिचय तथा वंशवृक्षसम्बन्धी सामग्री समेटिएको बताए। दोस्रो खण्डमा समावेश २५ वटा कविताले पारिवारिक मूल्य, मातृभूमिप्रेम, प्रकृतिप्रेम, शिक्षा, राष्ट्रियता, स्वाभिमान, सामाजिक उत्तरदायित्व तथा मानवीय संवेदनाका विविध पक्ष उजागर गरेको उनको भनाइ थियो।

    समीक्षक शर्माले लेखक माधवप्रसाद न्यौपानेलाई कर्मशील, निष्ठावान, साहसी र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा चित्रण गर्दै शिक्षण, सामाजिक आन्दोलन तथा राजनीतिक चेतनाको क्षेत्रमा उनले पुर्‍याएको योगदानको समेत चर्चा गरे। उनले पुस्तकलाई लेखकको मात्र नभई समग्र परिवार, आफन्तजन तथा लेखकलाई चिन्ने सबै व्यक्तिहरूको साझा अनुभूति र भावनाको अभिलेखका रूपमा व्याख्या गरे।

    कार्यक्रममा आफ्नो धारणा राख्दै कृतिकार माधवप्रसाद न्यौपानेले पुस्तक प्रकाशनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, प्रेरणा र हौसला प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरे। उनले आफ्ना दिवंगत पिता–माताप्रतिको श्रद्धा, सम्मान र भावनात्मक सम्बन्ध नै पुस्तक लेखनको मुख्य प्रेरणा बनेको बताए।

    उनले साहित्य, भाषा र संस्कृतिको महत्वबारे चर्चा गर्दै शिक्षा, ज्ञान, अध्ययन, चिन्तन र विश्लेषणबाट मात्रै व्यक्तिको बौद्धिक तथा नैतिक विकास सम्भव हुने धारणा व्यक्त गरे। आफ्नो जीवनका अनुभव, पारिवारिक इतिहास, सामाजिक गतिविधि तथा मनका भावनालाई समेटेर कृति तयार गरिएको उल्लेख गर्दै पुस्तकलाई आफ्ना पिता–माताप्रति समर्पित गरेको बताए।

    प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले पूर्वीय सभ्यताको मूल आधार नै पुर्खा, परिवार र संस्कृतिप्रतिको सम्मान भएको उल्लेख गर्दै ‘मनका उद्गार’ ले त्यसै मूल्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताए। उनले भौतिक विकाससँगै मानवीय मूल्य, नैतिकता र पारिवारिक सम्बन्धलाई जोगाउनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कृतिहरूले समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने विश्वास व्यक्त गरे।

    उनले माधवप्रसाद न्यौपानेले आफ्नो परिवार, समाज, शिक्षण पेशा, सामाजिक योगदान र जीवनका विविध पक्षलाई समेटेर नयाँ पुस्तालाई प्रेरणा दिने काम गरेको बताए। परम्परागत मूल्य र आधुनिक सोचको सन्तुलन कायम गर्दै उन्नत समाज निर्माणमा साहित्यको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो।

    कार्यक्रमका सभाध्यक्ष तथा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीले परिषद्ले नियमित रूपमा एकल रचना वाचन, कृति विमोचन, पुस्तक समीक्षा, छन्द संरक्षण तथा विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। साहित्यिक सृजनालाई प्रोत्साहन गर्ने, नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने तथा साहित्यिक वातावरण सुदृढ बनाउने उद्देश्यका साथ परिषद् निरन्तर सक्रिय रहेको उनले बताए।

    कार्यक्रममा बाेल्दै अन्य वक्ताहरूले ‘मनका उद्गार’ कृतिले परिवार, पुर्खा, संस्कार, शिक्षा र सामाजिक मूल्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताए। कृतिले लेखक माधवप्रसाद न्यौपानेका जीवनअनुभव र भावनालाई समेट्दै नयाँ पुस्तालाई सकारात्मक सन्देश दिएको उल्लेख गर्दै वक्ताहरूले लेखकलाई बधाई तथा आगामी साहित्यिक यात्राको सफलताको शुभकामना व्यक्त गरेका थिए।

    कार्यक्रममा साहित्यकार, पत्रकार, शिक्षक, समाजसेवी, लेखकका आफन्तजन तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। 

    राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परिषद्की कोषाध्यक्ष सुशीला आचार्यले गर्नुभएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged राप्ती साहित्य परिषद, वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    ‘भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

  • १० जेष्ठ २०८३, आईतवार १९:५३ मा प्रकाशित
  • जेठ १० दाङ
    दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार शरद गौतमद्वारा रचित मुक्तक सङ्ग्रह ‘भावनाका लहर’को भव्य रूपमा विमोचन गरिएको छ। राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङको आयोजनामा पत्रकार महासङ्घ दाङको सभाहलमा उक्त विमोचन समारोह सम्पन्न भएको हो।
    राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैया प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल उपस्थित हुनुहुन्थ्यो।

    विमोचित कृति ‘भावनाका लहर’ माथि टिप्पणी गर्दै प्रमुख समीक्षक डा. हिमलाल पन्थीले सङ्ग्रहभित्रका मुक्तकहरूले समसामयिक समाजको यथार्थ ऐना प्रस्तुत गरेको बताउनुभयो। समीक्षक डा. पन्थीले भन्नुभयो,
    “यी मुक्तकहरूमा सामाजिक विकृति र विसङ्गतिमाथि कडा प्रहार गरिएको छ। वर्तमान समयमा पारिवारिक विखण्डन र आध्यात्मिक चेतनाको कमीका कारण मानिसहरू कसरी मानसिक तनाव अवस्थासम्म पुगिरहेका छन् भन्ने कुरालाई यस कृतिले बडो मार्मिक ढङ्गबाट उजागर गरेको छ। लेखकले जीवनका आफ्ना भोगाइ र अनुभूतिहरूलाई सरल तर गम्भीर रूपमा समेट्नुभएको छ।”

    कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका व्यक्तित्वहरूले कृतिको सफलता र स्रष्टाको साहित्यिक यात्राको निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । पत्रकारहरूको तर्फबाट राप्ती पोष्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक शरद अधिकारीले
    साहित्यकारहरूको तर्फबाट लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपानेले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। त्यस्तै अन्य अतिथिहरू राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पदमप्रसाद शर्मा तथा नेपाल संस्कृत विश्वविद्यालय, संस्कृति विभागका प्रमुख डा. टीकाराम उदासीले कृतिको साहित्यिक मूल्य र समाजमा यसले दिने सकारात्मक सन्देशबारे चर्चा गर्नुभयो।
    संस्थाको तर्फबाटराप्ती साहित्य परिषद्का उपाध्यक्ष सुरेश कुमार पाण्डेले पनि स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको थियो।
    कार्यक्रमको समापन गर्दै अध्यक्ष यम रेग्मीले दाङको साहित्यिक श्रीवृद्धिमा शरद गौतमको यो कृतिले महत्त्वपूर्ण इँटा थपेको उल्लेख गर्नुभयो। कार्यक्रममा परिवारका तर्फबाट उमङ्ग अधिकारीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव घनश्याम केसीले गर्नुभएको थियो।
    उक्त विमोचन समारोहमा उल्लेख्य सङ्ख्यामा पत्रकार, साहित्यकार, साहित्य अनुरागी, शिक्षाप्रेमी, समाजसेवी तथा मानवअधिकारकर्मी लगायतको गरिमामय उपस्थिति रहेको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged यम रेग्मी, राप्ती साहित्य परिषद, वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    कवि घनश्याम अस्तित्वको कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा सम्पन्न

  • २६ बैशाख २०८३, शनिबार ०८:५९ मा प्रकाशित
  • ​दाङ, २५ बैशाख ।
    राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि घनश्याम अस्तित्वको नवीनतम् कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा कार्यक्रम सम्पन्न भएको छ। परिषद्को नियमित १९९ औँ शृङ्खला अन्तर्गत पत्रकार महासङ्घ दाङको सभाहलमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यकार, पत्रकार तथा साहित्यानुरागीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
    ​राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा नेपाल संस्कृत विश्वविद्यालय, संस्कृति विभागका निर्देशक डा. टीकाराम उदासी रहनुभएको थियो ।

    ​समीक्षाका क्रममा समीक्षकद्वय यज्ञबहादुर डाँगी प्रमोद धितालले वि.सं. २०८० मा प्रकाशित यस सङ्ग्रहभित्रका ६६ वटा कविताहरूमाथि गम्भीर चिरफार गर्नुभयो। उहाँहरूले अस्तित्वका कविताहरू वैचारिक र कलात्मक दुवै दृष्टिले अब्बल रहेको बताउनुभयो। समीक्षकहरूका अनुसार सङ्ग्रहले वर्तमान समयको स्वार्थी प्रवृत्ति र सामाजिक विसङ्गतिमाथि कडा प्रहार गर्दै भुइँमान्छेका आवाजलाई सशक्त ढङ्गले मुखरित गरेको छ। सरल भाषाशैली, मार्मिक बिम्ब विधान र नवीन शिल्पका कारण ६६ वटै कविताहरूले पाठकलाई गम्भीर आत्मचिन्तन गराउन सफल भएको टिप्पणी उहाँहरूले गर्नुभयो।
    ​कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मुख्य अतिथि पुरुषोत्तम खनाल, विशिष्ट अतिथि डा. टीकाराम उदासी र विभिन्न साहित्यिक संस्थाहरूको तर्फबाट राप्ती साहित्य परिषद्का सल्लाहकार एवं केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ ले नेपाली साहित्यको श्रीवृद्धिमा यस कृतिले महत्वपूर्ण इँटा थपेको चर्चा गर्नुभयो। वक्ताहरूले कविको लेखनमा रहेको इमानदारिता र समाजप्रतिको जिम्मेवारीबोधको प्रशंसा गर्नुभएको थियो।

    उपाध्यक्ष सुरेश कुमार पाण्डेले स्वागत मन्तव्यद्वारा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।
    ​परिषद्का सचिव घनश्याम केसीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको समापन गर्दै अध्यक्ष रेग्मीले यस्ता समीक्षात्मक बहसले सर्जकलाई थप निखारिन र नेपाली साहित्य परम्परालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज, साहित्यTagged यम रेग्मी, राप्ती साहित्य परिषद, सुरेशकुमार पाण्डे

    परिषदको ८४औँ एकल वाचन कार्यक्रम, मनोजले पस्किए दुई दर्जन बढी गजल

  • २८ चैत्र २०८२, शनिबार ०७:१६ मा प्रकाशित
  • दाङ चैत्र २७
    राप्ती साहित्य परिषद् दाङ शाखाले हरेक तीनतीन महिनामा नियमित रूपमा गर्दै आएको एकल रचनावाचनको ८४ औँ श्रृङ्खला युवा गजलकार मनोज थापा मगरलाई स्थान दिएको थियो ।
    राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यता तथा केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाको विशिष्ट आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो ।
    एकल रचनावाचन कार्यक्रममा सष्टा मनोज थापा मगरले डेढ दर्जनभन्दा बढी गजलहरू प्रस्तुत गरेका थिए। उनका गजलहरूमा मायाप्रेम पाइनुका साथै समाजमा रहेका विकृति र विसङ्गतिमाथि उनले चोटिलो प्रहार गरेका थिए ।

    लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, साहित्यकार नगेन्द्रगुरु, रुकुम पूर्व शाखाका पूर्व अध्यक्ष कमानसिंह बिष्ट, विशिष्ट अतिथि कमलमणि देवकोटा, प्रमुख अतिथि पुरुषोत्तम खनाल लगायतले स्रष्टा मनोज थापा मगरलाई सफलताको शुभकामना दिनुभएको थियो।

    कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर,’ नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा. हिमलाल पन्थी, झिल्का साहित्य समाजका अध्यक्ष एवम् झिल्का प्रवर्तक वसन्त अनुभव, प्रगतिशील लेखक सङ्घ दाङका सचिव पुराण शर्मा, अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य बिसी, कान्तिपुर टेलिभिजनका दाङ समाचारदाता अमर क्षितिज भण्डारी, गोरखापत्र दैनिकका दाङ समाचारदाता लिलाधर ओली, नयाँ युगबोध राष्ट्रिय दैनिकका समाचारदाता गोविन्द खड्का, रेडियो भरोसाका समाचारदाता भरत ओली , साहित्यकारहरू रामप्रसाद जैसी , कपिल किशोर घिमिरे, मधुसुधन गौतम, डम्बर प्रसाद निरौला, हरिप्रसाद रिजाल, महेश कुमार न्यौपाने, रिमा गौतम, देवेन्द्र रिजाल, नारदप्रसाद भण्डारी, शरद गौतम, दामोदर पौडेल, अनुजा शर्मा ‘संस्कृति’, शंकर घर्ती मगर, सुष्मा पुन, शर्मिला पुन, लगायतका विभिन्न संघसंस्था तथा साहित्यकारहरूकोहरूको गरिमामय उपस्थित रहेको थियो।
    राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सहसचिव वीना रोका क्षेत्रीले गर्नुभएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged राप्ती साहित्य परिषद, वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    पाण्डेको लघुकथाकृति ‘आवाज’को विमोचन

  • ९ फाल्गुन २०८२, शनिबार २२:३२ मा प्रकाशित
  • फागुन ०९, घोराही, दाङ ।

    लघुकथाकार सुरेशकुमार पाण्डेको तेस्रो लघुकथा कृति ‘आवाज’को शनिवार विमोचन भएको छ । राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार/पत्रकार एवम् पूर्व सभासद्, शताब्दी पुरुष नारायण प्रसाद शर्माले उक्त कृतिको विमोचन गर्नुभएको थियोे ।
    विमोचित कृतिका कृतिकार सुरेशकुमार पाण्डे आयोजक संस्थाको उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँको यो पाँचौ एकल साहित्यिक कृति हो । यसअघि उहाँका ‘अन्धकार चिर्ने दीयो’ र ‘देशभक्ति आवाज’ नामक दुई गजलसङ्ग्रह, ‘अनुभव’ (हिन्दी) र ‘जेईको सम्झना’ (नेपाली) नामक दुई लघुकथासङ्ग्रह प्रकाशित भइसकेका छन् ।

    कार्यक्रममा विमोचित कृतिको समीक्षा झिल्का साहित्य समाजका अध्यक्ष/झिल्का प्रवर्तक एवम् लघुकथाकार वसन्त अनुभवले गर्नुभएको थियोे ।

    कार्यक्रम परिषदका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार/पत्रकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे ।

    कार्यक्रमको विशिष्ट अतिथिमा राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनाल, भाषा आयोगका पूर्व सदस्य एवम् वरिष्ठ साहित्यकार/समालोचक डा.अमर गिरी र वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयालगायत अतिथिहरूमा परिषदका सल्लाहकार पद्मप्रसाद शर्मा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास लेख्नेको सूचीमा उभिन सफल उपन्यासकार एवम् नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासन, नेपाली लेखक संघका अध्यक्ष डा. हिमलाल पन्थी, राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष कमलमणि देवकोटा, राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष डा.टिकाराम उदासी, सर्वोदय पुस्तकालय एवम् वाचनालयका अध्यक्ष सुशील गौतम, युवा संघका पूर्व अध्यक्ष एवम् समाजसेवी काशीनाथ पोख्रेल, विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखा अध्यक्ष डा.कृष्णराज डि.सी., राप्ती साहित्य परिषद दाङका पूर्व अध्यक्ष दीपक समीर लगायत ५ दर्जन बढी लेखक, साहित्यकार, पत्रकारहरूको उपस्थिति रहेकोे थियोे ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायण प्रसाद शर्माले सुरेशकुमार पाण्डेका लघुकथाकृति आफूले पढेको, उहाँ राम्रो लेख्नुहुन्छ । दाङले एक उत्कृष्ट साधक पाएको उल्लेख गर्दै लघुकथा पाण्डेको सक्रियता, क्रियाशिलताको प्रशंसा गर्नुभयो ।

    कार्यक्रममा पुस्तक लेखनका अनुभवका बारेमा कृतिकार सुरेशकुमार पाण्डेले प्रकाश पार्नुभएको थियो भने पुरुषोत्तम खनाल, उत्तमकृष्ण मजगैँया, डा.अमर गिरी, खगराज न्यौपाने, सविन प्रियासन, काशीनाथ पोख्रेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा कृतिकार पाण्डेकी बुहारी मनिषा रेग्मी पाण्डेले उपस्थित सम्पूर्ण व्यक्तित्वहरूमा धन्यवाद प्रकट गर्नुभएको थियोे ।

    परिषद्की सहसचिव विना रोकायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषदका जिल्ला सचिव घनश्याम केसीले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged राप्ती साहित्य परिषद, लघुकथा विमोच, लघुकथा विमोचन, वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    “प्लाष्टिकको फूल”को समीक्षा

  • २९ कार्तिक २०८२, शुक्रबार २३:१४ मा प्रकाशित
  • कार्तिक २८ दाङ
    राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले आफ्नो नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १९७ औँ श्रृङ्खलामा साहित्यकार खगेश्वर भण्डारीको नविनतम् कथासङ्ग्रह “प्लाष्टिककको फूल”को घोराहीमा समीक्षा गरेको छ।

    परिषद्का अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालय, सांस्कृतिक विभागका प्रमुख निर्देशक डा.टीकाराम उदासीको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो।

    ‘प्लाष्टिकको फूल’ कथासङ्ग्रहको समीक्षा समालोचक तथा साहित्यकार प्रमोद धितालले गरेका थिए । भण्डारीको कथा सङ्ग्रह हरेक दृष्टिकोणले पठनयोग्य रहेको समीक्षक धितालले बताए । प्लाष्टिकको फूल कथासङ्ग्रहमा १२ वटा कथा रहेका छन् । जसलाई अक्षरधाम नेपालले प्रकाशनमा ल्याएको हो ।

    कार्यक्रममा कथाकार भण्डारीले कथा लेख्दाका एवम् कथा प्रकाशन गर्दाका अनुभवहरू सुनाएका थिए ।

    सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालले शुभकामना मन्तव्य तथा स्रष्टा भण्डारीलाई बधाई दिएका थिए।

    कार्यक्रम ३ दर्जन बढी साहित्यकारहरूको उपस्थिति रहेको थियोे । परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged यम रेग्मी, राप्ती साहित्य परिषद, सुरेशकुमार पाण्डे

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P