
वीरगंज, जेठ १७
स्थानीय प्रहरी प्रशासनको ज्यादतीका कारण वीरगन्ज महानगरपालिकाको सरसफाई आजबाट ठप्प भएको छ । महानगरपालिकाको सरसफाईमा खटिएका कर्मचारीहरुलाई प्रहरीले कुटपिट गरी ज्यादती गर्न थालेपछि त्यसको विरोधमा सफाई कर्मचारीहरुले कामरोकेपछि आजदेखि वीरगन्ज महानगरपालिकाको फोहोर उठेको छैन ।
वीरगन्ज महानगरपालिकाले ठेक्का मार्फत र महानगरपालिकाकै सरसफाई कर्मचारीहरु मार्फत पनि फोहोर उठाउदै आएकोमा लकडाउनको समयमा सरसफाईमा खटिएका कर्मचारीहरुलाई प्रहरीले कुटपिट र दुव्र्यवहार गर्न थालेपछि उनीहरुले फोहोर उठाउन छोडेका हुन् ।अस्ती बिहिबार एकजना सरसफाई शाखाका कर्मचारी छोटेलाल प्रसाद कुश्वाहालाई प्रहरीले कुटपिट गरी मोटरसाईकल समेत खोसेर दुव्र्यवहार गरेको थियो ।
घटनाको बारेमा पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तसँग गुनासो गर्दा एसपी पन्त उल्टै हाँसेर मात्रै गएको र कुनै जवाफ नदिएपछि कर्मचारीहरु काम नआएको सरसफाईको ठेकेदार कम्पनी पृथ्वी तारा एनके इन्टरनेशनल जेभीका निर्देशक शिव गुप्ताले बताउनुभयो ।सफाई कर्मचारी फोहोर उठाउन नआएपछि वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई जानकारी गराएको र मेयर सरावगीले प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की र एसपी गंगा पन्तसँग समन्वय गरेर फेरी सफाई कर्मचारीहरुलाई काममा फर्काएका थिए । तर, हिजोसाँझ फेरी ठेलामा जम्मा भएको फोहोर ट्याक्टरमा हालेर ल्याण्डफिल साईटतिर लिएर जानेक्रममा वीरगन्जको माईस्थान नजिकै डिउटीमा खटिएको प्रहरीले सफाई कर्मचारीलाई अवरोध गरेर दुव्र्यवहार गरेपछि आजदेखि सफाई कर्मचारीहरु काममा नआएका कारण महानगरपालिकाको पोहोर उठेको छैन ।
कोरोनाको महामारीमा पनि ज्यान जोखिममा राखेर सरसफाईमा खटिएका कर्मचारीहरुमाथि प्रहरी प्रशासनले पटक पटक अनावश्यक दुःख दिने गर्दा काम गर्न समस्या भएको ठेकेदार गुप्ताले बताउनुभयो ।


