बीरगंज
लकडाउनको समयमा भारत जान लागेका २१ जना भारतीयलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
घरजान हिडेका भारत पश्चिम बंगालका २१ जनालाई ड्राईपोर्ट परवानीपुर सडक अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवा परवानीपुरमा रहेको खुशी पेट्रोल पम्प नजिकैबाट आज बिहान नियन्त्रणमा लिएको हो ।
खेतको बाटो हुदै भागेको देखेर स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै प्रहरी पुगेर उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आपूहरु सर्वोत्तम स्टील उद्योगमा काम गर्ने मजदुर रहेको बताएका छन् ।
उद्योगबाट भागेर खेतमा लुकिरहेका मजदुरहरु सबैजना पश्चिम बंगाल घर भएका भारतीयहरु रहेका छन् ।
पश्चिम बंगालकै ठेकेदार इन्ताजुल हकले उनीहरुलाई तीन महिना पहिले उद्योगमा कामका लागि ल्याएका थिए ।
लकडाउन हुनुभन्दा एकदिन पहिले ठेकेदार पुनः पश्चिम बंगाल फर्किएका थिए ।
लकडाउनले गर्दा उनी अहिलेसम्म नआएको र उद्योगमा खाने, बस्ने राम्रो व्यावस्था नभएपछि उनीहरु घर फर्किनलाई हिडेको बताएका थिए ।
उनीहरुले ठेकेदारले खान, बस्न व्यावस्था नगरेको र उद्योगमा पनि आफुहरुलाई खाने बस्ने व्यावस्था राम्रो नभएपछि बाध्य भएर उद्योगबाट घरजानलाई हिडेको बताएका छन् ।
उनीहरुको बारेमा थप सोधपुछ भईरहेको र यकिन गर्नका लागि उद्योगमा समेत बुझ्न पठाईएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साहले जानकारी दिनुभयो ।


