‘कोरोना भाइरस (कोभिड १९)को प्रकोपबाट बच्न आयुर्वेदिक औषधि प्रयोग गरी प्रतिरोधी क्षमता बढाउन जरुरी छ’ प्रा.डा.रोका

  • २८ फाल्गुन २०७६, बुधबार १५:३३ मा प्रकाशित
  • अहिले नोबेल कोरोना भाइरस (कोभिड १९) को हल्लाले पर्यटनलगायतका क्षेत्र त्रस्त छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई अति जोखिम मूलुकको सूचिमा राखेपछि सामाजिक सञ्जाल अधिकांशमा मानिसको तनाव देखिएको छ । तथापि अहिलेसम्म नेपालमा एक जनालाई पनि कोरोना भाइरसको संक्रमण भएर अस्पताल भर्ना गरिएको छैन । छिमेकी देश चीनको वुहानबाट उत्पत्ति भएको यो भाइरसका विषयमा प्राध्यापक डा. डिबी रोकासँग नोबेल कोराना भाइरस, नेपालीहरुले अपनाउनुपर्ने सतर्कता र आयुर्वेदिक उपचारमार्फत रोकथामका लागि के गर्न सकिन्छ भन्ने विषयमा गरिएको विशेष कुराकानी प्रस्तुत गरिएको छ ।

    कोरोना भाइरस कस्तो प्रकारको रोग हो ?

    कोरोना भाइरस ब्याक्टेरिया भन्दा सुक्ष्म जिवाणु हो । कतिपय जिवाणुहरु रोग नलाग्ने पनि हुन्छन् । कतिपयले रोग नै निकालिदिन्छन् । त्यस मध्येको कोरोना भाइरस जनावरमा लाग्छ । यसको विभिन्न प्रकार मध्ये एकथरी जनावरबाट मानिसमा सर्ने गर्दछ । यो रोग मानिसमा सरेपछि अर्को मानिसबाटै अर्को मानिसमा पनि सर्छ ।

    यो भाइरसका बारेमा अहिलेसम्म कितावमा मात्रै लेखिएको थियो । पछिल्ला १०/१५ वर्ष यता थाह नै थिएन । अहिले जनावरबाट यो भाइरस मान्छेमा सर्‍यो। त्यसपछि अर्को मान्छेमा सरेको हो । अहिले यो भाइरसको प्रभाव चीन लगायत विश्वका झण्डै एकसय वटा भन्दा बढि देशमा फैलिएको छ साथै एक लाख भन्दा बढिमा संक्रमण भएको छ ।
    यो रोगको लक्षण के–के हुन् ?

    यो रोग लागेको मानिसमा १०४ डिग्री भन्दा बढि ज्वरो आउँछ । टाउको दुख्ने, पुरै शरीर दुख्ने, खोकी लाग्ने इन्फ्युलन्जाका जस्तै नाकबाट पानी बग्ने गर्दछ । साथै यो भाइरसले संक्रमण गरेपछि एकदमै छिटो समयमै फोक्सोमा निमोनिया हुन्छ । तुरुन्तै उपचार गरिएन भने निमोनिया भएर श्वास प्रश्वास प्रणाली नै फेल हुन्छ ।

    यो अवस्थामा एकै साथ मिगौंला पनि फेल हुन्छ । श्वास प्रश्वास प्रणाली र मिर्गौला नै फेल भइसकेपछि स्वाभाविकै रुपमा मान्छेको मृत्यु हुन्छ । यो भाइरस मान्छेको शरीरमा प्रवेश गरेको १४ दिनमा लक्षणहरु देखा पर्न थाल्छन् ।

    रोगको उपचार विधिबारे बताइदिनुहोस् न ?

    यो भाइरस लागिसकेपछि बिरामीको फोक्सोमा के भएको छ ? निमोनिया भएको छ कि छैन भनेर एक्सरे गरी परीक्षण गरिन्छ । त्यसपछि सिटी स्क्यान गर्न सकिन्छ । डायग्नोसिस भइसकेपछि यसको रोकथामका लागि यसलाई मार्ने एन्टीभाइरस औषधि अहिलेसम्म देखिएको छैन । शरीरमा पानीको ब्यालेन्स मिलाउने खालको उपचार गराउने हो । यसका लागि जनरल केयर र सिम्टोमेटिक उपचार नै हो ।

    बिरामीमा ज्वरो धेरै आयो भने त्यसलाई घटाउने, खोकी लाग्यो भने खोकीको औषधि गर्ने, किड्नी कमजोर भयो भने त्यसको ध्यान दिएर उपचार गर्ने, पानीको कमि भयो भने शरीरको ब्यालेन्स मिलाउन उपचार गर्ने हो । यसरी रोगले च्यापिसकेको अवस्थामा यो भाइरसले धेरै प्रतिशत मानिसको मृत्यु हुने सम्भावना रहन्छ ।

    यो रोगको रोकथामबारे केहि विकल्पहरु छन् ?

    दादुरा, पोलियो लगायतका रोगहरुको बिरुद्धको भ्याक्सिन बनेको छ । तर, यो रोगको भ्याक्सिन अहिलेसम्म बनिसकेको छैन । यो रोग लागिसकेको अवस्थामा रोगीको नजिक नजाने, गए पनि मास्क लगाएर श्वास प्रणालीको संक्रमणलाई बचाउँ गर्ने, शरीरको सरसफाईमा ध्यान दिने, एन्टी सेफ्टिक औषधिहरु हातमा प्रयोग गर्ने, संक्रमण भएको बिरामीलाई आइसोलेसनमा राख्ने गर्नुपर्दछ । यसरी भाइरस संक्रमण भएको बिरामीलाई छुट्टै स्थानमा राखेर हेरचाह गर्नुपर्दछ । यस बाहेक अन्य उपचार हालसम्म देखिदैन ।

    कोरोना भाइरस रोकथामका लागि आयुर्वेदिक उपचार के हुन सक्छ ?

    आयुर्वेदिक उपचारमा ज्वरो दुई प्रकारका हुन्छन् । एउटा साध्य ज्वरो र अर्को असाध्य ज्वरो । औषधि गरेर निको हुने ज्वरोलाई साध्य ज्वरो भनिन्छ । र, निको नहुने ज्वरोलाई असाध्य ज्वरो भनिन्छ । जुन ज्वरो आउँदा आउँदै मानिसको मृत्यु हुन्छ ।

    धेरै भाइरसहरु शरीरमा रोगसँग लड्ने क्षमता बढाएर भाइरसको असरलाई कम गर्ने आयुर्वेदमा धेरै थरी औषधिहरु छन् । जस्तै गिलोय जसलाई ग्लुसिन पनि भनिन्छ । यो ब्यापक रुपमा प्रयोग गर्नुपर्दछ । यसलाई धनवन्तरीले अमृत पनि भन्नुभएको छ । यसरी यो प्रयोग गर्नाले रोगसँग लड्ने क्षमताको वृद्धि हुन्छ ।

    त्यसै गरी भिटामिन सी पाइने अमलाको प्रशस्त प्रयोगले पनि मानिसमा रोग प्रतिरोधी क्षमता बढाउँछ । रुघा, खोकी र नाकबाट पानी बग्ने जस्ता असरलाई तुलसीबाट बनेका औषधिको प्रयोग र तुलसी राखेर पानीको बाफ लिँदा पनि धेरै राम्रो हुन्छ । बेसार र तुलसी मिसाएर खाने र बाफ लिने गर्नाले पनि रोकथाम गर्न सकिन्छ ।

    यसरी जहिलेसम्म यो भाइरसको भ्याक्सिन निस्कदैन, तबसम्म यसको रोकथाम भनेको सरसफाईमा ध्यान दिने, मास्क लगाएर मुखको बचाउँ गर्ने, त्यसपछि रोगसँग लड्ने क्षमता बढाउने गर्नुपर्दछ ।

    यसरी आयुर्वेदमा गिलोए अर्थात अमृता वा गुरुचि भन्ने औषधि प्रशस्त मात्रमा मानिसलाई ख्वाउने गर्नुपर्दछ । रोग लागि सकेको छ भने अन्य औषधिको साथमा बिरामीलाई आइसोलेसनमा राख्नुपर्दछ । यसरी नै यो भाइरसको रोकथाम गर्न सकिन्छ ।

    कोरोना भाइरस कसरी सर्छ ?

    यो भाइरसको रोकथामका लागि पहिला नै कुनै संक्रमण नहोस् भन्ने हो । यो रोग हावाबाट पनि सर्न सक्छ । यो भाइरस नजिकको मान्छेबाट सर्छ भनिन्छ, तथापि नजिक नजिक हुँदै नै यो सरेको देखिन्छ ।

    यो भाइरस सधै बच्न पनि सक्तैन । यसका लागि वातावरण र तापक्रम मेल खाएको खण्डमा मात्रै फैलन्छ । यसरी तापक्रमको घटबढसँगै यसको आफैपनि नियन्त्रण हुन सक्छ । त्यसका लागि रोकथाममा बर्ड फ्लु र स्वयन फ्लुमा जस्तै रोकथामका उपयाहरु अवलम्बन गर्नुपर्दछ । त्यसको साथै शरिरमा रोगसँग लड्ने क्षमता बढाउन जरुरी छ ।

    कोरोना भाइरस लाग्नै नदिन आयुर्वेदमा इम्युनिटी पावर अर्थात रोगसँग लड्न प्रतिरोधात्मक क्षमता बढाउने औषधिहरु के छन् ?

    यसका लागि गिलोई (अमृता) लाई प्रयोग गर्नु पर्दछ । यसरी अहिले यो भाइरसको असर कम गर्नका लागि विकल्प भनेकै रोगसँग लड्ने क्षमता बढाउँनु नै हो । उपचारकोे उत्तम बिकल्प नै आयुर्वेदमा छ ।

    एकातिर कोरोना भाइरस नियन्त्रणका लागि भ्याक्सिनको अनुसन्धान गर्ने, अर्कोतिर यो भाइरसलाई मार्ने औषधिको अनुसन्धान गर्ने र अर्कोतर्फ प्रतिरोधात्मक क्षमता बढाउने खालका आयुर्वेदिक औषधि प्रयोग गर्नुपर्दछ ।

    हामी नेपालीहरु आत्तिइहाल्नु पर्दैन ?

    यो भाइरसको बारेमा विश्व ब्यापीरुपमा जुन खालका हल्लाहरु आएका छन् । त्यसरी आत्तिएर झनै तनाव सिर्जना गराउँनु हुँदैन । खानपिन र रहन सहनमा विशेष ध्यान दिनुपर्दछ । चिसोको कारण रोगसँग लड्ने क्षमतामा कमि हुन्छ । त्यसैकारण चिसो पदार्थ नखाने, मास्कहरु लगाउने, हात खुट्टा राम्ररी सफा गर्ने, यसरी नै नियन्त्रण गर्नुपर्दछ ।

    हामी आत्तिएर अन्यत्रै जाने कुरा पनि आउँदैन । यसरी यहाँ त हजारौं प्रकारका भाइरसहरु छन् । तथापि त्यसको लागि प्रतिरोधी क्षमता बढाउन जरुरी छ । यसरी प्रकृतिसँग ग्रहण गर्ने र केमिकल औषधि बाहेकका विधिहरु पनि प्रयोग गर्नुपर्दछ । आयुर्वेदिक, होमियोपेथी, नेचुरोपेथी, चिनिया परम्परागत औषधिका विधिहरु, अक्कुपञ्चर विधिहरु प्रयोग गर्न सकिन्छ ।
    (प्रा.डा. रोका दुई कार्यकाल आयुर्वेद क्याम्पस, किर्तिपुरका क्याम्पस प्रमुख तथा आयुर्वेद अस्पताल नरदेबी, काठमाडौंका निर्देशक भैसक्नु भएको छ ।)
    बिहानी न्युज

    Leave a Reply