बंगलाचुली गाउँपालिकामा २५ बेडको क्वारेन्टाईन कक्ष स्थापना

  • १५ चैत्र २०७६, शनिबार २०:३९ मा प्रकाशित
  • वसन्त अनुभव-
    कमिरेचौर,१५ चैत्र / दाङको बंगलाचुली गाउँपालिकाले २५ बेडको क्वारेन्टाईन कक्षको स्थापना गरेको छ । गाउँपालिका भित्र कोरोना (कोभिड–१९) संक्रमणको शंकास्पद विरामीहरुलाई अलग्गै राख्नको लागि क्वारेन्टाईन कक्षको स्थापना गरिएको हो ।

    गाउँपालिकाले वडा नं.४ को झुलिडाँडामा रहेको एकृत नमुना बस्तीमा क्वारेन्टाईन कक्षको स्थापना गरेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिनुभयो । अध्यक्ष वलीका अनुसार गाउँपालिकाले क्वारेन्टाईनमा बस्नेहरुको लागि खाने, वस्ने र औषधोपचारको व्यवस्था मिलाइएको छ ।

    गाउँपालिकाले पीपीई (पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट) को ब्यवस्थापन सहित २ जना स्वास्थ्यकर्मी खटाउने भएको छ भने सुरक्षाकर्मीको पनि प्रवन्ध मिलाइएको अध्यक्ष वलीले जानकारी दिनुभयो ।

    अध्यक्ष वलीले कोभिड-१९ बाट उत्पन्न महामारी नियन्त्रण गर्न सबैको सामुहिक साझेदारीको आवश्यकता रहेको भन्दै यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नका लागि अपिल गर्नुभयो । साथै अध्यक्ष वलीले गाउँपालिकावासीलाई लकडाउनको अवधीभर गाउँघरमा भिडभाड गर्ने, हिडडुल गर्ने, एकआपसमा भेटघाट गर्ने कामलाई पुर्णरुपले बन्द गर्न अनुरोध गर्नुभयो ।

    साथै अध्यक्ष वलीले गाउँपालिकाद्वारा अति विपन्न परीवार जसलाई बिहान साँझको दुई छाक टार्न समस्या परिरहेको छ ती परिवारका लागि लकडाउनको अवधिभरी गाउँपालिकाबाट खाद्यान्नको व्यवस्था गरिएको जसका लागि गाउँपालिकामा सम्पर्क राख्नुपर्ने जानकारी गराउनुभयो ।

    गाउँपालिकाद्वारा विपद व्यवस्थापन कोषमा सहयोगको अपिल

    यसैविच बंगलाचुली गाउँपालिकाको कार्यालयले गाउँपालिकामा विपद व्यवस्थापन कोष खडा गरिएको र उक्त कोषमा विपद्को यस घडीमा देश तथा विदेशमा रहनुहुने ब्यक्ति तथा संघसंस्थाहरुलाई आ-आफ्नो गक्ष अनुसारको सहयोग गर्नका लागि अपिल गरेको छ ।

    सहयोग गर्न चाहानेहरुका लागि गाउँपालिकाले विपद् व्यवस्थापन कोषको नाममा खाता खोलिएको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव वहादुर वलीले जानकारी दिनु भयो ।

    प्रमुख प्रशासकीय अधिकृत वलीले सिटिजन्स बैंक लिमिटेडको बंगलुचली शाखामा रहेको खाता नं.0670100000390201 मा इच्छुक ब्यक्ति तथा संघसंस्थाले सहयोग रकम जम्मा गरिदिनुहुन समेत अनुरोध गर्नुभयो।

    Leave a Reply