
वीरगन्ज २९ फागुन । भारतले मध्यरातिबाट लागू हुने गरी सीमा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेपछि भारतले एक महिनाका लागि सीमा बन्दको निर्णय लिएको हो ।
सीमा बन्द गरेमा भारतको सीमा जोडिएका दक्षिण एशियाली देशहरु प्रभावित हुनसक्छन् । कतिपय सीमा नजोडिएका र समुन्द्री यात्राबाट पुग्न सकिने दक्षिण एशियाली देशहरु पनि प्रभावित हुने अवस्था छ ।
भारतसँग तीनतर्फ सीमा जोडिएको नेपालमा समेत यसको प्रभाव पर्न सक्छ । सीमा बन्दमा सामान ढुवानीलाई रोक लगाइने छैन । तर, यात्रामा भने रोक लगाइने निर्णय लिइएको छ । तर, नेपाली यात्रीलाई भारत आवत्जावत्मा रोक लगाउन असम्भवप्रायः छ ।
भारतसँग सीमा जोडिएको साँढ १८ सय किलोमिटरमा सहज आवतजावत् चल्दै आएको छ । सीमा सुरक्षा पोष्ट रहेपनि खुल्ला आवत्जावत छ । दुई देशबीचको सदीऔं देखिको सम्बन्ध र सम्पर्कले राजनीतिक सीमा भन्दा जनता तहको सम्बन्ध मजबुत छ । तराईमा दुवै तर्फ खुल्ला आवत्जावत हुनेगरेको छ । यस अवस्थामा नेपालसँगको सीमा बन्द गर्न सजिलो छैन । बन्द गरिएपनि त्यो व्यवहारिक रुपमा सम्भव छैन ।
भारतले नेपाल र भुटानका नागरिकलाई विना भीसा आवत्जावत खुल्ला गरेको छ । नेपालीहरु भारत जाने र भारतबाट नेपालीहरु आउने क्रम सहज रुपमा चल्दै आएको छ । नेपालको अधिकांश आयात भारतको बाटोबाट हुनेगर्छ । यात्रामा समस्या परेमा यसले समस्या ल्याउन सक्छ । चीनसँगको सीमा अहिले ठप्प छ । यस्तो अवस्थामा भारतसँगको सीमा पनि बन्द भएमा असहज अवस्था आउन सक्छ ।
भारतले पाकिस्तानसँगको सीमा विगत देखिनै कडाई गर्दै आएको छ । बँगलादेशसँगको सीमामा पनि तारबार गरिएको छ । श्रीलंका र मालदिभ्ससँग समुन्द्र मार्गबाट आवतजावत हुन्छ । बर्मासँगको सीमामा पनि कडाई गरिएको छ । चीनसँगको सीमामा भारतको निगरानीमा कडाई छ ।
नेपालसँगको सीमामा भने यात्रा रोक व्यवहारिक नहुनसक्छ । भारतीय पक्षले भीसा रद्दको निर्णयका अलावा सीमा बन्द गर्ने निर्णय समेत गरेकाले नेपालसँगको आवतजावतमा पनि असर पर्न सक्छ । तर, यो व्यवहारमा लागू गर्न कठिनाई पर्छ ।
यात्रा डेली

