रुकुम घटना : डोरीले बाँधिएको अवस्थामा भेटियो युवकको शव

  • १४ जेष्ठ २०७७, बुधबार २०:४९ मा प्रकाशित

  • काठमाडौं : रुकुम पश्‍चिममा भएको घटनामा बेपत्ता युवामध्ये एकजनाको शव फेला परेको छ। स्थानीय, प्रहरी र गोताखोरको टोलीले भेरी नदिको किरानमा आज १८ वर्षीय लोकेन्द्र सुनारको शव फेला परेको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए। 
    ‘बेपत्ता मध्ये लोकेन्द्रको शव आज भेटिएको छ,’ श्रेष्ठले भने, ‘उनको शव आज स्थानीय, प्रहरी, र सशस्त्र प्रहरीको गोताखोरको टोलीले भेरीकै किनारमा भेटेको हो। अरु बेपत्ता यूवाहरुको खोजी जारी छ।’  
    रुकुम पश्‍चिमका डीएसपी ठगबहादुर केसीले ती युवकको शव डोरीले हात बाँधेको अवस्थामा शव फेला परेको हो। उनको टाउकोमासमेत चोट लागेको देखिएको छ।
    यसअघि भेरी नगरपालिका–४ का नवराज बिक र गणेश बुढा मगर तथा चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेटिएको थियो। उनका अनुसार अझै सन्दीप विक र गोविन्द शाही बेपत्ता छन्।  
    हराइरहेका यूवाहरुको खोजीमा हिजो मंगलबारबाट सशस्त्रको गोताखोरं परिचालन गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए। भेरीमा ४ जना सशस्त्रका गोताखोरले बेपत्ता युवाहरुलाई खोजिरहेका छन्।  
    साथी नवराज विककी प्रेमिका लिन आएका जाजरकोटका युवालाई शनिबार रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा स्थानीयले लखेटेर हत्या गरेका थिए। घटनामा संलग्‍नमध्ये वडाअध्यक्ष डिल्ली मल्लसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको छ। 
    पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिइसकेका छन्। चौरजाहरी नगरपालिका-८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवतीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी जाहेरी परेको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक किशोरकुमार श्रेष्ठले बताएका छन्।
    घटनाको छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बनाइसकेको छ। यो समितिमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, महान्यायाधीवक्ताको कार्यालयका र गृहमन्त्रालयकै एकजना उपसचिव पनि सदस्य छन्। 
    “साभार थाहाखबर”

    Leave a Reply