
साउदी अरब| गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदीले साउदीमा कार्यरत कोरोना प्रभावित नेपालीको समस्यामा सहयोग गर्ने उद्धार अभियानमा सक्रिय भएर लागेको छ। समितिले हालसम्म आफ्नो सम्पर्कमा आएका पूर्वीक्षेत्र दमाममा १०४, मध्ये क्षेत्र रियादमा ५६, अलकासिम ३ र तावुक क्षेत्रमा ३५ जना गरी कूल १९८ जनालाई मानवीय आधारभूत आवस्यकताको राहत सामग्री राहत वितरण गरेको छ ।समितिको ८ मे मा बसेको सातौं पूर्ण बैठकले कोरोना उद्धार अभियानमा हालसम्म संघले गरेका राहत वितरणका प्रयास र उपलब्धि सहित विभिन्न विषयमा छलफल गर्दै मध्यस्थकर्ताको रुपमा दूतावाससँग समन्वयकारी भूमिका निर्वाह गर्ने समेत निर्णय गरेको छ ।
समितिका पदाधिकारी अध्यक्ष तेज बहादुर थापा, आइसीसी सदस्य नारायण पासवान, आइसीसी सदस्य यास्मिन बेगम, आइसीसी मानार्थ सदस्य रमेश भण्डारी, मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्याल, नेपाली दूतावास साउदीका नियोग प्रमुख दिलीप पौडेल र श्रम सहचारी जीवन राईको सहभागीतामा बसेको बैठकले विभिन्न विषयमा छलफल तथा निर्णय गरेको हो।
उक्त बैठकमा कोरोनाका कारण साउदीमा अलपत्र परेका नेपाली र उनीहरुका विषयमा दूतावासको अपेक्षा र एनआरएनए साउदीले खेल्नुपर्ने विषयका बारेमा, कोरोना प्रभावित कामदारको अभिलेख राख्ने विषयमा संघले गर्न सक्ने सहयोगका बारेमा, रोजगारी गुमाएकाहरुका लागि खाने बस्ने व्यवस्था मिलाउने बारेमा छलफल गरिएको छ । त्यसैगरी कोरोनाका कारण रोजगारी गुमाएर बसेका, अबैधानिक रुपमा रहेका कामदार, विरामी परेका, घर विदामा जानको लागि एक्जिट र इन्ट्रि भिषा लागिसकेका तर बन्दका कारण जान नपाएर रोकिएका, एक्जिट भिसा लागेर तलबबाट बन्चित भएका लगायतका अन्य पीडितहरुको पहिचान सहित डाटा संकलन गरी यथाशिघ्र उद्धार र स्वदेश फिर्ताीका निम्ति दूतावासले चालेका कदम र एनआरएनए साउदीले गर्नुपर्ने सहयोगका बारेमा पनि छलफल गरिएको थियो ।

