
वसन्त अनुभव
तुलसीपुर, दाङ, २९ बैशाख
गत शुक्रबार प्रादेशिक अस्पताल तुलसीपुरमा जन्मिएका जुम्ल्याहा शिशुको आज नोबेल कोरोना भाइरस संक्रमणको आशंकामा स्वाव संकलन कार्य गरिएको छ ।
तुलसी बाल अस्पतालको NICU मा उपचाररत ती नवजात शिशुको डा किशोर खत्री, डा वशन्त डाँगी र ल्याव असिस्टेन्ट ओव वहादुर भण्डारीको टिमले स्वाव संकलन गरि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षणका पठाइएको तुलसीपुर उपमहानगरपालिका, जनस्वास्थ्य प्रवर्द्धन शाखाका जस्वानी एवं कोभिड १९ फोकल पर्सन विमल केसीले बताउनु भयो ।

दुई जिउ भएकी एक महिलालाई तुलसीपुर उपमहानगरपालिका स्थित रक्षाचौर क्वारेन्टाइनमा राखिएकोमा निजलाई सुत्केरी व्यथा लागि प्रादेशिक अस्पताल तुलसीपुर पुर्याउदा उनले जुम्ल्याहा बच्चा जन्माएकी थिइन। बच्चाहरु जन्मदा नै धेरै कम तौलका भएकोले तुलसी वाल अस्पतालको NICU मा भर्ना गरि उपचार जारी रहेको पनि फोकल पर्सन केसीले जानकारी दिनुभयो ।
आमा र बच्चाको स्वास्थ्य उपचार तुलसी बाल अस्पताल, तुलसीपुरका निर्देशक डा किशोर खत्रीले नि:शुल्क रुपमा गरिरहनु भएको छ भने अन्य व्यवस्थापन सहयोग तुलसीपुर उपमहानगरपालिकाले गरिरहेको छ । साथै आमा र बच्चा दुबैको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको निर्देशक खत्रीले बताउनु भयो ।
आजभन्दा २ दिन अघि उक्त महिला, उनको लोग्ने, र छोरीको पनि स्वाव संकलन गरि पिसिआर बिधिबाट परिक्षणका लागि पठाइएको थियो । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य प्रवर्द्धन शाखाका जस्वानी एवं कोभिड १९ फोकल पर्सन केसीले बताउनु भयो ।

