• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

जसपाको निर्णयपछि कांग्रेसभित्र वैकल्पिक सरकारको बहस

  • ६ जेष्ठ २०७८, बिहीबार १५:०५ मा प्रकाशित
  • ५ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीले अहिलेको सरकारलाई सहभागी नहुने, बरु आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र फेरि वैकल्पिक सरकारको बहस भएको छ ।
    जसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य निकालेर सरकारमा सहभागी नहुने र राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अवसर आएमा अघि बढ्ने बताएका थिए । त्यसपछि बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकमा नेताहरुले वैकल्पिक सरकारका लागि अघि सर्न नेतृत्वलाई आग्रह गरेका छन् ।
    सांसद राजेन्द्र केसीले नेपाली कांग्रेसले वैकल्पिक सरकारका लागि अग्रसरता लिनुपर्ने बताए । ‘अहिले अल्पमतको सरकार छ । यसले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । जसपाको निर्णयले वर्तमान सरकारले विश्वासको मत नपाउने पुष्टि गरेको छ’ उनले भने, ‘विश्वासको मत नपाएपछि संविधानको धारा ७६ को ५ अनुसारको नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन्छ । त्यसबेला कांग्रेसले वैकल्पिक सरकार निर्माणका लागि अग्रसरता लिनुपर्छ ।’
    कांग्रेसका अर्का नेता देवेन्द्रराज कंडेल जसपाको निर्णयका विषयमा कांग्रेसमा छलफल हुनुपर्ने बताए । ‘जसपाले औपचारिक रुपमा छलफलको प्रस्ताव गर्यो भने बस्नुपर्छ । उसले यस कारणले आफ्नो नेतृत्व भन्ला वा कांग्रेस नेतृत्वलाई समर्थन गर्ने नगर्ने वा वर्तमान सरकारकै विषयमा केही भन्ला त्यो सुन्नुपर्छ ।’
    कांग्रेसका अर्का नेता रामबहादुर विष्टले केपी ओली नेतृत्वको सरकार बर्हिगमनका लागि कांग्रेसबाहेकको नेतृत्वका लागि समेत तयार हुनुपर्ने बताए ।
    ‘वर्तमान सरकारको बर्हिगमनका लागि अन्य दलले दाबी गरेको छ र त्यो अवस्था आयो भने पनि तयार हुनुपर्छ’ विष्टले अनलाइनखबरसँग भने ।
    कांग्रेस नेतृ डिला संग्रौलाले पनि वर्तमान सरकार बर्हिगमनका लागि सबै विकल्पमा कांग्रेस तयार हुनुपर्ने बताइन् । ‘ओली सरकारको बर्हिगमन आजको प्रमुख आवश्यकता हो’ नेतृ संग्रौलाले अनलाइनखबरसंग भनिन् ।
    कांग्रेस प्रमुख सचेतक वालकृष्ण खाँडले भने संसदीय दलको नेता चयनको विषयलाई लिएर जसपामा फेर विवाद देखिएको र एउटा पक्षले अझै वर्तमान सरकारलाई समर्थन गर्न सक्ने आशंका रहेको बताए ।
    बुधबारको बैठकमा देउवाले जसपाकै कारण वैकल्पिक सरकार गठन हुन नसकेको भन्दै अहिले भने जसपाको निर्णय अर्थपूर्ण रहेको बताएका थिए ।
    वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका थिए । त्यतिबेला जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतो पक्ष तटस्थ बसेको थियो भने बाबुराम भट्टराई – उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीको विपक्षमा मत दिएको थियो ।
    तर राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समयभित्र विपक्षी दलले वैकल्पिक सरकारका लागि आवश्यक संख्या पुर्‍याउन सकेनन् । त्यसपछि ओली नै वैशाख ३० गते ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त भए । अब प्रधानमन्त्री ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ ।
    विश्वासको मत लिँदा प्रधानमन्त्री ओलीले जसपाको मत नपाएर पुनः पदमुक्त हुने कतिपय कांग्रेस नेताहरु बताउँछन् । तर जसपाले वैकल्पिक सरकार निर्माणमा साथ नदिए मुलुक निर्वाचनतिर जान सक्ने उनीहरुको बुझाइ छ ।
    कांग्रेस नेताहरुले अल्पमतको सरकारले पूर्ण बजेट ल्याउन नपाउने पनि बताएका छन् । प्रमुख सचेतक वालकृष्ण खाँणले भने, ‘यो सरकार संवैधानिक, राजनीतिक, प्रशासनिक, कोभिड नियन्त्रण, जनताको जीवन रक्षाको लागि असफल भएको छ । बजेट ल्याउन पनि असफल हुन्छ यो ।’
    कांग्रेस नेता राजन केसीले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नपाउने विषयलाई कांग्रेसले जोडदार रुपमा उठाउने बताए ।

    Posted in राजनीतिLeave a Comment on जसपाको निर्णयपछि कांग्रेसभित्र वैकल्पिक सरकारको बहस

    प्रधानमन्त्री ओली र मन्त्री श्रेष्ठविरुद्ध कांग्रेसले दियो निर्वाचन आयोगमा उजुरी

  • ६ जेष्ठ २०७८, बिहीबार १४:२१ मा प्रकाशित
  • ६ जेठ, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।
    राष्ट्रियसभा उपनिर्वाचनमा मौन अवधि सुरु भइसकेपछि बुधबार प्रधानमन्त्री ओलीले र मन्त्री श्रेष्ठले विज्ञप्ति निकालेर नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई मतदान गर्न अपिल गरेका थिए ।
    त्यसविरुद्ध कांग्रेसले निर्वाचन आयोगमा बिहीबार उजुरी दिएर कारवाहीको माग गरेको हो ।
    ‘आचारसंहिता विपरीत सरकार प्रमुखले नै अमुक उम्मेदवारलाई नै विजय गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्त विपरीत भएको छ’ कांग्रेसले निर्वाचन आयोगले दिएको पत्रमा भनिएको छ ।
    जेठ ५ गते बसेको कांग्रेस संसदलीय दलको बैठकले प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता विपरीत मत माग्ने वक्तव्य दिएको भन्दै भत्र्सना गर्ने निर्णय गरेको संसदीय दलका अधिकृत विजयेन्द्र वीर आलेले जनाएका छन् ।

    Posted in राजनीतिLeave a Comment on प्रधानमन्त्री ओली र मन्त्री श्रेष्ठविरुद्ध कांग्रेसले दियो निर्वाचन आयोगमा उजुरी

    माधव नेपाललाई भेट्न बादल कोटेश्वरमा

  • ४ जेष्ठ २०७८, मंगलवार १५:१९ मा प्रकाशित
  • ४ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् ।
    जेठ ६ गते उपनिर्वाचनको मिति नजिकिएका बेला थाप नेता नेपाललाई भेट्न पुगेका हुन् ।
    राष्ट्रियसभा उपनिर्वाचनमा थापाको प्रतिस्पर्धीमा माधव नेपाल समूहका डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ रहेका छन् ।
    देवकोटालाई माधव नेपाल पक्ष, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन गरेका छन् ।

    Posted in राजनीतिLeave a Comment on माधव नेपाललाई भेट्न बादल कोटेश्वरमा

    कोरोनाविरूद्ध लड्न थप कानुनी संरचना आवश्यक रहेको सरकारको निश्कर्ष

  • २ जेष्ठ २०७८, आईतवार १६:२२ मा प्रकाशित
  • सरकारले कोरोना भाइरसको संक्रमणविरूद्ध लड्न थप कानुनी संरचना आवश्यक रहेको ठहर गरेको छ। 

    आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा बसेको सिसिएमसीको बैठकले संक्रमणविरूद्ध लड्न थप कानुनी संरचनाहरू आवश्यक रहेको निश्कर्ष निकालेको हो। 

    छलफलमा सहभागी रहेका पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले संक्रामक रोग ऐन २०२० को प्रावधानले मात्र नपुग्ने भएर त्यसमा आवश्यक तयारी गर्नका लागि कानुन मन्त्रालय र अरू सम्बद्ध निकायलाई निर्देशन दिइएको जानकारी दिए। 

    साथै, अक्सिजन प्लान्ट, कन्सन्ट्रेटर, सिलिण्डर र खोपको तत्काल आपूर्तिका लागि सम्बन्धित निकायहरूलाई तदारूकताका साथ काम गर्न निर्देशन पनि दिइएको ज्ञवालीले जनाए।

    copied:setopati

    Posted in राजनीतिLeave a Comment on कोरोनाविरूद्ध लड्न थप कानुनी संरचना आवश्यक रहेको सरकारको निश्कर्ष

    एमालेका प्रेमिल गुट : रतिक्रीडाको उत्सर्गमा

  • २ जेष्ठ २०७८, आईतवार १५:०० मा प्रकाशित
  • हिजोसम्म एमालेको एउटा गुटसँग लहसिएकाहरू या अस्तिका दिनसम्म अर्को गुटको पुच्छर समाएर वैतरणी तरेका रैतीहरू यति छिट्टै यति धेरै असल र यिनीहरू मात्र यति धेरै खराब हुन एकैचोटि कसरी सम्भव भएछ ? अलि हजम हुन सकेको थिएन ।
    अहिले यी प्रेमिल गुटहरूको संसदीय रतिक्रीडाको उत्सर्ग देखियो । यो त अझै एक महिना जारी रहन्छ रे । भाइरस कोरोना र राजनीतिको यो महाकोरोनाको साइनो के छ होला ? जिज्ञासावश एकनजा चिनेजानेका डाक्टरलाई सोधेको थिएँ । यसबारेमा आधुनिक चिकित्साविज्ञानले आधिकारिक अनुसन्धान र निष्कर्ष निकालेको त थाहा भएन तर मानव तथा समाजशास्त्र विज्ञानमा भने यसका धेरै व्याख्या र विश्लेषण भएका छन्  ।
    हुन त यो महाकोरोना एमालेमा मात्र लागेको छैन । यो समग्र नेपाली राजनीतिको तीतो यथार्थ हो । राजनीतिमा लागेका सबै अन्ध रैती कार्यकर्ता जहिलेसम्म फेरिँदैनन् यो देशको राजनीति फेरिँदैन । अहिलेसम्म यिनको विवेक हैन रजौटा प्रतिको रैतिभाव मात्र बोल्छ ।
    नेपाली कम्युनिस्टको एकता नामको हात्तीको दाँत देखाएर प्रधानमन्त्री चपाउन गरिएको चटके खेलबाट सुरु भएको यो यात्रा यो रासलीलासम्म पुगेको हो । यी चटकेले गरेको मन्त्रणामा अर्काे रतिलिप्साको र्‍यालसँगै यो रसलीला पटाक्षेप हुँदै गयो । लहरो तान्दा पहरो गर्जेझैँ यसले तथाकथित दुई तिहाइ, संविधानवाद, समाजवाद उन्मुख समाज र आफैले भनेको समृद्ध नेपाल र सुखी नेपालीको सपनाबाट सबैलाई बिउँझाइदियो ।
    सँगै चलाउने भनेको नेकपाको जेट धावनमार्गमै छोडेर नियतपूर्वक सेटिङ गरेर आफ्नो बयलगाडा चलाउन पुगेका नेकपाका पाइलटले यसको चालकमा त के खलासीमा पनि आफ्ना गुटका प्युसाबाहेक बसैलाई ढिम्किन दिने कुरा भएन । यसैको परिणाम थियो यो कोरोना कालभरि भएको महाकोरोनाको ताण्डव नृत्य । बाँस काट्ने हो भने पहिला यसका हाँगा छिमल्न पर्छ भन्ने कुरामा विश्वस गर्ने एउटा गुटका एकल महारथीको सत्ता उन्माद र कुण्ठाको बीउ बुझ्न सजिलै सकिन्छ ।
    उनको बयलगाडा धकेले बापत सत्ताको रसास्वादन गर्न पल्केका भान्सेहरूले निरोको महाभोजको पाहुनाजस्तो मस्त भोज खाँदै डकार्नु र डुक्रिनु स्वाभाविक थियो । त्यसैमा मिसिन आएका छिमेकी भाते आफ्नो सीमामा प्रवेश गर्नेप्रति ङारङुर नगरी बस्ने त कुरै भएन । यसैमा अल्झेको एकता वार्ता अर्को  गुटको राजीनामासँगै सत्ताबाट बहिर्गमनको भयङ्कर सपनाबाट झल्यास भयो
    फेरि वार्ताको मञ्चन सुरु
    भारतीय व्यङ्ग्य कवि सरल सम्पतले भारत–पाक वार्ताका बारेमा गरेको व्यङ्ग्यजस्तै वार्ताका लागि वार्ता र वार्ताका लागि मात्र वार्ता गर्ने क्रम अब एक महिनामा वार्ता गरेर टुङ्गो लगाउने गरी सौहार्द वार्तामा सकिएको कुरा सबैसँग वार्तालाप गरेर भनिएको छ । जुम्ल्याहा एमालेको भविष्यको नियति र नियत थाहा पाउन कोरोनाले कति हताहत भए र भोकभोकै बस्न को बाध्य भए भन्ने समाचार हेर्दै अरू  एक महिना नजरबन्दमै बसेर पर्खे हुन्छ ।
    अहिले यी गुट अमिर खुसरोको सुहागकी रात बितायो पिया के संग, तन मेरा मन पिया कि दोनो एक हि रंग, एक ही संग को धुनमा रमाउँदै मधुमासको बेला पर्खेर बसेको प्रेमिल जोडी सिद्ध भएका छन् । तर यो सबै देखेर अरूको त कुरै छोडौ चर्पी जान त अरूले देखे के भन्लान् ? भनेर जङ्गल जाने शङ्कर नेपालीहरूसमेत सरमले भुतुक्क भएका छन् ।
    यिनको नौटङ्कीले निकट भविष्य केही केही समय कष्टकर त हुन्छ तर यसले नै हाम्रो ढोकासमेत खुल्न सुरु हुन्छ । थप समय किन लाग्छ भने असक्षम शेरबहादुर फेरि सक्षम भएको जाँच्न अरू समय लाग्छ । किनकि हामी सबै  प्रोन भिडियो हेर्न पल्केको मानिस जस्तै राजनीतिका अम्मली रैती जो भएका छौं ।
    सामान्यतया बोटबिरुवामा कुहिने रोग जरा वा फेदबाट सुरु हुन्छ र सुक्ने रोग टुप्पाबाट तर अहिलेको जस्तो सत्ता राजनीतिमा यो ठीक उल्टो हुने गर्छ । यसमा कुहिने रोग टुप्पा र सुक्ने रोग जराबाट सुरु हुन्छ । नेपालका सबै पार्टीमा यो रोग फैलिएको छ । विगत तीन दशकमा सत्ता राजनीतिमा जे रासलीला  देखियो । यो त्यसैको उत्कर्ष थियो । राजनीति थिएन, लाजनीति थियो । यसबाट एमाले अछुतो हुने कुरै छैन ।
    यो अवधिमा नेता र उपल्लो तहका रैतीले गरेका सबै कुकर्मको हेक्का इतिहासले राख्ने नै छ । यदि कोरोना आँखाबाट सर्ने भएको भए अहिले हामी सबै आँखामा पट्टी बाँधेर हिँडेका हुने थियौँ । कम्तीमा यी नेता नामका रजौटाले फालेको लाजनीतिको लगौटी हेर्न पर्ने थिएन । यिनले लगौटी फालेर देखाएको लाजनीतिको दुर्दशाबारे सामाजिक सञ्जालमा अनेकौँ टिप्पणी देखियो । कतिसम्म भने बालुवाटारमा घडेरी दिएर भए पनि फकाउनु पर्छ रे । यसले लाजनीतिको पराकाष्टा देखाउँछ ।
    पूर्खाले अपनाउँदै आएको लोकतन्त्रको मर्म गोरु जुधाउने बेत्रावतीका किसानबाट मात्र सिकेको भए पनि खुइते, तिखे, पेन्टे, तारे सबैका हुक्का गर्दै भित्तामा उधिनेकै भरमा सिङ फुक्लिएको देखाउँदै आफ्नै कार्यकर्तालाई कमिजको बाउलाले आँखा छेप्न पर्ने बनाउन त पर्थेन ।  हुन त ठालु नेताले लगौटी फालेर देखाएको जात्रा हेर्न नसकेर कमेजका बाउलाले आँखा छोप्ने नेकपाका नेता कार्यकर्तालाई अब केही राहत मिल्यो होला ।
    संसारका सबैभन्दा खतरनाक मानिस ती हुन् जसले अरूका लागि सबैभन्दा ठीक के हो भनेर आफूले मात्र जानेको विश्वास गर्छन् । राम मन्दिर बनाउँछन् र आफूलाई राम बनाए रामराज्य दिने सपना देखाउँछन् । सबैभन्दा निरिह ती हुन् जसले यो कुरा पत्याएर रैती बन्न तमतयार हुन्छन् ।
    नेपालमा समाजवादको व्यावहारिक प्रयोगका केही राम्रा नराम्रा अनुभवको बीउ छन् । यिनलाई उन्नत बनाउन मात्र जोगाउने हो । अब यी फसल काटेर आउने बीउ छरेर उम्रिँदैन । किनकि यसमा उपनिवेश परस्त राष्ट्रवादी कम्युनिस्ट नामको रजौटा र रैती नामको विष परेको छ ।
    नेपाली समाजको एमालेकरण जनताको जनवादको फरिया लगाएको समाजवाद यही ऐँजेरु बीउजस्तै भएको छ । अन्नतः एमाले भारदारी कम्युनिस्टको पुरातनी विरासतमा बिसर्जन भएको छ । यसको विभाजन कुण्ठा र दम्भको तुष्टीकरणको पुष्टि थियो । आखिर त्यो पनि अहिले तुहिने आशङ्कामा छ । अहिलेसम्मको यिनका गालीगलौज र पाखण्डीपन अरूले खोज्दै कुरा काट्नै परेन । सामाजिक सञ्जालका भित्ता तिनैका गालीगलौजले भरिएका छन् । अब यो भन्नेलाई डन्डा लगाउने कानुन अध्यादेशबाट ल्याएमा अचम्म हुनेछैन । यसको रबर स्ट्याम्प त यिनैका खल्तीमा छँदैैछ ।
    अरूलाई थाङ्ना खोज्दै सुत्न जाने भनेर खिसीट्युरी गर्नेहरू नै आज थाङ्ना बोकेर लम्पसार पर्न गएका छन् । भोलिदेखि राजनीति सम्भावनाको खेल हो भनेर यनैले चर्को भाषण गर्ने नै छन् । पर्ख र हेर भनेर बसेका शुभेच्छुकहरू ट्वाँ परेका छन् । यो सबै रजौटा र रैतीको खेल हेर्न हामी यिनका पनि रैती सबै सामाजिक संजाल खोलेर बसेकै छौँ ।
    ओलीले गाम न देर ठाम खोज्न परेको हो अझै पनि गाम दे भने त ओलीसँगै बसिन्छ है भन्ने कथन पूरा भएको छ । यिनीहरू पनि राज्य नभई राम कसरी हुनु बिचरा । अनि रैतीलाई राम राज्य कहाँबाट ल्यएर टक्र्याउनु फेरि । त्यसैले त अहिले प्रतिगमनका पाइला चाल्ने नालायक अधिनायक होऊन् वा संस्थागत विधि विधानको बकबक एक महिने युद्ध विराममा परेको छ । इजराइल प्यालेस्टाइन जस्तै कतिबेला गोला बारुद सुरु हुन्छ केही ठेगान छैन ।
    बाढी रोक्न बनाएको खोलाको बाँधजस्तै धैर्यताको पनि सीमा हुन्छ । थेग्न नसके सबै बगाएर लैजान्छ । यो अग्रगमनको यात्रा रोक्ने विवेकहीन ठालु नेता र तिनका रैतीलाई यो बुझाउने बेला भइसकेको छ ।  सँगै स्वार्थ बाझिएर टुक्रिएका र टुक्रिन तयार भएका पार्टीहरूलाई कुरीकुरी भन्दै हौसिने मात्रभन्दा यिनलाई जगैदेखि भत्काएर राजनीतिको नयाँ जग निर्माण गर्न खुट्टा टेकेर उभिने जोकोहीलाई सघाएर मात्र हाम्रो भविष्य राम्रो बनाउन सकिन्छ ।
    कुण्ठा, अहङ्कार र मुकट्र्टा दृष्टिकोणको हावादारी लुगा लगाएका सहर घुम्ने नेतातन्त्रका रजौटा सत्तामा रहँदा २० र बाहिर हुँदा १९ मात्र हुन् । यिनका विवेकले अब नेपाल र नेपालीको भविष्य बन्दैन । तर यिनका रैतीभन्दा माथि उठेर फेरिन तम्सिएका राजनीतिका अनुभवी इमानदार कार्यकर्ता भने भूकम्पले भत्काएर रातो स्टिकर टासेको घरका इँटा, ढुङ्गा, डाडा भाटा, झ्याल, ढोका र चौखटजस्तै काम लाग्छन् तिनलाई समेल्दै गरौँ । किनकि अब सबैमिलेर नयाँ राजनीतिक संस्कृतिको घर बनाउनुको विकल्प छैन ।
    अबको राजनीतिक यात्राले अहंकारी नेतृत्व, निकम्मा कर्मचारी तन्त्र र यीसँगको सहवासमा नेपाल र नेपालीलाई परनिर्भरताको साङ्लोमा बाँध्न सघाउने बिचौलियाको गठजोड बढार्ने हैसियत भएको सङ्क्रमणकालीन नेतृत्व जन्माउन सक्नुपर्छ । सचेतता र सावधानीपूर्वक यस्तो नेतृत्व र आन्दोलनको बलमा नयाँ घरको जग बनाउन नसक्ने हो नेपाली राजनीतिको सङ्क्रमणकालीन यात्रा अझै लामो मात्र हुनेछैन झनै कष्टकर समेत हुनेछ ।
    सबैले याद गरौँ, गुटका गोटी फेरेर या यिनै निकम्मा पार्टी र नेतालाई पालैपालो सक्षम र असक्षमको बिल्ला भिराउँदै घुम्ने कुर्चीमा बस्न दिएर यो देशको मुहार कुनै हालतमा फेरिँदैन । यिनलाई पालो दिन कस्सिएका सबैलाई धैर्यसाथ साथ दिन सके बेग्लै कुरा नत्र चिसो पानीले नुहाउनुको विकल्प छैन ।

    Posted in राजनीतिLeave a Comment on एमालेका प्रेमिल गुट : रतिक्रीडाको उत्सर्गमा

    कमल थापालाई ओलीको फोन : बादललाई भोट दिनुहोला !

  • २ जेष्ठ २०७८, आईतवार १४:०० मा प्रकाशित
  • एमालेको विवाद समाधान उन्मुख रहेका बेला बागमती प्रदेशमा जेठ ६ गते हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनको भिडन्त रोचक मोडमा पुगेको छ । एमालेको माधवकुमार नेपाल पक्ष समेतको सहयोगमा विपक्षी गठबन्धनबाट एमालेसमर्थित खिमलाल देवकोटा उम्मेदवार रहेका छन् भने एमालेबाटै रामबहादुर थापा बादल उम्मेदवार छन् । केन्द्रमा एमाले नेताहरु मिलेका छन्, बागमती प्रदेशमा भने बागी उम्मेदवारको चर्चा छ ।
    चुनावको दिन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बादललाई भोट हाल्ने भएको छ । सो पार्टीका वरिष्ठ नेता दीपक बोहराले पार्टीले एमालेलाई सघाउने रातोपाटीलाई जानकारी दिए । ‘पार्टीले आधिकारिक निर्णय त गर्न बाँकी नै छ, हामीले एमालेलाई नै सघाउँछौं । पार्टीमा त्यही अनुसार अनौपचारिक कुरा पनि भइसकेको छ ।
    एमाले पार्टीभित्रको विवाद उत्कर्षमा रहेको बेला काँग्रेस–माओवादीसमेतको समर्थनमा एमाले समर्थित भट्टराईलाई उम्मेदवार बनाइएको र हाल एमालेको विवाद समाधान उन्मुख हुँदै गर्दा उपनिर्वाचनमा माधव समूहको भोट कता रहने भन्ने अन्योलका साथै भिडन्त रोचक बन्ने देखिएको हो ।
    कमल थापालाई ओलीको फोन !

    यसैबीच पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार रहेका गृहमन्त्री समेत रहेका बादललाई भोट माग्दै एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष कमल थापालाई फोन गरेका छन् । शनिबार पार्टीका ३ अध्यक्षसहितको शीर्ष नेताको बैठकमा अध्यक्ष कमल थापाले यसबारे ब्रिफिङ गरेका छन् ।
    उनले आफूलाई प्रधानमन्त्री ओलीले फोन गरेर निर्वाचनमा सहयोग मागेको जानकारी गराएका थिए । त्यसबारे बैठकमा छलफल हुनुका साथै आधिकारिक पत्र आए ओलीलाई नै मत दिने बारेमा निष्कर्ष निकालिएको राप्रपाका एक नेताले रातोपाटीलाई जानकारी दिए । ती नेताका अनुसार अहिलेको अवस्थामा विपक्षी गठबन्धनको उम्मेदवारबारे नै अन्योल रहेको र ओलीसँग विगतमा पनि भएको सहकार्यको आधारमा बादललाई नै मत हाल्नु हितकर हुने निष्कर्ष निकालिएको हो ।
    राप्रपाको प्रदेशसभामा २ सांसद रीता माझी र रीना गुरुङको प्रतिनिधित्व  छ । उनीहरुको मतभार ९६ हुन्छ । स्थानीय तहतर्फ धादिङको रुबिभ्याली गाउँपालिकाका अध्यक्ष चेरुत तामाङ र उपाध्यक्ष बिना लामासमेत मतदाता हुन् । उनीहरुको मतभार ३६ हुन्छ । यस हिसावले उपनिर्वाचनमा राप्रपाको जम्मा मतभार १३२ छ ।
    राप्रपा नेता मोहन श्रेष्ठले एमालेले आधिकारिक पत्र पठाउन बाँकी रहेकाले सो पत्र प्राप्त भएपछि पार्टीले आधिकारिक निर्णय गर्ने रातोपाटीलाई बताए ।
    उपनिर्वाचनमा बागमती प्रदेशका १०९ जना र स्थानीय तहका प्रमुख र उपप्रमुखहरू २३८ जनाले मतदानमा भाग लिनेछन् । यीमध्ये माधव पक्षले भोट दिँदा मात्रै डा. देवकोटाले जित्ने सम्भावना छ ।

    Posted in राजनीतिLeave a Comment on कमल थापालाई ओलीको फोन : बादललाई भोट दिनुहोला !

    कांग्रेस : सत्तामा होइन, अपजसमा साझेदारी

  • २ जेष्ठ २०७८, आईतवार ०८:४२ मा प्रकाशित
  • १ जेठ, काठमाडौं । जतिबेला अरु दलसँगै पार्टीभित्रबाट पनि अविश्वास प्रस्ताव दर्ता गर्न तारन्तर प्रस्ताव आयो, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बहुमत खोजे । १९ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली आफैंले विश्वासको मत लिने निर्णय गरेपछि देउवा वैकल्पिक सरकार गठन गर्न कस्सिए ।
    तर, प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदमा विश्वास गुमाएसँगै प्रमुख विपक्षी कांग्रेस वैकल्पिक सरकार दिन पनि असफल भयो । कांग्रेस नेताहरुको निष्कर्ष छ, महामारीका बेला सत्ताको खेलमा लागेको अपजस मात्रै आइलाग्यो ।
    नयाँ सरकार गठन गर्ने प्रयास किन सफल भएन ? कांग्रेसको संस्थापन र इतर पक्षका नेताहरुको आफ्नै व्याख्या छ । देउवा निकट केन्द्रीय सदस्य एनपी साउद भन्छन्, ‘जसलाई भर गरेका थियौं, त्यही पार्टीले कुनै निर्णय दिन सकेन ।’
    कांग्रेस संस्थापनको बुझाइमा नयाँ सरकार गठनमा माओवादी केन्द्रले अपेक्षा अनुसार नै भूमिका खेल्यो । जसपाको डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले पार्टीभित्र बहुमत आफूहरुसँग भएको दाबी गरेको थियो । एमालेमा माधवकुमार नेपाल समूह पनि ओलीसँग असन्तुष्ट भएकाले राजनीतिक निकासका लागि सरकार गठन गर्न कांग्रेस सभापति देउवा अगाडि बढेका थिए । तर जसपाले निर्णायक क्षणमा संस्थागत निर्णय नगर्दा वैकल्पिक सरकार बनेन ।
    तर संस्थापन इतर समूहका नेताहरु त्यो मान्न तयार छैनन् । उनीहरुका अनुसार, जतिबेला एमालेमा ओली र नेपाल समूहको विवाद उत्कर्षमा पुगेको थियो, त्यो बेला प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव लैजानुपर्थ्यो । कर्णाली प्रदेशमा झैं माधवकुमार नेपाल समूहका सांसदहरुले फ्लोर क्रस गर्थे ।
    त्यसबेला देउवाले पार्टीका बैठकहरु मात्रै होइन, सार्वजनिक मञ्चहरुमै बहुमत छैन भनिरहे । केन्द्रीय कार्यसमितिले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्दा पनि सभापति देउवाले अग्रसरता नदिएको इतर पक्षका नेताहरुको गुनासो छ ।
    पछिल्लो समय भने देउवाले अग्रसरता लिएका थिए । तर सरकार बन्ने भइसक्यो भने झैं गरेर पार्टीकै नेताहरुको समेत सहयोग नलिएको आरोप पनि छ । संस्थापन इतर पक्षका एकजना नेता भन्छन्, ‘तर उहाँलाई न महन्थ ठाकुरजीहरुले विश्वास गरेर नयाँ सरकार गठनका साथ दिनुभयो, न माधव नेपालजीहरुले सांसदबाट राजीनामा दिनुभयो ।’
    संस्थापन पक्षका नेता साउद भने आफूहरु माधव नेपाल समूहमा धेरै भर नपरेको दाबी गर्छन् । पार्टीमा अध्यक्ष ओलीसँग व्यापक असन्तुष्टि भएर नै नेपाल समूहले विश्वासको मत नदिएको भन्दै उनले भने, ‘राजनीनामा दिने तहमा पुग्नुहन्छ भन्नेमा आशंका थियो । त्यसैले उहाँहरुबाट भन्दा जसपामै भर गरेका थियौं ।’
    उनी प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नलगेर सरकार नबनेको दाबी मान्न तयार छैनन् । ‘पहिले हाम्रो जे मूल्यांकन थियो, परिणाम त्यही आयो,’ साउद भन्छन्, ‘पार्टीका साथीहरुले अग्रसरता लिनुभएन भनिरहँदा पनि हामीलाई सभापतिजीले अग्रसता लिएर गुणात्मक अन्तर आउँदैन भन्ने लागेको थियो, त्यही भयो ।’
    राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने सरकार बनाउने उत्कट चाहनाले भन्दा पनि ओलीविरोधी माहौल बनेकाले त्यसको नेतृत्व गर्न मात्र देउवा अग्रसर भएको बताउँछन् । तर आफूले चुनाव जित्न सघाएका महन्थ ठाकुरहरुको समेत विश्वास जित्न नसक्दा सरकार बनाउन असफल भएको उनले बताए ।
    ‘राजनीतिमा रणनीतिक चालहरु हुन्छन्, त्यसमा हरेक पटक (चुनावको परिणाम ल्याउन, प्रतिपक्षको भूमिका खेल्न) देउवा असफल हुनुहुन्छ,’ राजनीतिक विश्लेषक आचार्य भन्छन्, ‘सरकार गठनमा पनि त्यही भयो ।’
    सत्ता होइन, अपजसमा साझेदारी
    जतिबेला राजनीतिक दलहरु सरकार टिकाउने-भत्काउने खेलमा लागेका थिए, जनता कोरोना महामारीले आक्रान्त थिए । संक्रमण तीव्र गतिमा फैलिएका कारण अस्पतालहरु बिरामीले भरिएका थिए । गम्भीर अवस्थामा भएका संक्रमितहरुले अस्पतालमा बेड त परै जाओस्, अक्सिजन समेत पाइरहेका थिएनन्  । अक्सिजन नै नपाएर संक्रमितहरुले ज्यान गुमाउनु परेको थियो ।
    त्यही बेला प्रधानमन्त्री र एमाले नेताहरु सरकार जोगाउन राजनीतिक भेटवार्ता र बैठकहरुमा व्यस्त थिए । कांग्रेसका नेताहरु भने नयाँ सरकार बनाउन जसपाको एउटा पक्ष र एमालेको असन्तुष्ट पक्षलाई साथ खोज्न दौडधुपमा थियो ।
    कांग्रेस नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले संसदको विश्वास गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रयास गर्नु प्रमुख प्रतिपक्षी दलको धर्म थियो । विकल्प नखोजेको भए पनि प्रश्न उठ्थ्यो । तर, विकल्प खोज्दा पनि प्रश्न उठ्ने अवस्था बन्यो अहिले ।
    पार्टी नेतृत्वले नयाँ सरकार गठन किन गर्नुपर्‍यो भनेर जनतालाई बुझाउन पनि नसकेको भन्दै कांग्रेसका एक नेता भन्छन्, ‘जनता महामारीले आक्रान्त भएका बेला सत्ता राजनीति गरेको अपजसको भारी प्रधानमन्त्रीसँगै अरुले पनि बोक्नुपर्ने भयो । हामी सबै बद्नाम भयौैं ।’

    Posted in राजनीतिLeave a Comment on कांग्रेस : सत्तामा होइन, अपजसमा साझेदारी

    नेपाली जनसंपर्क समिति साउदीअरबको दोस्रो राष्ट्रिय अधिबेशन अनलाइन भर्चुअल माध्यमद्वारा भब्यताका साथ सम्पन्न :

  • २ जेष्ठ २०७८, आईतवार ०१:४१ मा प्रकाशित
  • नेपाली जनसम्पर्क साउदी अरबको दोस्रो राष्ट्रिय ऐतिहासिक अधिबेशन मिति १४ मे २०२१ तदनुसार ३१ बैशाख २०७८ शुक्रबारका दिन जुम भर्चुअल अनलाईन मार्फत सम्पन्न भएको छ । नेपाली कांग्रेस पार्टी उपसभापति एवं पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री श्री बिमलेन्द्र निधि प्रमुख अतिथि रहनुभएको उक्त अधिवेशन समुद्घाटन समारोहका केन्द्रीय प्रतिनिधि भने महासमिति सदस्य तथा नेपाली जनसम्पर्क समिति युएईका सभापति श्री भुवानी प्रसाद तिमिल्सिना रहनुभएको थियो ।

    विशिष्ट अतिथिमा नेपाली कांग्रेस पार्टी सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत हुनुहुन्थ्यो, बिशेष अतिथिहरुमा नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं नेपाली जनसंपर्क समिती समन्वय बिभाग प्रमुख श्री गोबिन्द भट्टराई, नेपाली काग्रेस केन्द्रिय सदस्य एवं संसद सदस्य (प्रतिनिधी सभा) एवं नेपाल महिला संघ पुर्व अध्यक्ष माननीय डा. डिला संग्रौला, नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं ने. बि. संघ पुर्व अध्यक्ष श्री प्रदिप पौडेल, पुर्व रक्षामन्त्री एवं संसदीय सुनुवाई समिति सदस्य मानानीय श्री भिमसेन दास प्रधान, नेपाली राजदूतावास रियाद साउदी अरबका राजदूत महामहिम प्रो.डा.श्री महेन्द्र सिंह राजपूत, नेपाली कांग्रेस आमन्त्रीत केन्द्रिय सदस्य एवं जनसंपर्क समिति अमेरिकाका सभापति श्री आनन्द बिष्ट, नेपाली कांग्रेस आमन्त्रीत केन्द्रिय सदस्य एवं जनसंपर्क समिति भारतका सभापति श्री बालकृष्ण पाण्डेय हुनुहुन्थ्यो । उक्त कार्यक्रमको अतिथिहरुमा नेपाली जनसम्पर्क समिति अन्तर्गत विदेश स्थित केन्द्रीय विभागीय सदस्यहरु, विभिन्न देशका जनसम्पर्क समितिका सभापतिहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, नेपाली जनसम्पर्क समिति साउदी अरबका भूतपूर्व पदाधिकारीहरु, क्षेत्रीय समितिका पदाधिकारीहरु, क्रियाशील सदस्यहरु, गैर आवासीय नेपाली संघ राष्ट्रिय तथा अन्तराष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, साउदी अरब स्थित बिभिन्न राजनैतिक दलका पदाधिकारीहरु, साउदी अरब स्थित विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारीहरु, सामाजिक अभियन्ताहरु साथै बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अनलाइन मिडियाकर्मीहरुको बबृहत अनलाइन भर्चुअल तथा प्रत्यक्ष उपस्थितिमा भब्य र सभ्य रूपमा सम्पन्न भएको थियो ।

    अधिवेशन कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरण अन्तर्गतको बन्द सत्र कार्यक्रममा समितिका कोषध्यक्ष द्वारीकाराज गिरिले २०१७-२०२० कार्यकालको आय-ब्ययको आर्थिक प्रतिबेदन र महामन्त्री सुरेश राज त्रिपाठीले २०२७-२०२० कार्यकालको सांगठानिक कार्य प्रगति विवरण विवरण प्रस्तुत गर्नुभएको थियो भने बिधान संसोधन समितिका संयोजक मोहन अधिकारीले सम्सोधित बिधान निर्णायर्थ पारितको लागि प्रस्तुत गर्दै उक्त सम्सोधित बिधान बहुमतले पारित गरिएको थियो । यसै कार्यक्रममा निर्वाचन समितिका संयोजक मदन ओडारीले नयाँ कार्यसमिति तथा महासमिति सदस्यहरु सर्बसम्मतिबाट चुनिएको जानकारी गराउँदै सर्वसहमती नभएका महाधिवेशन प्रतिनिधिहरुको चयनको लागि निर्वाचन समितिको बैठक बसी निर्वाचन आचार संहिता प्रस्तुत गर्दै अनलाइन भोटिङ प्रकृयाद्वारा निर्वाचन गराइको थियो । उक्त निर्वाचन प्रक्रियाबाट बिजयी महाधिबेशन प्रतिनिधिहरु, निर्बिरोध निर्वाचित भएका महासमिति सदस्यहरु तथा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुको नाम केन्द्रिय प्रतिनिधिको रोहबरमा उद्घाटन समारोहमा उपस्थित प्रमुख अतिथि, बिशिष्ट अतिथि, बिशेष अतिथिहरु, अतिथिहरु तथा सम्पूर्ण उपस्थितिहरु माझ घोषणा गरिएको थियो ।

    दोस्रो चरणमा कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पार्टी उपसभापती एवं पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री श्री बिमलेन्द्र निधी ज्युले नेपालबाट दिप प्रज्वलन गरी नेपाली जनसंपर्क समिती साउदीअरबको दोस्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन गर्नुभएको थियो भने उक्त कार्यक्रमका सभापति श्री दिपक रेग्मी ज्युले कार्यक्रम स्थलमा दिप प्रज्वलन तथा ब्यानर अनावरण गरी प्रमुख अतिथीलाई समुद्घाटनमा साथ दिनु भएको थियो । राष्ट्रिय गान बजाएर राष्ट्र प्रति उच्च सम्मान गर्दै र राष्ट्रको लागि बिभिन्न काल खन्डमा बिरगती प्राप्त गर्नुभएका सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरु प्रति श्रद्दा भावका साथ सहिदहरुको सम्झनामा १ मिनेट मौन धारण गर्दै अगाडि बढेको कार्यक्रममा उपस्थित सम्पूर्णलाई समितिका प्रथम उपसभापति श्री नमराज लामिछाने ज्युले स्वागत मन्तब्य प्रस्तुत गर्दै हार्दिक स्वागत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरु, बिशेष अतिथिहरु, बिशिष्ट अतिथिहरुले नवनिर्वाचित कार्यसमितिलाई, महासमिति सदस्य तथा महाधिबेशन प्रतिनिधिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो । अतिथिहरुले शुभकामना मन्तब्य दिने क्रममा थप केही भनाइहरु राख्दै बिशेष गरी अहिले विश्वमहामरीको रुपमा फैलिएको कोभिड १९ कोरोनाबाट सुरक्षित रहन र देश भित्र कोरोना कहरले निम्त्याएको संकटमा विश्वभर छरिएर रहेका नेपाली जनसंपर्क समितिहरुले साथै नेपाली कांग्रेसका सम्पूर्ण भातृ संगठनहरुले, नेपाली कांग्रेस पार्टीले एक भएर सहयोग गर्न र देश र जनतालाई बचाउन सबैले अहम भूमिका खेल्नुपर्नेमा बिशेष जोड दिन अनुरोध गर्नुभएको थियो साथै पार्टिको आसन्न १४ औं महाधिबेशनको बारेमा, पार्टीको बारेमा र सरकार र सरकारले यतिबेला देश र जनताको लागि खेल्नुपर्ने भूमिका, गर्नुपर्ने कामहरुको बारेमा चर्चा गर्नुभएको थियो ।

    कार्यक्रमको अन्त्यमा निर्वाचन समितिका संयोजक श्री मदन ओडारी ज्युले नवकार्यसमितिका पदाधिकारीहरु, महासमिति सदस्यहरु, महाधिबेशन प्रतिनिधिहरु सबैलाई सपथ ग्रहण गराउनु भएको थियो भने उक्त कार्यक्रमका सभापति श्री दिपक रेग्मी ज्युले नेपाली जनसंपर्क समिति साउदी अरबको अधिबेशन सफलतापुर्वक सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

    नेपाली जनसमपर्क समिती, साउदिअरब
    २०२१ – २०२४ कार्यसमिती

    १. सभापति – श्री तुसङ (अर्जुन) बहादुर थापा
    २. बरिष्ठ उपसभापती – श्री द्वारीकाराज गिरी
    ३. उपसभापती – श्री पदम प्रसाद पाण्डे
    ४. उपसभापती – श्री बाबुराम खनाल (मनोनित)
    ५. महामन्त्री – श्री सुरेश राज त्रिपाठी
    ६. कोषाध्यक्ष – श्री अरुण बेल्बासे
    ७. सहमहामन्त्री – श्री सुजनशेर राई
    ८. सहमहामन्त्री – श्री नेत्र प्रसाद खतिवडा (मनोनित)
    ९. सहकोषाध्यक्ष – श्री बुद्दीसागर सुबेदी (मनोनित)
    १०. सहकोषाध्यक्ष – श्रीमती शोफिना चापागाईं न्यौपाने (मनोनित)
    ११. सदस्य – श्री गोपाल पंगेनी
    १२. सदस्य – श्री नरेश सापकोटा
    १३. सदस्य – श्री कृष्ण भुसाल
    १४. सदस्य – श्री पदम बहादुर महत्ता
    १५. सदस्य – श्री सुर्यमणी पाण्डे
    १६. सदस्य – श्रीमती कल्पना बस्नेत पोखरेल
    १७. सदस्य – श्री बुद्दिमान घले
    १८. सदस्य – श्री भिम विश्वकर्मा
    १९. सदस्य – श्री तुल्सी राम दुवाल
    २०. सदस्य – श्री प्रविण ढुंगाना (मनोनित)
    २१. सदस्य – श्रीमती प्रमिता प्रधान लिम्बु (मनोनित)
    २२. सदस्य – श्री सुनील आरण (मनोनित)
    २३. सदस्य – श्रीमती निर्मला घले (मनोनित)
    २४. सदस्य – श्री बुद्दी बहादुर बिक (मनोनित)
    २५. सदस्य – श्री मोहन अधिकारि (मनोनित)

    महासमिति सदस्यहरु :
    १. श्री तुसङ (अर्जुन) बहादुर थापा
    २. श्री दिपक रेग्मी
    ३. श्री द्वारिका राज गिरि

    महाधिबेशन प्रतिनिधिहरु :
    १. नमराज लामिछाने
    २. सुरेश राज त्रिपाठी
    ३. प्रमोद लामिछाने
    ४. पुरुषोत्तम खनाल

    Posted in अन्तर्राष्ट्रिय, राजनीतिLeave a Comment on नेपाली जनसंपर्क समिति साउदीअरबको दोस्रो राष्ट्रिय अधिबेशन अनलाइन भर्चुअल माध्यमद्वारा भब्यताका साथ सम्पन्न :

    राष्ट्रियसभा उपचुनावमा राप्रपाको भोट बादललाई

  • १ जेष्ठ २०७८, शनिबार १६:२७ मा प्रकाशित
  • १ जेठ, काठमाडौं । राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने भएका छन् । शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा अध्ष्क्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको जानकारी गराएका थिए ।
    यदि एमालेले औपचारिक रुपमा पत्र पठाएर सहयोग मागे बादललाई मत दिने सहमति भएको राप्रपाका एक नेताले जानकारी दिए । उनले भने, ‘औपचारिक निर्णय त भएको छैन । तर महामारीका कारण फेरि बैठक बस्न सम्भव नहुने भएकाले एमालेले औपचारिक आग्रह गरे भोट दिने सहमति भएको छ ।’
    वागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ । एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन् ।

    Posted in राजनीतिLeave a Comment on राष्ट्रियसभा उपचुनावमा राप्रपाको भोट बादललाई

    राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित

  • १ जेष्ठ २०७८, शनिबार १४:०५ मा प्रकाशित
  • राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । राप्रपाका अध्यक्षत्रय सहितको आज बसेको बैठकले कोभिड–१९ महामारी भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै  जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने सो पार्टीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 
    बैठकले कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ ।  संक्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आइसियु, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युदर बढिरहेको अवस्थामा निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि राप्रपाले सरकारसँग माग गरेको छ । 
    कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचारमा कठिनाइ भइरहेको र उपचार नपाएर मृत्युवरण समेत गर्नुपर्ने दुःखदायी अवस्था दुर्भाग्यपूर्ण भएको भन्दै राप्रपाले  नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामर्थ्य प्रयोग गर्न पनि सरकारसँग माग गरेको छ ।
    कोभिड–१९ संग जुधिरहेका आम जनताको सेवामा सुरक्षित रहि परिचालित हुन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई सो पार्टीले यस्तै पार्टीको निर्देशन समिति ५ दिन भित्र गठन गर्ने निर्णय समेत भएको पार्टीका केन्द्रीय कार्यालय प्रमुख भास्कर भद्रा र ध्रुव बहादुर प्रधानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    Posted in राजनीतिLeave a Comment on राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P