• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

के हो वैशाख १३ गते मध्यरात बाबुरामको जीवनमा घटेको घटना?

  • २८ जेष्ठ २०७८, शुक्रबार ११:३५ मा प्रकाशित
  • काठमाडौं- ‘वैशाख १३ गते करिब मध्यरातमा मेरो जीवनमा एउटा यस्तो घटना घटेको छ। त्यो आज म उद्घाटित गर्दिनँ। तपाईंलाई संकेत मात्रै गर्छु। कुनै दिन नेपाली जनतालाई मैले बुझाउनु पर्छ। किनकि म यो देशको सार्वभौमसत्ता, स्वाधिनता, देशको लोकतन्त्र र संविधानप्रति बफादार रहने छु भनेर शपथ लिएको पूर्वप्रधानमन्त्री हुँ। त्यसैले मसँग भएका जुन ‘इम्फरमेसन’हरु छन्, त्यसलाई मैले नेपाली जनतासमक्ष कुनै दिन बताउनुपर्छ।‘

    केही दिनअघि हिमालय टेलिभिजनबाट प्रशारित हुने कार्यक्रम ‘यक्ष प्रश्न’मा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भनेका कुरा हुन्, यी। उनले घटनाको सन्दर्भलाई विस्तृतमा बताएका छैनन्। तर, केही संकेत भने गरेका छन्।

    उनले आफ्नो जीवनमा यस्ता अप्रत्यासित कुरा आएपछि देशलाई बचाउनुपर्छ भन्ने विशुद्ध र पवित्र आत्मा लिएर देशको प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिकहाँ गएको बताएका छन्। वैशाख १३ गते घटना घटेको भए पनि प्रधानमन्त्रीलाई कहिले भेटेको हो, उनले स्पष्ट पारेका छैनन्। उनी वैशाख १६ गते भने न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रियाको लागि वीर अस्पताल भर्ना भएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १९ गते प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गतेका लागि विशेष अधिवेशन आह्वान गरेकी थिइन्।

    अन्तर्वार्तामा भट्टराईले ‘देशलाई बचाउनुपर्छ’, ‘केही गम्भीर कदम चाल्नुपर्छ’, ‘राष्ट्रिय सहमतिको सरकार’, ‘केपी ओली जस्ता खलपात्रलाई बिदा गरेर देशको राष्ट्रिय स्वाधिनता बचाउने, लोकतन्त्र र संविधानको रक्षा गर्नको निम्ति’, ‘हामीले यो उपलब्धिको रक्षा गर्नुपर्छ, राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुपर्छ’ जस्ता शब्द र वाक्य प्रयोग गरेका छन्। ‘देशमा भएको यो व्यवस्था उल्ट्याउनका निम्ति भित्री र बाहिरी तत्वहरुको ठूलो ‘ग्रान्डडिजाइन’ अन्तर्गत, ठूलो षडयन्त्र अन्तर्गत यो कदम चालिँदैछ। पुस ५ गतेदेखि जेठ ७ गते मध्यरातसम्म जुन परिघटनाहरु भए यो ठूलो नाटकको परिदृश्यहरु हुन्। नेपालका सबै राज्यका अंगहरु छन्, यहाँका अदालत, प्रशासन, सुरक्षा अंग, आर्थिक अंगहरुलाई भताभुंग पार्ने र देशलाई बर्बादीतिर लिएर जाने जुन डिजाइन अन्तर्गत यो खेल भइरहेको छ’, उनको भनाइ छ।

    के भयो १३ गते मध्यरातमा?
    अन्तर्वार्तामा भट्टराईले आफूलाई प्राप्त सूचना प्रधानमन्त्री केपी शर्मा ओली लगायत आफ्नो पार्टीका जिम्मेवार नेताहरु र अरु पार्टीका पनि जिम्मेवार नेताहरुलाई भनेको बताएका छन्। हाम्रो टिमले प्रधानमन्त्री ओलीबाहेक भट्टराईले सूचना सम्प्रेषण गरेका केही सम्भावित नेताहरुसँग सम्पर्क गरेको थियो। तीमध्ये भट्टराईको ‘ब्रिफिङ’ सुनेका कतिपयले सांकेतिक रुपमा र कतिपयले अलि प्रष्टसँग यो विषय खुलाए।

    वैशाख १३ गते भट्टराईलाई केही भारतीय उच्च व्यक्तिहरुले भेटेको उनीहरुको दाबी छ। कतिपयको भनाइ अनुसार ती व्यक्तिमध्ये केही राजनीतिक पृष्ठभूमिका थिए। तर, धेरैजसोको दाबीमा ती भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का व्यक्ति थिए। पुस ५ वरिपरिदेखि काठमाडौंमा रअ र आरएसएसका मान्छेहरुको सक्रियता बढेको सुरक्षा निकायहरुको सूचना र विश्लेषण रहेकाले ती व्यक्ति रअकै हुनसक्ने आकलन उनीहरुको छ। उनीहरुले भट्टराईसँग धम्कीपूर्ण भाषामा कुरा गरेको बताइएको छ। ‘ती व्यक्तिले मुख्यतः संविधानले संस्थागत गरेका कतिपय विषयहरुलाई विस्थापित गर्न थालिएकोले सके सहयोग गर्न, नसके मौन बस्न तर, अवरोध नगर्न धम्कीपूर्ण चेतावनी दिएका थिए’, यो घटनाबारे जानकार एक नेताले बताए।

    वैशाख १३ गते राति ती व्यक्तिले निश्चित योजना अन्तर्गत घटनाक्रमहरु विकसित भइरहेको पनि भट्टराईलाई बताएका थिए। उनले अघिल्लो वर्ष वैशाखमा ल्याइएको अध्यादेश, पुस ५ को कदम, नेकपाभित्रको विग्रह र अदालतबाट फागुन २३ गते भएको फैसला समेतलाई संकेत गर्दै फेरि संसद् विघटन गरिने बताएका थिए। ‘अब फेरि संसद् विघटन हुन्छ। र, अदालतबाट पनि सदर हुन्छ। चुनाव गराउने-गराउने भन्ने हो। तर, त्यो चुनाव हुँदैन। कोरोनाले रोक्न सम्भव भयो भने त्यही कारणले रोकिन्छ। नभए, अरु केही कारण सिर्जना गरिन्छ। र, आउने फागुनसम्ममा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी लगायतका कुराहरु फालिने स्पष्ट भइसक्छ‘, उनको भनाइ थियो।

    ती व्यक्तिको बढी जोड भने संघीयता र गणतन्त्र फाल्ने तथा ‘सेरेमोनियल मोनार्की’ र हिन्दूराष्ट्र कायम हुने कुरामा रहेको बताइएको छ। यही योजना अन्तर्गत ओली, राप्रपा, जसपाको एक पक्षको गठबन्धन बनाइने उनले बताएका थिए। गठबन्धनको अझ विस्तारित रुप सुनाउँदै उनले भनेका थिए- ‘सिके राउतदेखि विप्लवसम्म त्यसै मूलधारमा आएका होइनन्।‘

    भट्टराईले प्रधानमन्त्री ओलीलाई तिनै ‘विषय’ ब्रिफिङ गरेको बताइएको छ। यसबीचमा एकरात भट्टराई प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको चर्चा चलेको थियो। मध्यरातमा सत्ताको सौदाबाजी गर्न भट्टराई बालुवाटार पुगेको भन्ने निकै चर्चा भएपछि भट्टराई स्वयंले आफू बालुवाटार गएको स्वीकारेका तर, सत्ताको विषयमा कुरा गर्न भने नगएको प्रष्ट पारेका थिए।

    तर, ओलीले भने त्यो (मूलतः भारतीयहरुको) योजना अनुसार काम नगरेको दाबी गरेका थिए। ‘तपाईंले भने जस्तो मलाई भारतीयले चलाएको छैन। बरु मैले उनीहरूलाई चलाउने हो। तपाईंहरुलाई भारतले ओलीलाई चलाइरहेको छ भन्ने लागेको होला, त्यस्तो होइन’, ओलीको भनाइ थियो।

    ओलीले संसद् विघटन गरे पनि चुनाव हुने बताएका थिए। ‘त्यस्तो ‘पोलिटिकल भ्याकुम’ हुँदैन। सबै पहिलेकै स्थितिमा रहन्छ। राष्ट्रिय सहमतिको सरकार बनाउने भए पनि मेरै नेतृत्वमा बनाऔँ न त। तपाईंहरु पनि सरकारमा आउनुस्‘, उनको भनाइ थियो। ओलीले एमालेकै दोस्रो तहका नेताको नेतृत्वमा समेत राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने भट्टराईसँगको त्यो भेटमा बताएका थिए।

    बाबुरामको श्रृंखलाबद्ध संकेत
    आफ्नो सूचना प्रधानमन्त्रीलाई दिएपछि भने उल्टो प्रचार गरेको उनको भनाइ छ। भट्टराई बालुवाटारमा गएको प्रसंग ओलीनिकट नेता महेश बस्नेतले एक कार्यक्रममार्फत् सार्वजनिक गरेका थिए। तर, बस्नेतको भनाइ भने अर्कै थियो। ‘बाबुरामजी केपी ओलीलाई भेट्न राति १ बजे बालुवाटार जानुभयो। अहिले परिस्थिति राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने आवश्यक छ। राष्ट्रिय सहमतिको सरकारको नेतृत्व मैले लिनुपर्छ। म आफैं ६८ वर्षको भएँ। अब ७० वर्षसम्म राजनीति गर्ने चाहना हो। तपाईंले मेरो लागि पहल गरिदिनुस्। तपाईंबाहेक अरु कसैले गर्न सक्दैन। प्रचण्ड र शेरबहादुर देउवाको नाडी छामिसक्यौँ‘, उनले जेठ २ गते भनेका थिए।

    बस्नेतको भनाइ सार्वजनिक भएपछि भट्टराईले ट्विटरमार्फत् प्रतिवाद गरेका थिए। ‘प्रमले दूतमार्फत् बोलेकाले बोल्नैपर्ने भयो- महाविपत्तिउन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली होइन, प्रधानमन्त्री ओलीलाई भेटेकै हो। मैले वर्तमान/पूर्वप्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ। अझै पनि धारा ७६(५) बमोजिम बनाउन सकिन्छ। सोचौँ’, उनको भनाइ थियो।

    वैशाख अन्त्यपछि भट्टराईले ओलीलाई हटाइहाल्नुपर्ने कुरामा जोड दिन थालेका छन्। उनको ट्विटर ‘टाइमलाइन’लाई फर्केर हेर्दा ‘वैशाख १३ गतेको घटना’ र ‘ओलीको प्रतिक्रिया’लाई संकेत पनि गरिरहेको आकलन गर्न सकिन्छ। वैशाख २७ गते गरेको ट्विटमा उनले ओलीलाई ‘आजै विदाइ गर्नुपर्ने प्रमुख ४ कारण’ उल्लेख गरेका छन्। त्यसदिन प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदै थिए। जसमा दोस्रो र तेस्रो कारणमा भनिएको छ- ‘संविधान विपरीत संसद् विघटन गरेर र दुई तिहाइ नजिकको बहुमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको। संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको।’

    त्यस्तै जेठ ४ गते उनले लेखेका छन्- ‘संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्! सबै पार्टी/नेता निरीह! सर्पको मुखका भ्यागुता! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ?’ जेठ ६ मा उनले लेखेका छन्- ‘देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरूंगमा धकेल्नेहरूलाई दण्डित/परास्त गरौँ। सबैले दलीय /निजी स्वार्थ त्यागेर जो जेमा सहमति हुन्छ धारा ७६(५) बाटै निकास दिऔँ!’

    ‘संसद्, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो! जे गरेर रक्षा हुन्छ त्यही गरौं। सबैले आवश्यक त्याग/बलिदान गरौँ। लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिऊँ! आजै गरौं, अहिल्यै गरौं! बीपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ’, जेठ ७ गते उनले लेखेका छन्।

    जेठ ८ गते उनले लेखेका छन्- ‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंङमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत सुरु भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म! यो कुनै मध्यावधि चुनाव होइन, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च हो। एकजुट होऔँ; प्रतिवाद गरौँ!’

    सोही दिन उनले जेठ ८ को ‘प्रतिक्रान्तिकारी हर्कत’ पुस ५ को भन्दा गम्भीर रहेको लेखेका छन्। त्यसको तीन कारण समेत उल्लेख गरेका छन्। जहाँ दोस्रो र तेस्रो कारणमा भनिएको छ- यो संसद् विघटन मात्र होइन, संविधान विघटन गर्ने गुरूयोजना अन्तर्गत छ। यसभित्र राष्ट्रघात छ, प्यादाहरू छन्!’

    जेठ २४ गते उनले गोरखा पुगेर समेत यस्तै आशयको भाषण गरेका थिए। उनले पटक–पटक संविधान मिचेर संसद् विघटन गर्ने प्रावधान कुल्चने काम भइरहेको र यसमा अदृश्य शक्तिसँग अस्वाभाविक किसिमको साँठगाँठ रहेको बताएका थिए। उनले प्रधानमन्त्री र राष्ट्रपतिजस्तो संस्थाको दुरुपयोग गरेर अदृश्य ढंगले वैदेशिक शक्तिसँग साँठगाँठ गरेर गणतन्त्र र संविधानलाई ध्वस्त पार्ने र नेपाललाई डरलाग्दो अध्याँरो सुरुङभित्र धकेल्ने गुरुयोजना अनुसार काम भइरहेको बताए।

    भट्टराईले जेठ १५ गते भारतीय पत्रिका ‘द हिन्दु’ मा एक संयुक्त लेख लेख्दै भारतले नेपालको संविधानलाई मार्गच्युत गर्दै देशलाई अन्त्यहीन संकटमा धकेल्न भारतले ओलीलाई सहयोग गरिरहेको बताएका थिए। ‘विशेषगरी नयाँदिल्लीको संस्थापनले नेपाललाई हिन्दु राज्यतर्फ तथा संघीयता समेत खारेज गर्ने दिशातर्फ मोडिरहेको छ’, लेखमा भनिएको छ।

    लेखमा ओलीसँग सहकार्यका लागि जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई लोभ्याइएको वा बाध्य पारिएको बताइएको छ। यो पक्ष जेठ २१ गते सरकारमा सहभागी भइसकेका छन्।

    भट्टराईले प्रष्ट र सांकेतिक रुपमा राखिरहेको यो विषयमा अन्यले पनि आशंका गर्ने गरेका छन्। केही दिनअघि एमालेकै उपमहासचिव घनश्याम भुसालले पनि आफूलाई २०७७ वैशाखमा कोही नेताले भनेको भन्दै लेखेका थिए- ‘नेकपाको विवाद समाधान हुँदैन। अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईंहरुलाई विभाजित गरिनेछ। संसद् विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर, निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ। संविधानले काम गर्दैन। त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ। नयाँ खिलराजहरुको अभ्यास हुनेछ। त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलाई धकेलिने छ।’

    यो खबर नेपाल लाईभ का लागि बिरेन्द्र ओली ले लेखेका छन् !

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on के हो वैशाख १३ गते मध्यरात बाबुरामको जीवनमा घटेको घटना?

    सांसद थापाको पद विवादसम्बन्धी पेशी जेठ ३१ मा सर्‍यो

  • २७ जेष्ठ २०७८, बिहीबार १९:३३ मा प्रकाशित
  • २७ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापाको पद विवादसम्बन्धी पुनरावलोकन निवेदनमा जेठ ३१ गते सुनुवाइ हुने भएको छ ।
    न्यायाधीश सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीसमेतले दिएको पुनरावलोकनमा दुबै पक्षसँग छलफल गर्न जेठ ३१ को पेशी तोकेको हो ।
    राष्ट्रिय जनमोर्चाका सांसद थापालाई पार्टीले निष्कासन गरी प्रदेशसभा सचिवालयमा जानकारी गराएको थियो । त्यसपछि प्रदेशसभा बैठकमा सभामुख अधिकारीले सांसद थापालाई दलले कारबाही गरेको हुनाले पदमुक्त भएको जानकारी गराएका थिए ।
    राष्ट्रिय जनमोर्चा र सभामुखलाई विपक्षी बनाई थापाले दिएको रिटमा सुनुवाई गर्दै सर्वोच्चले उनलाई प्रदेशसभा सदस्यको हैसियतका कामकाज गर्नबाट नरोक्न अन्तरिम आदेश दिएको थियो । उक्त अन्तरिम आदेशका विरुद्ध राष्ट्रिय जनमोर्चा र सभामुखले पुन सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए ।

    Posted in राजनीतिLeave a Comment on सांसद थापाको पद विवादसम्बन्धी पेशी जेठ ३१ मा सर्‍यो

    मुख्यमन्त्री भट्टलाई बधाई दिँदै भीम रावलले भने- विधि, पद्धती मिच्नेहरूले केही शिक्षा लिने कि!  

  • २५ जेष्ठ २०७८, मंगलवार १५:१६ मा प्रकाशित
  • नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत लिन सफल भएकोमा त्रिलोचन भट्टलाई बधाई दिएका छन्।
    आज मुख्यमन्त्री भट्टलाई नेता माधवकुमार नेपाल पक्षका १७ सांसदले विश्वासको मत दिएका थिए।
    २४ सांसद रहेको एमालेका ७ सांसद प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका छन्, उनीहरूले भने मुख्यमन्त्रीमा भट्टलाई विश्वासको मत दिएनन्।

    मुख्यमन्त्री भट्टले विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते प्रदेश सभामा उठेपछि त्यसको चार दिनमै विश्वासको मत लिएकोमा पनि रावलले बधाइ दिएका छन्।
    यसबाट विधि र पद्धति नमान्नेहरूले शिक्षा लिनुपर्ने रावलको जोड छ।
    सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नु भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि!’
    रावल नेता माधव नेपाल निकट छन्। अध्यक्ष ओलीले नेपालसँगै रावललाई पनि कारवाही गरेका छन्। तर सुदूरपश्चिममा नेता नेपाल पक्षका सांसदहरूको दबदबा छ। केन्द्रले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न निर्देशन दिए पनि संसदीय दलको बैठक गरी विश्वासको मत दिने निर्णय गरेका थिए।
    नेता रावल पनि सुदूरपश्चिमकै हुन्। उनी एमाले सुदूरपश्चिम प्रदेश ईञ्चार्ज थिए। तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका रूपमा हस्ताक्षर गरेपछि रावलसहित नेता नेपाल पक्षका ११ जनालाई पार्टीबाट अध्यक्ष ओलीले निकालेका थिए।

    Posted in राजनीतिLeave a Comment on मुख्यमन्त्री भट्टलाई बधाई दिँदै भीम रावलले भने- विधि, पद्धती मिच्नेहरूले केही शिक्षा लिने कि!  

    ओलीको वक्तव्यपछि मध्यराति प्रचण्ड निवास पुगे माधव

  • २४ जेष्ठ २०७८, सोमबार १५:१७ मा प्रकाशित
  • काठमाडौं, जेठ २४ । एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ ३ भन्दा पहिलाको अवस्थामा पार्टी फर्काउने घोषणा गरेलगत्तै बरिष्ठ नेता माधवकुमार नेपाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निवास पग्नुभएको छ । पार्टी एकताका लागि आफुहरुले भन्दै आएको सवै कुरा अध्यक्ष ओलीले बक्तब्यमार्फत नै पूरा गरेपछि नयाँ राजनीतिक परिस्थित उत्पन्न भएपछि छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा पुग्नुभएको हो ।
    राति १० बजे प्रचण्डको निवास खुमलटारमा नेता नेपाल पुग्नुभएको हो । उहाँहरुबीच एक घन्टाभन्दा धेरै छलफल भएको छ । एमालेको आन्तरिक विग्रह समाधान गर्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले माधवकुमार नेपालका माग पूरा गरिदिने घोषणा गर्नुभए लगत्तै प्रचण्ड निवासमा माधव जानुभएको हो । उहाँहरु बीचको छलफल र निष्कर्षबारे अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन ।
    माधवको गुटले राखेको माग अनुसार पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन अध्यक्ष ओली तयार हुनुभएको हो । अध्यक्ष ओलीको सो प्रस्तावलाई माधवले चालबाजी भन्दै विज्ञप्ति दिनुभएको छ । तर, माधव गुटमा रहेका अधिकांश नेताहरुले स्वागतयोग्य भएको बताउनु भएको छ । एमालेमै रहने कि नयाँ पार्टी खोल्ने भन्ने विषयमा माधव गुटमा तिब्र विवाद चलिरहेको छ । केही नेताहरु एमालेबाट बाहिरिएरमा ओवादीमा बिलय हुनुपर्ने अडानमा रहनुभएको छ भने अधिकांश नेता पार्टीमै रहने बताउनु भएको छ ।

    Posted in राजनीतिLeave a Comment on ओलीको वक्तव्यपछि मध्यराति प्रचण्ड निवास पुगे माधव

    सुटकेस बोकेर मोटरसाइकल चढ्दै मन्त्री क्वार्टरबाट बाहिरिए सोनल

  • २४ जेष्ठ २०७८, सोमबार १४:५२ मा प्रकाशित
  • काठमाडौं – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेपछि जितेन्द्र सोनल मन्त्री क्वार्टरबाट बाहिरिएका छन्। जनता समाजवादी पार्टी (जसपा) बाट प्रदेश सरकारमा भौतिक मन्त्री बनेका सोनललाई आइतबार राति राउतले बर्खास्त गरेका थिए।

    मन्त्रीबाट बर्खास्त भएसँगै सोनल आज बिहान मधेश भवन परिसरभित्र रहेको मन्त्री क्वार्टरबाट बाहिरिएका हुन्। हातमा एउटा सुकटेस बोकेर उनी मोटरसाइकल चढेर मन्त्री क्वार्टरबाट बाहिरिएका हुन्।

    मुख्यमन्त्री राउतले पूर्वराजपाबाट प्रतिनिधित्व गर्ने मन्त्री सोनलसहित तीन राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्।

    सोनलले जसपाभित्र बढ्दै गएको विवादका कारण यो राजनीतिक घटना अपेक्षित नै रहेको प्रतिक्रिया दिएका छन्। जसपा अध्यक्ष महन्थ ठाकुरले दिएको निर्देशनअनुसार आगामी कदम उठाउने उनले बताएका छन्।

    No description available.
    No description available.

    aayomail

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीतिLeave a Comment on सुटकेस बोकेर मोटरसाइकल चढ्दै मन्त्री क्वार्टरबाट बाहिरिए सोनल

    प्रचण्डको प्रतिवाद : मेरो कारण एकता सफल भएन भन्नु भ्रामक र षड्यन्त्रपूर्ण

  • २४ जेष्ठ २०७८, सोमबार १३:५७ मा प्रकाशित
  • २४ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कारण एकता नभएको भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपको प्रतिवाद गरेका छन् ।
    उनले प्रधानमन्त्री ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्नु झुट, भ्रामक र षड्यन्त्रपूर्ण रहेको बताए ।
    आइतबार ओलीले एक प्रस्ताव प्रस्तुत गर्दै सर्वोच्च अदालतले अलग हुने फैसला गरेपछि पनि आफूले माओवादी केन्द्रसँग एकताको प्रस्ताव गरेको तर प्रचण्डको अनिच्छाका कारण सफल हुन नसकेको उल्लेख गरेका थिए ।
    ‘त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु’ सोमबार प्रचण्डले ट्विटरमा लेखेका छन् ।

    Posted in राजनीतिLeave a Comment on प्रचण्डको प्रतिवाद : मेरो कारण एकता सफल भएन भन्नु भ्रामक र षड्यन्त्रपूर्ण

    गण्डकीका जनमोर्चा सांसद कृष्ण थापालाई ननिकाल्न सर्वोच्चको अन्तरिम आदेश

  • २३ जेष्ठ २०७८, आईतवार १६:४५ मा प्रकाशित
  • सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्यबाट राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई ननिकाल्न अन्तरिम आदेश दिएको छ।

    आइतबार कुमार चुडालको एकल इजलासले उक्त आदेश दिएको हो।

    थापालाई जनमोर्चाले सांसदबाट हटाएपछि उनी सर्वोच्च पुगेका थिए।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई हटाएर नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन पार्टीले निर्देशन दिए पनि थापाले मानेका थिएनन्।

    पार्टी ह्वीप नमानेको भन्दै थापालाई जनमोर्चाले कारवाही गरेको थियो। पार्टी सदस्यबाटसमेत थापालाई जनमोर्चाले निकालेको थियो।

    copied:setopati

    Posted in राजनीतिLeave a Comment on गण्डकीका जनमोर्चा सांसद कृष्ण थापालाई ननिकाल्न सर्वोच्चको अन्तरिम आदेश

    राष्ट्रपतिले जारी गरिन् स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश

  • २३ जेष्ठ २०७८, आईतवार १६:४० मा प्रकाशित
  • राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नयाँ अध्यादेश जारी गरेकी छन्।

    राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्यकर्मी एंव स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन्।

    पछिल्लो समय देशका विभिन्न भागहरूमा स्वास्थ्यकर्मीमाथि कुटपिट र हातपातका घटना भएका छन्।

    नेपालगञ्जस्थित भेरी अस्पतालमा भएको घटनाले राष्ट्रिय चर्चा पाएको थियो।  

    copied:setopati

    Posted in राजनीतिLeave a Comment on राष्ट्रपतिले जारी गरिन् स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश

    अतिरिक्त संस्था निर्माणमा सरकारी मोह

  • २३ जेष्ठ २०७८, आईतवार १६:३८ मा प्रकाशित
  • सरकारले आगामी वर्षको बजेट मार्फत् विभिन्न स्थायी संरचना गठन गर्ने घोषणा गरेको छ।अहिले भइरहेका संस्थाबाट प्रभावकारी काम नभएको निष्कर्ष निकाल्दै सरकारले अतिरिक्त संस्थाहरु स्थापना गर्ने घोषणा गरेको छ।  

    अहिलेका संरचनालाई यथावत नै राखी छुट्टै संरचना निर्माणका लागि बजेटमै घोषणा भएका छन्। सहरी यातायात सञ्चालनदेखि राष्ट्रिय राजमार्गको मर्मत सम्भारसम्मका कामका लागि संचरना निर्माण गर्ने घोषणा गरिएको हो।
     
    सरकार आफैले गठन गरेको सार्वजनिक खर्च पुनरावलोकन आयोगले विद्यमान संचरनामा हेरफेर गर्दै चुस्त दुरुस्त कार्यसञ्चालनका लागि काम गर्न र खर्च घटाउन सिफारिस गरेको थियो। सिफारिस कार्यान्वयन गर्नुको साटो उल्टै थप नयाँ संरचानातिर सरकारी जोड देखिएको छ। 

    बजेटबाट सरकारले  संघीय सरकारको क्षेत्राधिकार भित्रका सडक तथा पुलको मापदण्ड निर्धारण,डिजाइन, मर्मत सम्भार,सम्भावित लगानीको वैकल्पिक उपकरणको प्रयोग,वित्तीय स्रोत परिचालन तथा अभिलेखीकरण गर्न राष्ट्रिय राजमार्ग प्राधिकरण स्थापना गर्ने घोषणा गरेको छ।
     
    अहिले पनि सडक विभाग तथा सडक बोर्डले गर्दै आएको यो काम गर्नका लागि छुट्टै संस्थागत संरचना हुने छ।अहिले भएकै संरचनाको सुधार भन्दा पनि नयाँ संस्था निर्माण गरेर प्रभावकारी काम गर्ने सरकारको दाबी छ। 
    छुट्टै नयाँ हुने वा पुरानै संस्थाहरुको सुधारबाट गरिने भन्ने कुराको यकिन भने भएको छैन। 

    छुट्टै संरचना बनाउने यति धेरै लोभ छ कि अहिले भएको विज्ञान तथा प्रविधि प्रतिष्ठान(नास्ट)कै राम्रो परिचालन हुन नसकेको अवस्थामा यस्तै प्रकृतिको काम गर्ने भन्दै विज्ञान प्रविधि तथा नवप्रवर्तन परिषद् गठन गर्ने सरकारले घोषणा गरेको छ। 

    काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सञ्चालन गर्न प्राधिकरण गठन गर्ने पहिलेकै कार्यक्रमलाई निरन्तरता दिएको सरकारले फेरि कर पुनरावलोकन आयोग गठन गर्ने घोषणा गरेको छ। जवकी कर सम्बन्धि सबै अध्यन तथा अनुसन्धान, सुझाव तथा सिफारिस दिनका लागि सरकारले यसअघि नै स्थायी संयन्त्र गठन गरिसकेको छ। 

    सरकारको ध्यान भएको जनशक्तीको परिचालन तथा प्रविधिको प्रयोग भन्दा पनि नयाँ संरचना निर्माणमा जोड देखिएको छ।राजनीतिक नेतृत्वलाई केही भएपनि नियुक्तीका लागि अवसर हुने तथा कर्मचारीलाई पनि लाभ हुने बाहेक देशलाई खासै फाइदा नहुने अर्थमन्त्रालयकै अधिकारीहरुको भनाइ छ।खर्च कटौति गर्नुपर्ने समयमा अतिरिक्त संस्थागत दायित्व सिर्जना गर्नु सही नभएको उनीहरुको भनाइ छ। 

    तर अर्थसचिव शिशिरकुमार ढुंगाना भने आवश्यकता र औचित्यको आधारमा अध्ययन अनुसन्धानबाटै नयाँ संरचनाका प्रस्तावहरु आएको बताउछन्। 

    ‘जस्तो हामीले पाँच अर्बभन्दा बढी लागतका आयोजना कार्यान्वयनका लागि छुट्टै संरचना निर्माणको कुरा गरेका छौं। यसको संरचना कस्तो हुने,संगठन कस्तो हुन्छ त्यसको नियमन बन्छ होला। तर हामी के कुरामा सहमत हुनुपर्छ भने ठूला र विशिष्ट आयोजनाको कार्यान्वयन नियमित संरचनाभन्दा विशिष्ट संरचना चाहिन्छ’ ढुंगानाले भने। 

    विकास निर्माणदेखि सेवा प्रवाहसम्मका काममा तीव्रता ल्याउनका लागि सरकारले केही संस्थागत संरचनाको घोषणा गरेको र यसले देशलाई फाइदा पुग्ने उनको भनाइ छ। 
    copied:setopati

    Posted in राजनीतिLeave a Comment on अतिरिक्त संस्था निर्माणमा सरकारी मोह

    एमालेका दुई समूह मिले हामीलाई आपत्ति छैनः मणि थापा

  • २३ जेष्ठ २०७८, आईतवार १५:३८ मा प्रकाशित
  • ६ जेठमा सर्वोच्च अदालतले गैरसांसद सात मन्त्रीलाई पदमुक्त गर्ने आदेश दियो । यससँगै एकीकृत माओवादी केन्द्रबाट नेकपा एमाले गएका गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानी मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामा पदमुक्त भए ।
    यस बीचमा संसद विघटन भएको छ, त्यसैले उनीहरू पुनः मन्त्री हुने आशामा छन् । तर, उनीहरू विरुद्ध सर्वोच्चमा परेको मुद्दाको किनारा लागिसकेको छैन । यसैबीच शुक्रबार प्रधानमन्त्री केपी ओलीले जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतोलाई सरकारमा सामेल गरेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । यससँगै माओवादीबाट एमाले प्रवेश गरेका सातै माओवादी नेता मन्त्री हुने सम्भावना क्षीण भएको छ ।
    यसै सन्दर्भमा सो समूहको प्रधानमन्त्री केपी ओलीसँग भइरहेको वार्ता र उनीहरूको योजनाको विषयमा निवर्तमान मन्त्री मणि थापासँग कमलदेव भट्टराईले गरेको कुराकानी :
    जसपाका केही नेता सहभागी भएर मन्त्रिमण्डल विस्तार भएको छ, तपाईंहरू फेरि सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग केही कुरा भएको छ ?
    यो विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चबाट निर्णय भइसकेपछि मन्त्रिमण्डल पुनर्गठन गर्दा राम्रो हुन्थ्यो भन्ने हाम्रो राजनीतिक सुझाव रह्यो प्रधानमन्त्रीज्यूलाई । मुख्यतः चासो छैन भन्ने होइन, सर्वोच्चको अन्तरिम आदेशले नै हामीलाई रोक्यो ।
    प्रधानमन्त्रीसँग के कुराकानी भइरहेको छ ?
    हाम्रो व्यक्तिगत कुराकानी भएको छैन । हामी व्यक्तिगत रूपमा त्यति इच्छुक पनि छैनौं । सर्वोच्चको निर्णयपछि गर्दा नै राष्ट्रिय राजनीतिमा यसको इम्प्रेसन राम्रो हुनेथियो भन्ने हाम्रो लजिक छ । दोस्रो चाहिं यो वामपन्थीहरूको जनमत हो । वामपन्थीहरूलाई अलिकति सुदृढ गर्ने कुरा गर्दा पनि राम्रो हुन्छ भन्ने खालको सुझाव थियो हाम्रो । एउटा सर्वोच्चको मुद्दाको विषय हो, अर्को राजनीतिक अवस्थामा हतारिनुहुन्न भन्ने छ ।
    ठूलो संख्यामा जसपाबाट मन्त्रीहरू बनेपछि तपाईंहरू सात जनालाई नै सरकारमा समेट्न सकिने अवस्था त अब क्षीण भयो नि ?
    यसलाई हामीले त्यति ठूलो विषय बनाएका छैनौं । त्यो बेलामा एउटा क्रिटिकल अवस्था थियो, हामीले केपी कमरेडलाई समर्थन गर्‍यौं । अवस्था अलिक फरक भयो । सर्वोच्चले के निर्णय गर्छ, त्यो आफ्नो ठाउँमा छ । उहाँलाई हामीले अहिले नेतृत्व मानिसकेपछि अब भागबण्डा हुनुपर्छ भन्ने चाहिं हाम्रो धारणा छैन ।
    तर तपाईंहरू माओवादीबाट एमालेमा आएपछि सन्तुलनको हिसाबले पनि सरकारमा निरन्तरता हुनुपर्ने हो भन्ने तपाईंहरूको सोचाइ हो ?
    त्यो त चाहियो । यो नेतृत्वले सोच्ने विषय हो । नेतृत्वले कति दूरदर्शी भएर रणनीतिक हिसाबले सोच्छ, कति राजनीतिक रूपमा सोच्छ त्यो नेतृत्वको विषय भयो । तर हाम्रो माग के हो भने वामपन्थी आन्दोलन कमजोर नहोस् र नयाँ खालको ध्रुवीकरणको आवश्यकता छ भन्ने हो ।
    एमालेभित्र एकताको लागि २ जेठ २०७५ मा फर्कने विषयमा कुराकानी भइरहेको छ, यसमा तपाईंहरूको धारणा के छ ?
    हामीले २ जेठ २०७५ मा नै तपाईंहरूको कुरा मिल्छ भने तपाईंहरू मिलाउनुस् भनेका छौं । बरु अहिले हामी बाहिर बस्न तयार छौं । हामीले प्रधानमन्त्रीलाई माधव कमरेडहरूलाई कसरी मिलाउने हो, त्यो तपाईंहरूको आन्तरिक कुरा हो भनेका छौं ।
    हाम्रो कारणले अथवा पूर्व माओवादी आए त्यसकारण हामी आउन पाएनौं भन्नुभयो भने त्यो माधव कमरेडको पनि दृष्टिदोष हुन्छ । अहिले भन्दा २० दिन अगाडि नै हामीले हामी बाधक हुँदैनौं भनेका छौं । २ जेठ २०७५ मा आउने भए आउनुस् र तपाईंहरूको भित्री समस्या के छ हल गर्नुस् भनेका छौं । २ जेठ २०७५ मा फर्कन हामी बाधक हुँदैनौं भनेर टोपबहादुरजीले १५–२० दिन पहिले नै प्रधानमन्त्रीलाई भन्नुभएको थियो । हामी दुई–चार महीना नै बाहिर बस्न तयार छौं ।
    नेकपा फुट्यो, नेकपा फुट्दा हामीले पहिलो अध्यक्षलाई समर्थन गरेका हौं । एमाले र माओवादीको अस्तित्व सिर्जना गर्ने काम अदालतले गर्‍यो । राजनीतिक निर्णय के हो भने नेकपा बन्यो र नेकपा फुटेको हो । त्यसैले हामीले पहिलो अध्यक्षलाई समर्थन गरेको हो ।
    अहिले जुन जनमत आएको छ, त्यो नेकपाको जनमत हो । अहिलेको हाम्रो उद्देश्य वामपन्थी सरकार बचाउने हो र त्यसलाई जोगाउन दक्षिणपन्धीहरूको पनि सहयोग लिनुपर्छ । तर वामपन्थीहरूलाई नै बलियो नबनाई वामपन्थी सरकार स्थायी चाहिं हुँदैन । तर रणनीति साझेदार को हुन् र कार्यनीति साझेदार को हुन् भन्ने चाहिं स्पष्ट हुनुपर्छ ।
    भनेपछि एमालेको दुई समूह २ जेठ २०७५ मा फर्केमा तपाईंहरूको कुनै अब्जेक्सन हुन्न ?
    त्यसमा हाम्रो कुनै पनि खालको अब्जेक्सन हुन्न । हामी बाहिर नै बस्न तयार छौं । उहाँहरूको एकतामा हामी बाधक बन्दैनौं ।
    तपाईंहरू केपी ओलीसँग नै रहने हो, त्यसमा दायाँ–बायाँ हुँदैन ?
    अहिलेको समकालीन नेताहरूमा अलिकति राष्ट्रवादी, विकासप्रेमी र बलियो नेताको रूपमा केपी ओली हुनुहुन्छ । त्यो लेबलको अरू नेता छैन, उहाँलाई बचाउनुपर्छ । उहाँलाई हाम्रो समर्थनमा दायाँ–बायाँ हुँदैन ।
    एमालेमा तपाईंहरूले कुनै खालको असजिलो त महसूस त गर्नुभएको छैन नि ?
    अहिले त्यस खालको अवस्था छैन । नेपालका कम्युनिष्ट पार्टीहरू गुटहरूको महासंघ जस्तो छ । यहाँ जता पनि गुटहरू छन् । गुटहरू विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय केन्द्रसँग जोडिएको जस्तो देखिन्छ । त्यो भएको हुनाले काम गर्ने शैली नमिल्न सक्छ ।
    हामी माओवादीहरू आन्दोलनबाट आएका हौं, एमालेका साथीहरू लामो संसदीय प्रणाली पार गरेर आएका हुन् । संसदीय प्रणाली धेरै नबुझेका हामी माओवादी छौं । हामीलाई संसदीय प्रणालीप्रति आसक्ति छैन, एमालेलाई संसदीय प्रणाली नै युनिभर्सल हो भन्ने छ । यहाँ काम गर्ने मामिलामा केलाई प्राथमिकता दिने, केलाई गौण मान्ने भन्ने विषयमा केही मतान्तरहरू हुनसक्छन् । तर समकालीन नेताहरूको तुलनामा केपी ओलीले नै सबैलाई जोगाएर लैजान सक्छन् ।
    समग्र वामपन्थी एकताको बारेमा तपाईंहरूको धारणा के छ ?
    यो हामीले भन्दै आएका छौं । नेपालका सबै वामपन्थीहरूको बीचमा एकता खोजिनुपर्छ । नेपालका वामपन्थी जनताको रक्षा गर्न सकेनौं भने भारतको पश्चिम बंगालको दिशामा जान्छ । पार्टी र नेताको स्वार्थ भन्दा पनि जनमतलाई बलियो बनाउनुपर्छ ।

    Posted in राजनीतिLeave a Comment on एमालेका दुई समूह मिले हामीलाई आपत्ति छैनः मणि थापा

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P