• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: लघुकथा

साताका तीन लघुकथा- ६४

  • १२ आश्विन २०८१, शनिबार १८:३१ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (६४औँ) शृङ्खलालाई बा विशेष मानी बुबाको मुख हेर्ने विषय समेटिएका मध्ये लघुकथाकार रञ्जुश्री पराजुलीको लघुकथा ‘मर्निङ्ग वाक’, लघुकथाकार खगेन्द्र बस्यालको लघुकथा ‘गहना’ र लघुकथाकार ध्रुवराज थापा ‘पुरूष’को लघुकथा ‘उच्च सम्मान’ उत्कृष्ट तीनमा छनोट गरी प्रकाशन गरिएको छ ।

    ——————-<•>——————

    [१]
    लघुकथा: मर्निङ्ग वाक

    ✍️ रञ्जुश्री पराजुली
    दिनमा कम्तीमा पनि पाँच हजार पाइला हिँड्नुपर्छ । हिँडाइ पनि एकप्रकारको उपचार नै हो भन्ने भनाई आजभोलि यत्रतत्र सुनिन्छ । हिँडाइले अनेकौँ रोग निको पार्छ भनेको सुनिन्छ । त्यसैले अझ कोही त सातदेखि दस हजार पाइलासम्म हिँड्नुपर्छ भनेर नाडीमा बाँधेको वाकिङ्ग सेस्टेप देखाउने घडी हेर्दै हिँड्छन् । एकदिन लौ त भनेर म पनि बिहान छ बजेतिर हिँड्न निस्किएँ । पिच सडकमा बिहानको स्कुलको बसहरू हुइकिरहेका देखिन्थे ।

    पेटीमा वृद्ध, युवा आदि हिँड्नेको लर्को नै थियो । ठूलाठालुहरू सडकको पेटीमा आफ्ना पाल्तु कुकुरलाई हगाउन ल्याउने पनि निकै देखिन्थे ।
    उनीहरू मध्ये एउटाले अर्को कुकुर मालिकसँग उसको कुकुर सुम्सुम्याउँदै ‘राम्रो रहेछ । कुन ब्रीडको हो ? कति पर्यो ?’ भनेर सोध्यो ।
    “यो ल्याब्रे सेपर्ड हो । पचास हजार पर्‍यो ।” तपाईँको के ब्रीडको सानो लामो कान भएको कालो सेतो रङ्गको राम्रो रहेछ ।”
    “यो बर्नी डुडल मिनी हो । यस्को साठी हजार पर्‍यो । मेरी छोरीले यही चाहियो भन्न थाली ।”
    यसरी ती दुई सम्भ्रान्त नवधनाड्यहरूले आफ्ना मूल्यवान पाल्तु कुकुरहरूको प्रशंसा गर्दै कुकुरलाई सडकमा हगाएर ‘बाई बाई’ भन्दै आ-आफ्ना आलिसान बङ्गलोतिर लागे । अरूको कुरा सुन्नु त राम्रो होइन तर उनीहरूभन्दा पछि परेकोले नसुनुभन्दा पनि मैले उनीहरूको सबै सम्वाद प्रत्यक्ष सुनेँ ।

    हिँडदा हिँडदै एउटाले सडकको बिचमा थुप्रिएको एक रास ठूलै कुकुरको आची टेक्यो । छि: छि: र दुर्दुर गर्दै “छोराले आमेरिकाबाट भर्खर पठाइदिएको लेटेस्ट ब्रान्डेडे मेरो नयाँ महङ्गो दुई सय डलर पर्ने स्पोर्ट्स सु …” भन्ने चीत्कार उस्को मुखबाट निस्कियो ।
    ——————-<•>——————

    २)
    लघुकथा: गहना

    ✍️ खगेन्द्र बस्याल
    -“गहनाले झकिझकाउ हुँदा कति राम्री तिमी त !” शारदाले विमलालाई भनिन् ।
    विमलाको भनाइ रह्यो, -“मेराभन्दा राम्रा गहना तिमीसँग छन् ।”

    शारदाले प्रतिक्रिया जनाइन्, -“के भनेकी, तिमीसँग जति गहना छन्, त्यसको एक चौथाइ पनि छैन मसँग ।”
    विमलाले हाँस्दै भनिन्, -“सासूआमाले मेरी बुहारीसँग एक नम्बरी सुन, चाँदीको अतिरिक्त हिरामोतीका गहना समेत प्रयाप्त छन् भनेर फाइँफुट्टी लगाउनु भएको थियो र !”

    शारदाको कथन रह्यो, -“मैले भनेको होइन, देखेको मात्रै कुरा पत्याउँछु । कहिलेकाहीँ कसैको केहीबेरलाई लगाएको गहना देखेर झुक्किनु भयो कि ?”
    शारदाले हँसाइन्, -“आफ्नो वा अरूको लगाएको हो, अनुहारले नै बताउँछ नि !”
    विमलाले जिज्ञासा राखिन्, -“उसो भए ल भन त मेरा गहना के के देखेकी छ्यौ ?”

    शारदाले स्पष्ट पारिन्, -“बोल्ने कला, कसैलाई दुःख परेको बेला सम्झाउन सक्ने क्षमता, नाच्न गाउनमा विलक्षण प्रतिभा, सामाजिक कार्यमा अग्रसरताको कारण तिमी समाजकै गहना बन्न सफल भएकी छ्यौ। वास्तवमा त्यो सक्कली गहना मसँग छ त !”

    तिलोत्तमा ९ सरस्वती पथ, रुपन्देही
    ——————-<•>—————–
    ३)
    लघुकथा: उच्च सम्मान

    ✍️ ध्रुवराज थापा ‘पुरूष’
    -“भाइ साहब ! हम आपके साथ एक फोटो ले सकते हैँ ?”
    शैक्षिक सम्मेलनमा सहभागी एक भारतीय शिक्षकले मलाई अनुरोध गरे ।
    -“अरे भाइ, क्योँ नहीँ ! आइए न लिजिए ।” भारतको राजस्थानस्थित शान्तिवनमा आयोजित शैक्षिक सम्मेलनमा सहभागीता जनाउन पुगेको मैले सहजै स्वीकारोक्ति जनाएँ ।

    उनले मसँग टाँसिएरै फोटो खिचे । उनका समूहका साथीहरूले पनि मसँग उत्साहकासाथ फोटो खिचाए । ग्रुप फोटो पनि प्रसस्तै खिचे । उनीहरू मसँग फोटो खिचाउन पाउँदा दङ्ग थिए । म पनि फुरूङ्ग परेँ ।

    बिहानीको नास्ताको समयमा खाली समयको सदुपयोग गर्दै सम्मेलनमा सहभागी भारतीयहरूको अरू धेरै समूहले मेरो साथमा त्यस्तै सद्भाव प्रकट गरे । पर्याप्त फोटो खिचे । महिलाहरूले पनि त्यसै गरे । मिलाइमिलाइ फोटो खिचाए । देख्नेहरूलाई लाग्थ्यो होला ‘म ठूलै सेलिब्रेटी हुँ ।’
    भिडले उत्साहपूर्वक यो दृष्य नियालिरहेको थियो । म भने गर्वले दङ्ग थिएँ ।
    मेरो महत्त्व बढेको देखेर फोटो सेसनको समयपछि सम्मेलनमा सहभागी हुन आएका अर्का एक नेपाली साथीले मसँग जिज्ञासा राख्नुभयो,
    -“आज हाम्रा छिमेकी मित्रहरूले तपाईँको निकै सम्मान गरे, खै हामीसँग त त्यस्तो गरेनन् !”
    मैले उत्तर दिएँ, -“उनीहरूले मलाई सम्मान गरेका हैनन्, न म कुनै चर्चित मान्छे, न मैले उनीहरूलाई चिनेको नै छु ।”

    -“त्यसो भए त्यत्रो सम्मान केको लागि थियो त ?”
    साथिले सोधे । मैले प्रतिउत्तर दिएँ,
    -“मेरो शिरमा उच्च सगरमाथा समान ढाका टोपी सजिएको छ नि त !”

    काभ्रे, पनौती, टौखाल
    हाल: कपन,काठमाडौँ
    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभव, साताका तीन लघुकथा3 Comments on साताका तीन लघुकथा- ६४

    साताका तीन लघुकथा- ६३

  • २३ भाद्र २०८१, आईतवार १२:५८ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (६३औँ) शृङ्खलालाई बा विशेष मानी बुबाको मुख हेर्ने विषय समेटिएका मध्ये लघुकथाकार धनसिंह विश्वको लघुकथा ‘बुबाको मुख’, लघुकथाकार मोहन पोखरेलको लघुकथा ‘आवरण’ र लघुकथाकार प्रार्थना खनाल जोशीको लघुकथा ‘अपुग महसुस’ उत्कृष्ट तीनमा छनोट गरी प्रकाशन गरिएको छ ।

    ——————-<•>——————

    [१]
    लघुकथा: बुबाको मुख

    ✍️ धनसिंह विश्व
    बेलुका अफिस छुट्टी भएपछि एकजना साथीको घरमा हुस्की रक्सी तान्दै तिन पत्तीको खेल खेल्न थाल्यौँ । आठदस हजार रुपैयाँ गोजीमा बोकेर बसेको के थिएँ, खेल नसकिँदै गोजी रित्तो भएपछि आधारातमा चुपचाप घर गएर सुतेँ।

    मेरी आठ वर्षकी छोरी रेश्मा र तेह्र वर्षको छोरो राकेश बिहान सातै बजे ओछ्यानमा आएर कम्मल तान्दै भने,
    -“बुबा ! उठ्नुहोस् । ‘हेप्पी फादर्स डे’ बुवा !”
    म झसङ्ग भएँ । राकेशकी आमा गीताले भान्साबाटै कराउँदै भनिन्-
    -“रेश्मा, बुबा राती अबेला सुत्नुभा’छ, त्यहाँ हल्ला नगर ।”
    म निदाएको नाटक गर्दै सुतिरहेँ, अनि मनमनै सोचेँ,
    -‘ओहो ! आज बुबाको मुख हेर्ने दिन । कुसेऔँसी । आफ्नो त बुबा बितेको पनि बीस वर्ष भैसक्यो । अब कस्को मुख हेर्ने र ?’ के के सोचेँ । मनले मानेन अनि उठेँ ।

    नानीहरू आएर फेरि मलाई प्रणाम गर्दै भने, -“हेप्पी फादर्स डे, बुवा !”
    दुवै आएर मेरो काखमा बसे अनि बिस्तारै छोरोले कानमा भन्यो,
    -“उफ् ! बुबा, मुख गनाउँदैछ ।”
    छोरीले पनि नाक समाउँदै भनी,
    -“छि: बुवा ! अझै रक्सी गनाउँदैछ । खोइ ! बिहानै रक्सीले बिग्रिएको मुख पनि के हेर्नु र !”
    गेजिंग प० सिक्किम।
    ——————-<•>——————

    २)
    लघुकथा: आवरण

    ✍️ मोहन पोख्रेल
    जीवनप्रसादजीका एक छोरा र एक छोरी थिए । श्रीमतीलाई उमेरमै रोगले लग्यो । दु:खजिलो गर्दै छोराछोरी हुर्काए । छोरी पढनमा तेज थिई, खर्च गरेर राम्रैसँग पढाए । छोरा पनि सामान्य पढेर कमाउनतिर लागी ।

    हुर्केकी छोरी गतिलै कुटुम्ब हेरेर बिहे गरिदिए । राम्रो कुटुम्ब र भाइबन्धुका अगाडि छोरासँग सल्लाह गरी ऋण धन गरी बिहेमा गतिलै खर्च गरे ।
    अनि मधुमेह र रक्तचापका पीडित जीवनजीका बाउछोरा मेहनत गर्दै रिन उतार्दै निर्वाह गर्नतर्फ लागे ।
    केही समयपश्चात् जीवनजी रोगले काम गर्न नसक्ने भएपछि घरव्यवहार र बाबुको उपचारको भार समेत छोरा योगेनको काँधमा पर्‍यो, तैपनि हरेस नखाई धान्न पछि हटेन । दिदी कहिलेकाहीँ चिहाएर जान्थिन ।
    कुसेऔँसी आयो । दिदी आफ्नै मोटरमा फलफूल, मिठाइ, केही लुगा लिएर आइन् र बाबुको अगाडि राखिन् । जीवनजीले भने,
    -“नानी यी मिठाइ, म के गरुँ ? सुगर, प्रेसरको रोगी खानुहुँदैन ।”
    -“अँ बुबा ! हजुर पनि, बल्ल आएको बाबुको मुख हेर्ने दिन, म बुबा खुसी भएको हेरेर खुसी हुन आएकी, आज त मेरो मन राख्दिनुस् । अनि बाबुसँग बसेर सामान सहित सेल्फी लिएर फेसबुकमा पोष्ट गरिन् । क्याप्सन थियो,
    -“बाबाको खुसी नै मेरो खुसी । बाबाको सुस्वास्थ्य र दिर्घायुको कामना !”

    सम्पन्न दिदी आएकीले उपचार र घरव्यवहारले चेपेको योगेशलाई आशा पलायो र भन्यो,
    -“दिदी ! यी बाबाले खान नमिल्ने मिठाइभन्दा बरु बाबाको औषधी सकिएको थियो, दुई हप्तापछि डाइलाइसिस गर्नुपर्ने थियो ।” आसलाग्दो नजरले दिदीको मुख हेर्‍यो ।
    दिदीले कुरो बुझिन र जङ्गिइन्,
    -“अँ, बाको कमाइ खाने, अंश खाने तँ, उपचार गर्ने म ? के त्यो तेरो दायित्व हो, मलाई के दिएका छौ र ?”
    तब बाले आँखा टिल्पिलाउँदै भने,
    -“हो छोरी ! केही दिन सकिनँ, म रोगीले । बरु यी कपडा पनि लैजाऊ, कति खर्च गर्छ्यौ बाँचे भने अर्को साल फोटो खिच्न काम लाग्छ । मिठाइ पनि मेरा नातिनातीनाले खान्छन्, लैजाऊ छोरी ! फोटो खिचिहाल्यौ, म यसै खुसी छु !”
    ——————-<•>—————–


    ३)
    लघुकथाः अपुग महसुस

    ✍️ प्रार्थना खनाल जोशी
    आज सबै जम्मा भए एकसाथ । सबैले आफूले ल्याएका उपहार अगाडि राखेर दर्शन गरे । एकआपसमा छलफल गरी उहाँको आवश्यकता पूरा हुने र मनपर्ने मिठाइ, फलफूल उपहार सबैले ल्याए । उहाँलाई मनपर्ने मनोरञ्जनका क्रियाकलाप गरी नातिनातिनालगायत छोराबुहारीहरू र छोरीज्वाइँ प्रस्तुत भए ।

    अरू दिन आफ्नै कर्ममा व्यस्त भए पनि आज सपरिवारमा एकैठाउँमा बसेर खाना खाए । सबै दिनभर साथ रहे । उहाँलाई खुसी देख्न कुनै कसर बाँकी राखेनन् ।
    -“बुवा ! हजुरलाई हामी सबै जम्मा भएर कुसेऔँसी मनाएकोमा केही त खड्केको छैन नि ?”
    कान्छो छोरोले सोध्यो । बुवाको तत्काल जवाफ दिए,
    -”जेठा छोराका परिवार पनि भएकाभए अझ सुनमा सुगन्ध हुन्थ्यो ।”
    सुकेधारा, काठमाडौँ
    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभव, साताका तीन लघुकथाLeave a Comment on साताका तीन लघुकथा- ६३

    ‘कथा-कुथुङ्ग्री सृजना नायक’का रूपमा लाेहनी र ‘अविश्रान्त लघुकथा साधक’का रूपमा मधिकर्मीलाई अभिनन्दन; चालिसेलाई ‘आदर्श लघुकथा सर्जक सम्मान’

  • ११ असार २०८१, सोमबार ०९:२१ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले ‘कथा-कुथुङ्ग्री सृजना नायक’का रूपमा साहित्यकार एवम् समालोचक पुष्कर लाेहनीलाई र ‘अविश्रान्त लघुकथा साधक’का रूपमा लघुकथाकार/साहित्यकार ध्रुव मधिकर्मीलाई अभिनन्दन गर्ने भएको छ । त्यस्तै ‘आदर्श लघुकथा सर्जक सम्मान” द्वारा साहित्यकार एवम् समालोचक डा. विदुर चालिसेलाई सम्मान गर्ने भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा पहिलोपटक उक्त कुरा घोषणा गरेको हो

    नमस्ते आधुनिक लघुकथा मञ्चले वि.स. २०८१ सालका लागि लामाे समयदेखि समालाेचना एवं साहित्यका विभिन्न विधा तथा उपविधामा आजीवन साधनारत रही आख्यानकाे छाेटाे आख्यात्मक संरचनाका रूपमा कथा-कुथुङ्ग्री समेतकाे सिर्जनामार्फत नेपाली साहित्यमा पुर्याउनुभएकाे याेगदानका लागि वरिष्ठ साहित्यकार एवं कथा-कुथुङ्ग्रीका रचनाकार श्री पुष्कर लाेहनीलाई “कथा-कुथुङ्ग्री सिर्जना नायक”को रूपमा अभिनन्दन गर्न लागेको हो ।

    त्यस्तै नेपाली साहित्यकाे क्षेत्रमा लामाे समयदेखि लघुकथा लेखनमा विशिष्ट याेगदान गर्नुभएका वरिष्ठ लघुकथाकर श्री ध्रुव मधिकर्मीलाई “अविश्रान्त लघुकथा साधक” का रूपमा अभिनन्दन गरिने भएकाे छ ।

    साथै कविता, समालाेचना, भाषाविज्ञान एवं लघुकथाकाे समेत रचना गरी विभिन्न विधा एवम् उपविधासहित उपविधागत बृहत्तर आकारकाे “शताब्दम् महाशक्ति” लघुकथा महासङ्ग्रह जस्ताे एक आदर्श कृतिकाे सृजनामार्फत नेपाली साहित्यमा पुर्‍याउनुभएको विशिष्ट योगदानका लागि भाषाविद् एवम् वरिष्ट साहित्यकार डा. विदुर चालिसेलाई “आदर्श लघुकथा सर्जक” सम्मान प्रदान गरिने भएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभव2 Comments on ‘कथा-कुथुङ्ग्री सृजना नायक’का रूपमा लाेहनी र ‘अविश्रान्त लघुकथा साधक’का रूपमा मधिकर्मीलाई अभिनन्दन; चालिसेलाई ‘आदर्श लघुकथा सर्जक सम्मान’

    ‘पहिरो’लाई लघुकथालय पुरस्कार

  • ११ असार २०८१, सोमबार ०७:२० मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले यस वर्षको लघुकथालय कृति पुरस्कार लघुकथाकार ललिता दोषीको लघुकथा सङ्ग्रह ‘पहिरो’ लाई प्रदान गरेको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको दोस्रो दिन अर्थात् असार १० गते उक्त पुरस्कारको घोषणा गरेको हो ।

    २०८० सालभरमा प्रकाशित भएका लघुकथा सङ्ग्रहहरू बजारमा उपलब्ध भएसम्मका सङ्कलन गरी मूल्याङ्कनमा समावेश गरिएको थियोे । जसबाट निर्णायक समितिले अध्ययन र मूल्याङ्कन गरी उक्त पुरस्कारका लागि लघुकथा कृति ‘पहिरो’ लाई छ्नोट गरेको थियोे ।


    २०८० सालमा स्थापित उक्त पुरस्कारको रकम ११ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्र रहेको छ । गतवर्ष उक्त पुरस्कार लघुकथाकार शेखर कुमार श्रेष्ठकृत लघुकथा सङ्ग्रह ‘बोकाको खुसी’ लाई प्रदान गरिएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभवLeave a Comment on ‘पहिरो’लाई लघुकथालय पुरस्कार

    वर्ष लघुकथा सर्जक एवम् पाठकमा पाण्डे र वर्ष उत्कृष्ट वाचकमा काफ्ले सम्मानित

  • ११ असार २०८१, सोमबार ०६:५२ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले ‘वर्ष लघुकथा सर्जक, २०८१’ एवम् ‘वर्ष पाठक, २०८१’ बाट लघुकथाकार सुरेशकुमार पाण्डेलाई र ‘वर्ष उत्कृष्ट लघुकथा वाचक, २०८१’ बाट सञ्चारकर्मी विवेक काफ्लेलाई सम्मान गरेको छ । आफ्नो छैटौँ वार्षिकोत्सव अवसर पारेर २०८१ असार ९ गते मञ्चले घोषणा गरेको हो । मञ्चले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर विभिन्न पुरस्कार, सम्मान एवम् प्रशंसा पत्र प्रदान गर्दै आइरहेको छ ।

    वर्षभरि आफ्नो आधिकारिक फेसबुक समूहको भित्तोमा सबैभन्दा धेरै उत्कृष्ट लघुकथाहरू प्रेषित गर्ने लघुकथाकारहरू मध्येबाट प्रथम, द्वितीय र तृतीय घोषणा गरेर पुरस्कार रकम सहित सम्मान गर्दै आएको छ । यस वर्ष लघुकथाकार श्री सुरेशकुमार पाण्डे प्रथम हुन सफल हुनुभएकोले उहाँलाई नगद रु.७०००/- सहित ‘वर्ष लघुकथा सर्जक २०८१’ द्वारा सम्मान गरिएको हो ।

    त्यस्तै मञ्चको भित्तोमा प्रेषित लघुकथाहरू पढेर सबैभन्दा धेरै प्रतिक्रिया दिनेहरू मध्ये पनि लघुकथाकार श्री सुरेशकुमार पाण्डे नै प्रथम हुनुभएको हुँदा उहाँलाई ‘वर्ष पाठक २०८१’ बाट पनि सम्मान गरिएको थियोे । जसको पुरस्कार राशि ४०००/- रहेको छ ।

    त्यस्तै मञ्चले वर्षभरि मञ्चका लघुकथाहरू वाचन गरेर लघुकथाको उन्नयन र प्रवर्द्धनमा सघाउने लघुकथा वाचकहरू मध्ये पनि वर्ष उत्कृष्ट वाचक छानेर हरेक वर्ष नगद पुरस्कार सहित सम्मान गर्दै आएको छ । यस वर्षको वर्ष उत्कृष्ट वाचकको रूपमा हरेक साता लघुकथाहरू वाचन गरी मञ्चको आधिकारिक फेसबुक पेज र रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्जको रेडियो तरङ्गबाट प्रसारण गर्नुहुने सञ्चारकर्मी एवम् आधिकारिक लघुकथा वाचक श्री विवेक काफ्लेलाई नगद रु ५०००/- सहित ‘वर्ष उत्कृष्ट वाचक २०८१’ बाट सम्मान गरिएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभवLeave a Comment on वर्ष लघुकथा सर्जक एवम् पाठकमा पाण्डे र वर्ष उत्कृष्ट वाचकमा काफ्ले सम्मानित

    साताका तीन लघुकथा- ६०

  • २ असार २०८१, शनिबार १९:४२ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (६०औँ) शृङ्खलाका लागि लघुकथाकार तुलसी पण्डितको लघुकथा ‘कालो हिरा’, लघुकथाकार धनसिंह विश्वको लघुकथा ‘सम्प्रदाय’ र लघुकथाकार भूमिका गैरे, तिमिल्सिनाको लघुकथा ‘बाध्यता’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~
    ——————-<•>——————

    [१]
    लघुकथा: कालो हिरा

    ✍️ तुलसी पण्डित
    उनी रूपमा अति रूपवती थिइन् । बजार जाँदा उनको अचानक एक काली केटीसँग भेट भयो । उनले अट्टहास गर्दै भनिन्-
    “यस्तो कालो रूपलाई कसले मन पराउँछ र ? अब तेरो जिन्दगीभर विवाह नहुने भयो ?”
    “हेर ! आजभोलि कालाको दिन पनि आएको छ । मेरो अगाडि तिम्रो जिन्दगी फिका नै हो ।”

    “कसरी पत्याउँ यो कुरा ?”
    “उही तरकारी बेसिजनमा उत्पादन गरियो भने कति महङ्गो पर्न जान्छ । त्यसैले समय सबैको पक्षमा उर्लन्छ ।”

    “आफ्नो बखानले केही हुनेवाला छैन । ऊ त्यो आउँदै गरेको केटा एकदम धनाढ्य छ । उसले धेरै फिलिम निर्माण गरेको छ । हामी ऊसँग विवाहको प्रस्ताव राख्यौँ । अनि थाहा हुन्छ, कसलाई मानिसले मन पराउँछ ?”

    केटो त्यही आइपुग्यो । उनीहरूले केटातिर फर्कँदै भने-
    “हामी दुईजनामा तिमीले कसलाई मन पराउँछौ; उसैसँग विवाह गर । हाम्रो यो अमूल्य उपहार तिमीलाई ।”
    केटोले सोच्यो, गम्यो र मुस्कुराउँदै भन्यो-
    “यो कालो हिरा अमूल्य छ । म उनैसँग विवाह गर्छु ।”
    ——————-<•>——————
    [२]
    लघुकथा: सम्प्रदाय

    ✍️ धनसिंह विश्व
    “नानी, बाबु ! कस्का छोरा हौँ ? नाम के हो ?” दश/बाह्र वर्षका बालबालिका एक्लै मन्दिरमा पूजा गर्नआएको देखेर पुजारीले अचम्म मान्दै सोधे ।
    बालकले हाँस्दै भन्यो- “बाजे ! म मोमद फिरोजको छोरा हुँ । मोमद हरुन हो मेरो नाम ।”
    पुजारी अचम्म मान्दै फेरि भन्छन्- “अनि यहाँ ? कहाँ हिँडेको ? हातमा फूल, अछेता, धूप पनि बोकेका छौ त ?”

    “बाजे ! भोलिदेखि हाम्रो वार्षिक परिक्षा छ। त्यसैले पूजा गरौँ भनेर आएको । बरु भन्नुहोस् न ! सरस्वती माता कहाँ हुनुहुन्छ ?” हतोत्साहित हुँदै बालकले भन्यो।
    “अनि तिमी गलत ठाउँ आयौ नि त बाबु ! तिमी त मस्जिद जानुपर्थ्यो। अल्लाहलाई पूज्नु पर्नेथ्यो। बाटो बिर्सेउ कि ? कसो ?” पुजारीले ठट्टा मुद्रामा हाँस्दै भने ।

    “किन ? तपाईँको भगवान् हाम्रो भगवान् भन्दा सानो हो ? तपाईँको भगवान्ले मलाई परिक्षामा सफल बनाउँन सक्नुहुन्न र ?” बालकले जिज्ञासा राख्दै भन्यो।
    “त्यसो होइन ! तर तिमीहरू मुस्लिम हौँ। हामी हिन्दु । तिमीहरू मुस्लिमको लागि मस्जिद छ भने हाम्रो मन्दिर।” स्पष्टीकरण दिँदै भने।
    “भगवान् त सबैको एउटै होइन र ? त्यही भगवान्ले त हामी सबैलाई बनाएका हुन् नि ! भनेपछि अहिले मन्दिरमा के भगवान् छैनन् ?” फेरी प्रश्न गर्यो।
    पुजारी केही झर्को मानेझैँ गरी भने- “होइन ! तिम्रो र हाम्रो जात, धर्म, संस्कार, संस्कृति केही पनि मिल्दैन बाबु ! बरु तिमी मस्जिद नै जाऊ । त्यही ठिक छ तिमीलाई ।”
    बालकले भने- “होइन बाजे ! कसरी मिल्दैन र ? पोहोर गाड़ी दुर्घटनामा पर्दा मेरो अब्बुले दिएको रगत तपाईँसित मिल्यो त ! होइन ?”
    गेजिङ प० सिक्किम
    ——————-<•>——————
    [३]
    लघुकथा: बाध्यता

    ✍️ भूमिका गैरे, तिमिल्सिना
    “कति धौ भयो, यो नाति हुर्काउँदा ? बाबाआमा अस्ट्रेलिया छन् । उही गएर केही समय बसेर लिएर आइयो ? राम्ररी राति पनि सुतिनँ म । चार/पाँच चोटी राति उठेर बोतलबाट दुध ख्वाउँथे ? त्यो दुधे बालक ल्याएर अहिले यत्रो भयो ।” सम्झँदै बुढीले भनिन् ।
    “हो त नि ! यसका बाबाआमालाई एकछिन फुर्सद छैन । व्यस्त जीवन, पैसाको मोह भयो । परिस्थिति पनि त्यस्तै छ, के गर्ने ? यसको स्याहारसुसार कसले गर्ने ? त्यही भएर हामी नै हुर्काउँछौँ नाति भनि ल्याइयो । अहिले ठूलो भयो स्कुल खुरुखुरु जान्छ । बुझ्ने भइसक्यो । साउँभन्दा ब्याजको माया।” नातितिर हेर्दै पुलकित मुद्रामा बुढाले भने ।

    अरूबेला त ठिकै हो । बिरामी भयो भने मलाई त ! साह्रै डर लाग्छ, किन हो ? कतै केही भई हाल्ने पो हो कि भनेर सात्तै जान्छ जान नि ? आफ्ना छोराछोरी हुर्काउँदा खै यस्तो विधि थाहा पाइएन । बस्तुभाउ, मेलापात, दाउरा, घाँस गर्नुपर्थ्यो । दु: ख थियो । दुखैदु:खले हुर्किएका हुन् बरा ! छोराछोरी त ?” बुढीले थपिन् ।

    “अहिले त ध्यान नै यसैको मात्र छ । के खान्छ ? कस्तो लाउँछ ? कहाँ जाने भन्छ ? यसैको चाकडी गर्दागर्दै दिन बित्छ । पहिले र अहिलेका दिन यिनै हुन् क्यारे ! समयले कहाँबाट कहाँ ल्यायो, है बुढा ?

    मोबाइलमा घन्टी बज्यो । भिडियो कल गरे छोराबुहारीले । “
    “ल ! आऊ आऊ सुबोध नाति । हेर त ! तिम्रो बाबाआमाको फोन आयो । ल आऊ त बोल्न ।” ऊ आफ्नै पारामा खेलिरह्यो । कति गर्दा नि पिटिक्कै बोलेन ? वास्तै गरेन । सबैले अनेक प्रयत्न गरे तर सुबोधले ध्यानै दिएन ।

    बाआमाले हामीलाई कति माया गर्छन् ? एकछिन छोड्दैनन् । पुच्छर लाएर हैरान पार्छ । आफ्ना बाबाआमाले बिचरा ! कति गर्छन तर पनि बोल्नै खोज्दैन, किन हो ? कतै आमाबाबा र सन्तान बीचको दुरी बढ्ने त होइन ? वास्तै गर्दैन, मलाई त सम्झदा नि डर पो लाग्छ त ? मलिन् मुख मुन्द्रामा बुढीले भनिन् ।

    बुढाले घोरिँदै सोचेर भने- “आमाबुबाको माया, स्पर्श केही पाएको छैन ? अनि कसरी माया बसोस् त ? यो बाध्यात्मक परिस्थितिले निम्त्याएको दुरी पनि ठीक होइन ।”
    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभवLeave a Comment on साताका तीन लघुकथा- ६०

    साताका तीन लघुकथा- ५३

  • ४ चैत्र २०८०, आईतवार ०८:०२ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (५३औँ) शृङ्खलाका लागि लघुकथाकार प्रा.डा. प्राज्ञ खेमराज खनालको लघुकथा ‘बोतल’, लघुकथाकार ढाकामोहन बरालको लघुकथा ‘स्वामित्व’ र लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘छिमेकी’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~

    १. लघुकथा: बोतल

    ✍️ प्रा.डा. प्राज्ञ खेमराज खनाल
    ठाकुर चारतारे होटल गए । यसपटक मुनाफा धेरै भएकाे थियो । श्रम मारेर मजदुरको खुबै शोषण गरेका थिए । मुनाफा थोरै देखाएर राष्ट्रलाई मनग्गे ठगेका थिए । राजनीतिक पार्टीलाई केही मन्साउँथे । पत्रकारहरूलाई अलिकति चढाउँथे । आज उनको हर्कबढाइँकाे दिन थियो । परिवारका साथ दुईचार बोतल महँगो रक्सी रित्याए ।

    श्रमिक छाप्रे भट्टीमा पस्यो । साहुले मजदुरीबाट निकालिदिएकाे थियो । नेताहरूले उसका कुरा सुनेनन् । पत्रकारहरूले उसको गुनासो बुझेनन् । स्वास्नीकाे सारी झुत्रिन लागेको थियो । छोरी सरकारी स्कुलमा फेरि पनि फेल भई । मनभरि पिर बह भरिएको थियो । साथीका साथ दुईचार बोतल ठर्रा घुट्क्यायो ।

    दुवैले बोतल रित्याएका थिए । मात्र बोतलकाे स्रोत, क्वालिटी, दाम, उद्देश्य र मात्रा फरक थिए । ठाकुरको बोतलमा गरिबको रगत भरिएको थियोे । श्रमिकको बोतलमा आफ्नै श्रम भरिएको थियो । ठाकुरको बोतल महँगो रक्सीले भरिए पनि दुषित थियो । श्रमिकको बोतल सस्तो ठर्राले भरिए पनि पवित्र थियोे ।
    धरान, नेपाल
    २०८०/०९/२३

    २.लघुकथा: स्वामित्व

    ✍️ ढाकामोहन बराल
    राम्रो र लामो खालका सुगन्धित अगरबत्ती बालिएको थियो । वातावरणमा यसको बास्ना छरिएको थियो ।
    “आज कति भए ?” हरिप्रसादले सोधेको सुनियो । निरुले टाउको उठाएर हेरिन् र पहिलाजस्तै मुन्टो निहुराएर बसिन् ।
    “भोलि त पाँचै दिन हुन्छ्न् ।” नित्यानन्दले हरिप्रसादलाई जवाफ दिए ।

    “अघिल्लो जुनीमा धर्म गरेका रहेछ्न् बाले, त्यसैले तँ जस्ती छोरी पाए यो जुनीमा ।” गान्धारी आमैले भन्नुभयो ।
    “बाको सेवा यसले जसरी कसले गर्‍यो होला र ! झरी, बादल, वर्षा, चर्को घाम र ठिहिर्‍याउने जाडो केही भनिन । बालाई लिएर अस्पताल दौडिई ।” जमुनाले पनि भनिन् ।
    “धन्य घरका पनि सहयोगी रहेछ्न् र बालाई केही भएको थाहा पाउनेबित्तिँकै टाउकाले टेकेर भए पनि आइहाल्थ्यौ ।” गान्धारीले भनिन् ।
    “अब त बिग्रन्छ पनि होला ।” निरुले सुस्तरी भनी ।

    “के गर्ने बाबै ! जिउँदामा तैँले जतिसुकै गरे पनि मरेपछि दाइ नआई उठाउन नमिल्ने ।” जमुनाले भनिन् ।
    गेट बाहिर एउटा मोटर रोकियो । आँगनमा जम्मा भएका मान्छेहरू सलबलाए । घरको समाचार सुनेपछि छ वर्षमा छोराहरू घर आएका थिए । निरु जुरुक्क उठी । आउँदै गरेका दाइहरूको अगाडि गई । उसले चार दिनदेखि अन्तिम संस्कार हुन नपाएको निरुको बुबाको पार्थिव शरीरजस्तै सबैजना स्तब्ध हुने गरेर भनी- “दाइ ! मैले हजुरहरूका बुबालाई बचाउन सकिनँ ।”
    पोखरा ७ मासबार , कास्की ।

    ३. लघुकथा: छिमेकी

    ✍️ सुरेशकुमार पाण्डे

    “अस्ति पनि आएको थियो । हिजो पनि आएको थियो । अचेल रुपलाल राधिकाको घरमा खुबै आउनेगर्छ।” लिखुरीले आफ्नो लोग्नेलाई बिस्तारै भनी।
    “होला केही काम ! तिमीले किन टाउको दुखाउनुपर्‍यो, बित्थामा ? अर्काको घरमा को आउछ को जान्छ ।” नरे आफ्नो स्वास्नीसँग झर्कियो ।

    “हजुरसँग त बोल्नै हुँदैन ।” उसले रिसाएझैँ आफ्नो नाक मुख बिगारी।
    “लिखुरी ! यसमा तिमी रिसाउँनै पर्ने कुरा के छ ? अर्काको घरमा को आयो, किन आयो ? त्यो उनिहरूको समस्या हो । तिम्रो हाम्रो चिन्ताको विषय होइन ।” नरेले लिखुरीलाई सम्झाउँन खोज्यो ।
    “हामी छिमेकी भएपछि छिमेकमा महिला मात्र भएको बेला पुरुष आइरहँदा चिन्ता त गर्नैपर्छ ।” लिखुरी अलि चर्को बोली ।

    “हो हामी छिमेकीको नाताले राधिकाको हालचाल सोध्नुपर्छ तर चियोचर्चा गरेर आफ्नो समय खेरा फाल्नुहुँदैन । तिमी कतिपटक गयौ, तेस्का घर भन त ?” नरेले सोध्यो।
    “ऊ पनि एक सातादेखि आएकी छैन । ऊ नआएपछि म पनि किन जाम् ?”- लिखुरीले भनी ।
    “बरू उस्को घरमा सञ्चो विसञ्चो के छ बुझेर आऔँ, हिँड ।” नरेले लिखुरीलाई सम्झाउँदै भन्यो।

    केही समयपछि दुवैजना राधिकाको घरमा गए । राधिकाको एउटा खुट्टामा प्लास्टर गरिएको थियो।
    “यो कसरी भयो ?”
    “घरमै लडेर खुट्टा भाँचियो । हजुरहरूको नम्बर पनि थिएन । महेशको रुपलाल दाइसँग चिनजान रहेछ । उहाँले नै विदेशबाट फोन गरेर पठाइदिनु भयो।” राधाले आफ्नो बारेमा जानकारी गराई।
    दाङ घोराही १८
    १५-०३-२०२४, (०२चैत्र२०८०)

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभव, साताका तीन लघुकथा5 Comments on साताका तीन लघुकथा- ५३

    घोस्ट राइटिङ लघुकथा प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक, मङ्ग्राती, शर्मा र गिरी सर्वोत्कृष्ट लघुकथाकर घोषित

  • २९ फाल्गुन २०८०, मंगलवार १७:४५ मा प्रकाशित
  • घोस्ट राइटिङ् नेपालको प्रायोजनमा साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ लघुकथा प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा १ सय १८ उत्कृष्ट लघुकथाहरूको पुन: मूल्याङ्कन पश्चात् वर्षका सर्वोत्कृष्ट ३ लघुकथाहरू छनोट भएका हुन् । सर्वोत्कृष्ट भई पुरस्कृत हुनेमा लघुकथाकार दीप मङ्ग्राती निरीहको लघुकथा ‘पूजा’ प्रथम, लघुकथाकार शुभ शर्माको लघुकथा ‘प्रतिप्रश्न’ द्वितीय र लघुकथाकार दिव्य गिरीको लघुकथा ‘नवदुर्गा’ तृतीय रहेका छन् ।
    त्यस्तै लघुकथाकार रचना शर्माको लघुकथा ‘मेरो बैँस’ र किशन पौडेलको लघुकथा ‘खुशी’ सान्त्वना भई उत्कृष्ट पाँचभित्र रहेका छन् ।

    सर्वोत्कृष्ट भई प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त लघुकथाहरूका सर्जकहरूले क्रमशः १०/१० थान आख्यान कृतिहरूका साथ नगद रु. ३० हजार, २० हजार र १० हजार पुरस्कारस्वरुप प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    साहित्य पोस्टले उक्त प्रतियोगिता ४० हप्तासम्म निरन्तर सञ्चालन गरेको थियोे । जसबाट हरेक हप्ता ३ उत्कृष्ट लघुकथा छनोट गरिएको थियोे । उक्त १ सय १८ लघुकथाहरू मध्येबाट पहिलो चरणमा उत्कृष्ट ५०, दोस्रो चरणबाट उत्कृष्ट २५, तेस्रो चरणबाट उत्कृष्ट १० र चौथो एवम् अन्तिम चरणबाट सर्वोत्कृष्ट ३ लघुकथा छनोट गरी पुरस्कृत गरिएको थियोे ।

    प्रतियोगिताको निर्णायकमा गोरखापत्रका पूर्व प्रधानसम्पादक तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन, प्रा.डा. लक्ष्मणप्रसाद गौतम र प्रा.डा. कपिल लामिछाने रहनुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभवLeave a Comment on घोस्ट राइटिङ लघुकथा प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक, मङ्ग्राती, शर्मा र गिरी सर्वोत्कृष्ट लघुकथाकर घोषित

    साताका तीन लघुकथा- ५२

  • २७ फाल्गुन २०८०, आईतवार ०९:०४ मा प्रकाशित
  • यस साताको (५२औँ) शृङ्खलाका लागि लघुकथाकार शुक्रराज कुँवरको लघुकथा ‘बगैँचाको फूल’, लघुकथाकार प्रभादेवी पौडेलको लघुकथा ‘सन्तान’ र लघुकथाकार सविता के.सी.को लघुकथा ‘हतारो’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~

    १) लघुकथा: बगैँचाको फूल

    ✍️ शुक्रराज कुँवर
    घरकी बुहारी नानीले ‘खाना खाने बेला भयो’ भनेर सासू ससुरालाई जनाउ गरिन् । दुई बुढाबुढी जसै खाना खाने टेबुलनेर आए बुढालाई हेर्दै बुढी गनगनाइन्-
    “कुकुरलाई जस्तो फ्यात्त राखेर जान्छन् ।”

    बुढीको कुरा सुनेर बुढा बा ले भने- “भो भो धेरै गनगन नगर् । यत्ति भएपनि खान लाउन दिएका छन् । मलाई पनि छोराबुहारी नातिनातिनासङ्गै बसेर खान मन छ नि ! तर के गर्नु, आफूले केही गर्न सकिने होइन । चित्त बुझाउनुपर्छ ।”

    उता भान्सामा बुहारी नानीले सबै कुरा सुनिरहेकी थिइन् । उनले आफ्ना पतिलाई भनिन्- “धेरै दिनदेखि बाआमाले सङ्गै बसेर खाना खाउँ भनिरहनुभएको छ । म त सक्दिनँ है ! आफैँ जान्नुस् ।”

    “खै ! के भएका यी बुढाबुढी, बनाई तुलाई खानदिएकै छ । सङ्गै खान बस्यो, ख्याँक ख्याँक र खुँक खुँक गर्छन् । खाँदै गयो र्याल झार्दै गर्छन् । कस्तो घिन लाग्छ मलाई त । आँ ! छोड्देऊ भयो, गनगन गर्दै गर्छन् ।” पतिले आफ्नी पत्नीको काँध थाप्दै भने ।

    त्यसैबेला खेल्न गएका केटाकेटी दगुर्दै आए । “ल ल हात सात धोएर खाना खान बस ।” बुहारी नानीले छोराछोरीलाई स्नेहपूर्वक भनिन् ।

    “अरूबेला त स्कूल जाने हतार हुन्छ । छुट्टीको दिन, हजुरबुवा हजुरआमासङ्गै बसेर खाने हामी त !” भन्दै नातिनातिना हजुरबुवा हजुर आमाको छेउमा गएर बसे ।

    “हजुरआमालाई त खान पनि आउँदैन, मुखबाट कति र्याल झारिसेको हजुरले ।” नाति केटोले माया जताउँदै हजुरआमाको मुख पुछिदियो ।

    नाति केटोको माया देखेर हजुरआमा पुलकित भइन् र बुढा तर्फ फर्केर मधुर मुस्कान छाडिन् ।
    बुढीको पुलकित हाउभाउ देखेर बुढा बा ले भने- “देखिस् त ! कति सुवासित छ बगैँचाको फूल ?”
    बलभद्रपथ , धरान १०
    २०८०/११/२०

    २) लघुकथा: सन्तान

    ✍️ प्रभादेवी पौडेल
    “बुढा ! म अब धेरै बाँच्दिनँ होला । एकपटक छोराहरूको मुखसम्म हेरेर मर्न पाए हुन्थ्यो ।” भनेर हस्पिटलबाट भर्खर डिस्चार्ज भएर घर आएकी कौशल्याले पुण्यलाई भनिन्।
    यो सुनेर उनी निकै दुःखी हुँदै आफ्ना अमेरिका भएका दुवै छोरालाई पालैपालो फोन लगाए । सायद कामको व्यस्तता हो या समयको फरकले गर्दा हो बुढी बिरामी भएदेखिनै उनले पटकपटक फोनमा प्रयास नगरेका होइनन् तर ‘कहिले निद्रा त कहिले काममा छु पछि कुरा गरौँला’ भन्दै अरू कुरै नसुनी उनीहरुले फोन राख्दै आए ।

    आमाको अवस्था नाजुक छ भन्ने खै कसले खबर पुर्‍याएछ कुन्नि ! जेठो आमाको अन्तिम अवस्थामा मुखमा पानी हाल्न टुप्लुक्क आइपुग्यो ।
    मर्ने बेलामा ‘कान्छा ! कान्छा !’ भन्दै आमाको श्वास रोकियो । यो देखेर बाले जेठालाई सोधे- ” ठुले ! भाइ खै त ?”
    बाको कुरा सुनेर जेठाले सजिलै उत्तर दियो- “म पनि त्यति सजिलै कहाँ आउँन पाएको हुँ र ? अनेक ताल बिन्ती गर्दा बल्लतल्ल मालिकले दस दिनको छुट्टी दियो । परदेशको बसाइँ, घरको लोन, केटाकेटीको पढाइ, एकदिन काममा नगए मुखमा माड लाग्दैन । पटकपटक एउटै मान्छे नेपाल आइरहन अनुकूल नमिल्न सक्छ, त्यसैले हामीले त पालो गरेका बा !”
    भरतपुर ९ , चितवन
    २०८०/ ११/ २६

    ३) लघुकथा: हतारो

    ✍️ सविता के.सी.
    उनी डाँको छाडेर रोइरहेकी थिइन् । मैले सोधेँ- “तिमी किन यसरी रोएकी ?”
    “गुरुबा त बित्नुभयो ।” उनले भनिन् ।
    “ला, हो र ! कहिले बित्नुभयो ?” मैले सोधेँ ।
    “आजै”
    “अजम्बरी त को छ र संसारमा ? तर उहाँ अमर हुनुहुन्छ । उहाँको कृतिले उहाँलाई अनन्तकालसम्म अमर बनाउने छ ।” म भनिरहेको थिएँ । उनी रोइरहेकी थिइन् । “यति धेरै मन नदुखाऊ । कर्म पो गर्ने हो ।”
    उनले भनिन्- “म स्टेजमा उभिएर माइकमा चिच्याइरहेकी थिएँ । उहाँको उपचारको लागि सहयोग मागिरहेकी थिएँ । जसले सहयोग गर्छु भनेन, एकपटक हालखबरसम्म सोधेन । पार्थीव शरीर अस्पतालबाट निकालेको पनि छैन । तर उसले फेसबुकमा फोटो सहित हार्दिक श्रद्धाञ्जली राखेछ । अनि त ! कम्ता मन दुखेन मेरो ।”
    दाहसंस्कार नगरी श्रद्धाञ्जली लेख्ने चलन नै थिएन । म पनि झसङ्ग भएँ । “स्वार्थी मानिसहरू यस्तै हुन् । नाम चाहन्छन् । यस्तै बेला हो मानिसको व्यवहार चिन्ने । अब नरोऊ ।”
    म पनि मन भारी पारेर हिँडे । मानिसको व्यवहार यस्तो पनि हुन् नि !


    साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (५२औँ) शृङ्खलाका लागि लघुकथाकार शुक्रराज कुँवरको लघुकथा ‘बगैँचाको फूल’, लघुकथाकार प्रभादेवी पौडेलको लघुकथा ‘सन्तान’ र लघुकथाकार सविता के.सी.को लघुकथा ‘हतारो’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~

    १) लघुकथा: बगैँचाको फूल

    ✍️ शुक्रराज कुँवर
    घरकी बुहारी नानीले ‘खाना खाने बेला भयो’ भनेर सासू ससुरालाई जनाउ गरिन् । दुई बुढाबुढी जसै खाना खाने टेबुलनेर आए बुढालाई हेर्दै बुढी गनगनाइन्-
    “कुकुरलाई जस्तो फ्यात्त राखेर जान्छन् ।”

    बुढीको कुरा सुनेर बुढा बा ले भने- “भो भो धेरै गनगन नगर् । यत्ति भएपनि खान लाउन दिएका छन् । मलाई पनि छोराबुहारी नातिनातिनासङ्गै बसेर खान मन छ नि ! तर के गर्नु, आफूले केही गर्न सकिने होइन । चित्त बुझाउनुपर्छ ।”

    उता भान्सामा बुहारी नानीले सबै कुरा सुनिरहेकी थिइन् । उनले आफ्ना पतिलाई भनिन्- “धेरै दिनदेखि बाआमाले सङ्गै बसेर खाना खाउँ भनिरहनुभएको छ । म त सक्दिनँ है ! आफैँ जान्नुस् ।”

    “खै ! के भएका यी बुढाबुढी, बनाई तुलाई खानदिएकै छ । सङ्गै खान बस्यो, ख्याँक ख्याँक र खुँक खुँक गर्छन् । खाँदै गयो र्याल झार्दै गर्छन् । कस्तो घिन लाग्छ मलाई त । आँ ! छोड्देऊ भयो, गनगन गर्दै गर्छन् ।” पतिले आफ्नी पत्नीको काँध थाप्दै भने ।

    त्यसैबेला खेल्न गएका केटाकेटी दगुर्दै आए । “ल ल हात सात धोएर खाना खान बस ।” बुहारी नानीले छोराछोरीलाई स्नेहपूर्वक भनिन् ।

    “अरूबेला त स्कूल जाने हतार हुन्छ । छुट्टीको दिन, हजुरबुवा हजुरआमासङ्गै बसेर खाने हामी त !” भन्दै नातिनातिना हजुरबुवा हजुर आमाको छेउमा गएर बसे ।

    “हजुरआमालाई त खान पनि आउँदैन, मुखबाट कति र्याल झारिसेको हजुरले ।” नाति केटोले माया जताउँदै हजुरआमाको मुख पुछिदियो ।

    नाति केटोको माया देखेर हजुरआमा पुलकित भइन् र बुढा तर्फ फर्केर मधुर मुस्कान छाडिन् ।
    बुढीको पुलकित हाउभाउ देखेर बुढा बा ले भने- “देखिस् त ! कति सुवासित छ बगैँचाको फूल ?”
    बलभद्रपथ , धरान १०
    २०८०/११/२०

    २) लघुकथा: सन्तान

    ✍️ प्रभादेवी पौडेल
    “बुढा ! म अब धेरै बाँच्दिनँ होला । एकपटक छोराहरूको मुखसम्म हेरेर मर्न पाए हुन्थ्यो ।” भनेर हस्पिटलबाट भर्खर डिस्चार्ज भएर घर आएकी कौशल्याले पुण्यलाई भनिन्।
    यो सुनेर उनी निकै दुःखी हुँदै आफ्ना अमेरिका भएका दुवै छोरालाई पालैपालो फोन लगाए । सायद कामको व्यस्तता हो या समयको फरकले गर्दा हो बुढी बिरामी भएदेखिनै उनले पटकपटक फोनमा प्रयास नगरेका होइनन् तर ‘कहिले निद्रा त कहिले काममा छु पछि कुरा गरौँला’ भन्दै अरू कुरै नसुनी उनीहरुले फोन राख्दै आए ।

    आमाको अवस्था नाजुक छ भन्ने खै कसले खबर पुर्‍याएछ कुन्नि ! जेठो आमाको अन्तिम अवस्थामा मुखमा पानी हाल्न टुप्लुक्क आइपुग्यो ।
    मर्ने बेलामा ‘कान्छा ! कान्छा !’ भन्दै आमाको श्वास रोकियो । यो देखेर बाले जेठालाई सोधे- ” ठुले ! भाइ खै त ?”
    बाको कुरा सुनेर जेठाले सजिलै उत्तर दियो- “म पनि त्यति सजिलै कहाँ आउँन पाएको हुँ र ? अनेक ताल बिन्ती गर्दा बल्लतल्ल मालिकले दस दिनको छुट्टी दियो । परदेशको बसाइँ, घरको लोन, केटाकेटीको पढाइ, एकदिन काममा नगए मुखमा माड लाग्दैन । पटकपटक एउटै मान्छे नेपाल आइरहन अनुकूल नमिल्न सक्छ, त्यसैले हामीले त पालो गरेका बा !”
    भरतपुर ९ , चितवन
    २०८०/ ११/ २६

    ३) लघुकथा: हतारो

    ✍️ सविता के.सी.
    उनी डाँको छाडेर रोइरहेकी थिइन् । मैले सोधेँ- “तिमी किन यसरी रोएकी ?”
    “गुरुबा त बित्नुभयो ।” उनले भनिन् ।
    “ला, हो र ! कहिले बित्नुभयो ?” मैले सोधेँ ।
    “आजै”
    “अजम्बरी त को छ र संसारमा ? तर उहाँ अमर हुनुहुन्छ । उहाँको कृतिले उहाँलाई अनन्तकालसम्म अमर बनाउने छ ।” म भनिरहेको थिएँ । उनी रोइरहेकी थिइन् । “यति धेरै मन नदुखाऊ । कर्म पो गर्ने हो ।”
    उनले भनिन्- “म स्टेजमा उभिएर माइकमा चिच्याइरहेकी थिएँ । उहाँको उपचारको लागि सहयोग मागिरहेकी थिएँ । जसले सहयोग गर्छु भनेन, एकपटक हालखबरसम्म सोधेन । पार्थीव शरीर अस्पतालबाट निकालेको पनि छैन । तर उसले फेसबुकमा फोटो सहित हार्दिक श्रद्धाञ्जली राखेछ । अनि त ! कम्ता मन दुखेन मेरो ।”
    दाहसंस्कार नगरी श्रद्धाञ्जली लेख्ने चलन नै थिएन । म पनि झसङ्ग भएँ । “स्वार्थी मानिसहरू यस्तै हुन् । नाम चाहन्छन् । यस्तै बेला हो मानिसको व्यवहार चिन्ने । अब नरोऊ ।”
    म पनि मन भारी पारेर हिँडे । मानिसको व्यवहार यस्तो पनि हुन् नि !

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभव, साताका तीन लघुकथाLeave a Comment on साताका तीन लघुकथा- ५२

    Posts navigation

    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P