
कोरोना नेगेटिभ भएको भन्दै घर पुगेकी एक महिलाको रिपोर्ट पोजेटिभ आएपछि स्थानीयबासी त्रसित भएका छन् ।
भीमसेन थापा गाउँपालिका ६ अश्राङको जनशक्ति आधारभूत विद्यालय मोहोरियाको क्वारेण्टाइनमा बसेकी एक महिला रिपोर्ट नेगेटिभ आएको भन्दै बुधबार दिउसो घर पुगेकी थिइन् ।
तर साँझतिर रिपोर्ट पोजेटिभ आएको भन्दै स्वास्थ्य शाखाले पुन क्वारेण्टाइन फर्काएपछि गाउँले त्रसित भएको वडा अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए ।
‘नन्द भाउजु एउटै क्वारेण्टाइनमा बसेका थिए । दुवै जनाको कोरोनो नेगेटिभ आयो भनेर हिजो खबर आयो’, वडा अध्यक्ष थापाले भने, ‘अनि आज तीनबजेतिर दुवै जना घर पुगे । करिब करिब दुईघण्टा घरमा बसे । सबै जना सराबर छुतछात भयो । तर आज साँझ फेरि एकजनाको पोजेटिभ आयो भनेर खबर आयो । अहिले गाउँमा पूरै त्रास छाएको छ । बरबाद भयो ।’ उनलाई साँझ पाँचबजेतिर फेरि क्वारेण्टाइनमा फर्काइएको उनले बताए ।

